कञ्चनपुरको क्षेत्र नं. २ (१) मा नेकपा एमालेका तर्फबाट प्रदेश सभाका उम्मेदवार बचनबहादुर सिंहले पैसाले मत किन्न खोजे प्रतिकारमा उत्रिन युवालाई निर्देशन दिएका छन्।
एमालेको भातृ संगठन युवा संघ नेपालका निवर्तमान अध्यक्ष समेत रहेका सिंहले कृष्णपुर नगरपालिका–५ गुलरियामा युवा संघको कार्यालय उद्घाटन गर्दै यस्तो निर्देशन दिएका हुन्।
‘पैसा बाँडेर मत किन्ने प्रयत्न गर्दैछन् भन्ने सुनिँदैछ, युवासंघ हतियार बिनाको सिपाइ हो, हामी हतियार बोक्दैनौं, चुस्ता लाउदैनौं, तर बेथिती, अराजकता, गुडागर्दी सृजना गर्नेलाई ठेगाना लगाउने कामको जिम्मा युवाहरुको,’ उनले भने, ‘संरक्षण गर्ने जिम्मा हाम्रो भयो, गाउँ गाउमा जानुहोस्, गठबन्धनरहित नेपाल बनाउने हो।’
भारतको सरणमा परेर नागरिकता विधेयकले देशलाई फिजीकरण गर्ने गठबन्धनलाई चोटिलो जवाफ दिन युवा पङक्तिले दिनुपर्ने उनले उल्लेख गरे।
देशमा नेकपा एमालेसँग एक्लै चुनाव लड्न सक्ने शक्ति नभएकाले अरुको सहारामा दलहरुले चुनाव लड्नु पर्ने अवस्था आएको सिंहले जिकिर गरे।
‘आफ्नो तागतले हिँड्न नसक्नेलाई बैशाखी चाहिन्छ, एमालेसँग चुनाव लड्न नसक्ने र पार्टी समाप्त हुन्छ भनेर प्रचण्ड, माधवहरु रोएर गठबन्धन बनाएका हुन,’ उनले भने, ‘आफैँ चुनाव लड्ने जाँगर नभएकाहरुले बनाएको गठबन्धन विरुद्ध एमाले एक्लै चुनाव लडिरहेको छ।’
गठबन्धन स्वार्थको लागि बनेको बताउँदै सिंहले जनताले चुनावमा परास्त गर्नु पर्ने उनको भनाई थियो।
‘गठबन्धनलाई जनताले दिउँसै बत्ति बालेर खोज्नुपर्ने स्थितीमा पुर्याउनुपर्छ,’ उनले भने, ‘सुकुम्बासी, आदिवासी, रोजगारविहीनलाई स्वदेशमै रोजगारी दिने योजना नै छैन।’
Shares
प्रतिक्रिया