गायिका निरा छन्त्यालले २ दिनअघि सामाजिक सञ्जालमा आमाले देखेको सपना पूरा गर्न पाएकोमा खुशी व्यक्त गरेकी थिइन्।
उनले आफूलाई जन्मदिने बाबुआमा र साथ दिने सबैलाई सम्झिएकी थिइन्। आमाको कोख र बुवाको काखले गर्व गर्न सक्ने काम गर्न पाएकोमा खुशी लागेको बताएकी थिइन्। तर जीवनमा पाएको त्यो खुशी तंरगित हुन नपाउँदै उनी पोखराको आकाशमा बिलाइन्।
आइतवार बिहानसम्म उनको पोस्टमा शुभकामना लेखिरहेका शुभचिन्तक अहिले समवेदना लेखिरहेका छन्।
आँसु बगाएका इमोजी प्रयोग गर्दै उनीहरु भनिहहेका छन् ‘आमाका अझै कति धेरै सपना थिएन होलान्, पूरा गर्नै पाइनौँ सानी!’
आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा नेपाली लाइभ दोहोरी गायनमा सक्रिय बाग्लुङकी गायिका निरा छन्त्याल परिन्। उनीसहित चालक दलका चार र अन्य ६७ जना यात्रु जीवितै भेटिने सम्भावना सकिएको छ। दुर्घटनामा उनको निधनले नेपाली लोकदोहोरी क्षेत्र शोकमा डुबेको छ।
गयिका निरा छन्त्यालको जन्म २०५७ सालमा बाग्लुङको बधिघात सिसापानीमा भएको हो। उनका बुवा बुवा महेन्द्र छन्त्याल र आमा लीला छन्त्यालकी छोरी निरा सानैबाट गीत गाउँथिन्।
गायिका बनेर पहिचान बनाउने उद्देय बोकेर ६ वर्ष अघि काठमाडौं आएकी निराले लाइभ दोहोरीमा छुट्टै पहिचान बनाएकी थिइन्।
काठमाडौं पसेका सुरुवाती दिनमा संघर्ष गरेकी निरा पछिल्लो समय स्टेज कार्यक्रमदेखि लाइभ दोहोरीमा व्यस्त थिइन्।
संघर्षका दिन सम्झिँदै निरा भन्थिन् ‘दुःख हरेक ठाउँमा छ । काम अनुसरा दुःखको फरक हुन्छ । कसैका दुःखलाई कम नसोचिदिनुहोस्।’
उनलाई दोहोरी क्षेत्रमा हाँसिरहने गायिकाका रुपमा चिनिन्थ्यो। बाग्लुङमा सञ्चालित लोक ताराको विजेता बनेसँगै काठमाडौं पसेकी निराले मिठो नमिठो दुबै अनुभव संगालिन्।
उनी गायनमा आएको धेरै लामो समय भएको छैन। तर कामका सकारात्मक र नकारात्मक दुबै पाटो भोगेको बताउने निरा विगतमा अल्झिएर बस्दिनथिन्। उनी भन्थिन्, ‘बाँचेर आएको जीवनको समीक्षा गरेर बाँकी रहेको जीवन दुखाउनु हुँदैन।’
सफलताको ग्राफ निरन्तर बढिरहेकै बेला निरा देश तथा विदेशमा हुने कार्यक्रममा व्यस्त थिइन्।
लामो समय परिवारसँग बस्न नपाएकी निराले आइतबार बिहान पनि आमालाई फोन गरेर छिट्टै भेट्ने वाचा गर्दै विमान चढेकी थिइन्। उनको अन्तिम संवाद सम्झिँदै निराकी दिदीले भनिन् ‘उसले गरेको वाचा पूरा गर्न पाइनँ।’
स्वर्गीय बालकृष्ण समले लेखेका थिए, ‘सहु सहु सहु, सहनै नसके पनि।’ अहिले निराको परिवारमा सहनुको विकल्पै नभएको पीडा परेको छ।
प्रतिक्रिया