वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कैलालीको धनगढी उपहानगरपालिकामा दलको बर्चस्व तोड्दै मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले बाजी मारे।
उनले सत्तारुढ गठबन्धन (कांग्रेस र माओवादी) बाट साझा उम्मेदवार बनेका कांग्रेसका नृपबहादुर वडलाई भारी (१२ हजार ४८) मतान्तरले उछिनेका थिए।
हमालले २६ हजार ८६५ मत ल्याएर मेयरमा जित्दा कांग्रेसका वड १४ हजार ८१७ मतमै खुम्चिए। स्थानीय तह निर्वाचनमा धनगढीमा मेयर पदमा मात्रै होइन, उपमेयरमा पनि गठबन्धन सफल हुन सकेन।
नेकपा माओवादी केन्द्रकी शान्ति कुमार अधिकारी (क्षेत्री) २ हजार ८०९ मतले पराजित भइन्। गठबन्धनलाई उछिन्दै एमालेकी कन्दकला कुमारी रानाले १५ हजार ४७९ मतसहित बाजी मारिन्।
सत्तारुढ गठबन्धनबाट उपमेयरकी साझा उम्मेदवार बनेकी माओवादीकी अधिकारीले १२ हजार ६७० मत ल्याएकी थिइन्।
सत्तारुढ गठबन्धन चुकेको धनगढी संसदीय चुनावमा पनि चर्चाको केन्द्रमा छ।
स्थानीय तह निर्वाचनमा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारलाई जिताएको धनगढीले यसपटकको संसदीय चुनावमा प्रतिनिधि सभामा कसलाई पठाउला? चासोका साथ हेरिएको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा धनगढी उपमहानगरपालिकाका १९ र कैलारी गाउँपालिकाका ६ र ९ गरी २१ वडा पर्दछन्।
१० जना चुनावी मैदानमा
कैलाली ५ मा प्रतिनिधिसभातर्फ १० जना चुनावी मैदानमा छन्। सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसका डिल्लीराज पन्त र नेकपा एमालेका नारदमुनि राना चुनावी मैदानमा छन्।
यस्तै, लोसपाका दानबहादुर विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीका नन्दाकुमारी दर्लामीमगर र राष्ट्रिय स्वतन्त्र पार्टीका इश्वरी विष्ट पनि प्रतिनिधि सभाको दौडमा छन्।
कैलाली ५ मा ५ जना स्वतन्त्र उम्मेदवार छन्। कांग्रेसबाट कारबाहीमा परेका पुष्करनाथ ओझा, जगदिश चौधरी, सत्यराज उपाध्याय, रामबहादुर सिंह र गगनबहादुर धामी स्वतन्त्र उम्मेदवार छन्।
नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी खारेज भएपछि उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवार चौधरीलाई समर्थन गरेको छ।
कैलाली ५ मा गठबन्धनका उम्मेदवार पन्त, एमालेका राना र कांग्रेसबाट कारबाहीमा परेका स्वतन्त्र उम्मेदवार ओझाबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
स्थानीय तह चुनावमा स्वतन्त्र जितेको क्षेत्र नं. ५ पर्ने धनगढीमा यसपटक संसदीय चुनावमा पनि दलका उम्मेदवारहरुलाई स्वतन्त्रको क्रेज छिचोल्नु पर्ने चुनौती छ।
नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका चौधरी पनि उनीहरुसँगको प्रतिस्पर्धामा आउन सक्ने अड्कलबाजी भइरहेको छ।
कांग्रेसलाई आफ्नैको डर
यो क्षेत्र प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले ०७४ सालमा चुनाव लडेको क्षेत्र हो।
०७४ मा एमालेका नारदमुनि रानासँग पराजित आरजु यसपटक पनि उम्मेदवार बन्ने चर्चा थियो। तर, अन्तिममा उनी समानुपातिकतर्फ लागिन्।
आरजुलाई हराएको आरोपमा कांग्रेसबाट कारबाहीमा परेका पुष्करनाथ ओझाको साथ नपाउने देखेपछि उनले असुरक्षित महशुस गरेको चर्चा छ।
उनै कांग्रेसबाट कारबाहीमा परेका ओझाले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसको मत चोर्ने विश्लेषण छ।
कैलाली ५ प्रदेशसभा (२) मा आरजुले आफ्ना स्वकीय सचिव प्रकाश देउवालाई उम्मेदवार बनाएपछि कांग्रेसभित्रको आन्तरिक किचलो झनै बढेको छ। देउवाविरुद्ध कांग्रेसकै क्षितिज भण्डारीले बागी उम्मेदवारी दिएका छन्।
आन्तरिक किचलोबीच गुज्रिरहेको कांग्रेसलाई जित निकाल्न आफ्नो मत सुरक्षित गर्दै सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत ट्रान्सफर गर्नुपर्ने चुनौती छ।
बढुवा चाहन्छन् डिल्लीराज
आरजुले कैलाली ५ छोडेपछि आफ्नो ठाउँमा डिल्लीराज पन्तलाई गठबन्धनको साझा उम्मेदवारको रुपमा अघि सारेकी छन्। पन्त पहिलो पटक प्रतिनिधि सभाको चुनाव लड्दैछन्।

यसअघि ०७४ को चुनावमा उनी कैलाली ५(२) मा ११ हजार २५३ मत सहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका रमेश धामीले ९ हजार ४८४ मत ल्याएका थिए।
उनै पन्त यसपटक प्रदेश सभाबाट बढुवा भएर प्रतिनिधि सभामा उक्लिने दाउका साथ चुनावी मैदानमा छन्। सत्तारुढ दलको साथ लिएर उनी ०७४ मा प्रतिनिधि सभामा कांग्रेसले व्यहोरेको हारको बदला लिने रणनीतिमा कस्सिएका छन्।
कैलाली ५ मा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेको कांग्रेसका क्षेत्रीय सभापति भीम पडाल बताउँछन्। स्वतन्त्र उम्मेदवार ओझाले कांग्रेसलाई कुनै असर नगर्ने उनको दाबी छ।
‘स्वतन्त्रको असर देखिएको छैन, मनोनयका दिनदेखि आजसम्म आउँदा मत्थर भएर गएका छन्, असन्तुष्टहरु पनि पार्टीको निर्णय पालना गर्ने भनेर चुनावमा होमिसकेका छन्,’ उनले भने, ‘गठबन्धन बलियो छ, प्रदेश र संघ दुवैमा जित्छौँ।’
नारदमुनिलाई सकस
एमालेले ०७४ मा जितेका नारदमुनि रानालाई नै यसपटक पनि उम्मेदवार दोहोर्याएको छ। एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका उनी कैलाली इन्चार्ज पनि हुन्।

०७४ को निर्वाचन अघि कैलाली निर्वाचन क्षेत्र नं. ५ कांग्रेसको बलियो आधार ईलाका मानिन्थ्यो। २०४८ सालमा कांग्रेसका नेता टेकबहादुर चोख्याल यसै क्षेत्र (साविक ३) बाट निर्वाचित भएका थिए।
तर २०५१ को मध्यावधि निर्वाचनमा भने एमालेका महेश्वर पाठकले (साविक क्षेत्र नं. ४) चुनाव जिते। २०५६ को आमनिर्वाचनमा कांग्रेसले फेरि इतिहास दोहोर्यायो।
२०६४ को संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा माओवादीकी उम्मेदवार लीला भण्डारीले जिते पनि २०७० को संविधानसभा सदस्य निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै दोब्बर मतान्तरले यसै क्षेत्रबाट निर्वाचित भए।
०७४ सालमा कांग्रेसको विरासत एमालेका रानाले भत्काए। कांग्रेसकी आरजु राणालाई वाम गठबन्धनबाट उम्मेदवार एमालेका रानाले ४ हजार ८८० मतले पराजित गरे।
त्यस बेला रानाले २७ हजार २०२ मत ल्याएका थिए भने राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन्। उनै राना यसपटक पनि कैलाली ५ मा प्रतिनिधि सभाको उम्मेदवार बन्दा उनलाई ०७४ को आफ्नो विरासत जोगाउनु पर्ने चुनौती छ।
०५४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन धनगढी नगरपालिकाको उपमेयरका जितेका राना एमालेबाट २०६४ सालमा समानुपातिकतर्फ संविधानसभा सदस्य बनेका थिए।
पार्टी फुटबाट गुज्रिरहेको एमालेलाई कैलाली ५ मा गठबन्धन र स्वतन्त्रको क्रेज चिर्नु पर्ने चुनौती छ। थारु समुदायबाट जगदीश चौधरी स्वतन्त्र उम्मेदवार बनेको र उनलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको अवस्थामा चौधरीले रानाको मतलाई काट्ने विश्लेषण भइरहेको छ।
‘यहाँ सुदूरपश्चिमको पहाडी जिल्लाबाट बसाइ सरेर आएका र रानाथारुको बाहुल्यता छ, उनीहरुकै मत जस्ले तान्न सक्यो उसले चुनाव जित्छ,’ धनगढीको राजनीतिबारे जानकार एक स्थानीयले भने, ‘यस्तो अवस्थामा थारु समुदायबाट स्वतन्त्र उम्मेदवार पनि भएकाले रानाको पनि मत काटिन सक्ने आकलन छ।’
अहिले प्रतिनिधिसभातर्फ कैलाली–५ मा गठबन्धनको उम्मेदवार बनेका पन्त र कांग्रेस पृष्ठभूमिका स्वतन्त्र उम्मेदवार ओझाबीचको प्रतिस्पर्धाको फाइदा उठाउँदै राना फेरि सांसद दोहोरिने दाउमा छन्।
विगत पाँच वर्षमा जितेर गएपछि जनताको पक्षमा काम गरेकोले यसपटक पनि एमालेको जित निश्चित रहेको एमाले कैलाली अध्यक्ष दुर्गाप्रसाद जोशी दाबी गर्छन्।
‘पाँच वर्षको अवधिमा धेरै विकास निर्माणका काम भएका छन्, एमालेको नेतृत्वमा भएको काम देखेर जनता प्रभावित भएका छन्,’ उनले भने, ‘एमालेको जित्ने आधार यही नै हो।’
संसदमा फर्किएलान् पुष्करनाथ?
लामो समय कांग्रेसको राजनीति गरेका पुष्करनाथ ओझा यसपटक कैलाली ५ मा स्वतन्त्र उम्मेदवार छन्। ओझा कैलाली ५ मा कांग्रेसका स्थापित नेता हुन्।

०७० को चुनावमा देउवाले डडेल्धुरा र तत्कालीन कैलाली ६ दुवै निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए। त्यसपछि उनले कैलाली ६ छोडे।
त्यसपछि भएको उपचुनाव कांग्रेसबाट ओझाले जितेका थिए। ०७४ को चुनावमा ओझाले पनि कांग्रेसबाट आंकाक्षा देखाए। तर उनको टिकट खोसेर कांग्रेसले आरजुलाई मैदानमा उतारेको थियो।
०७४ मा आरजुको हारको पछाडि ओझाको अन्तर्घात रहेको भन्दै उनलाई साधारण सदस्यसमेत नरहने गरी कांग्रेसले कारबाही गरेको थियो।
ओझासँगै कारवाही गरिएका अरू धेरै नेता कार्यकर्ताको स्थानीय निर्वाचन २०७९ अघि नै कारबाही फुकुवा भएपनि ओझाको भने भएन।
कांग्रेसबाट ०७० को उपचुनाव जितेका उनै ओझा स्वतन्त्रबाट चुनावी दौडमा रहँदा उनको संसद यात्रा कस्तो रहला? चासोका साथ हेरिएको छ।
‘उहाँले लामो समयदेखि कांग्रेसमा रहेर राजनीति गर्नुभयो, तर उहाँको योगदानको मूल्याङ्कन भएन,’ ओझा निकट एक नेताले भने, ‘धनगढी बनाउनुपर्छ भनेर लाग्नु भएको छ, उहाँलाई कांग्रेस, एमाले सबै राजनीतिक दलका साथीहरुले पनि सहयोग गर्छन्।’
यस्तो छ अंकगणित
धनगढी उपमहानगरपालिकामा यसपटक कांग्रेसले ०७४ को बर्चश्व कायम राख्न सकेन। उपमहानगरका १९ वडामध्ये कांग्रेसले ११ वडामा मात्रै जित निकाल्न सकेको छ। जबकी ०७४ मा कांग्रेसले मेयर उपमेयरसहित १२ वडा जितेको थियो।
कांग्रेसले यसपटक मेयर पनि गुमाउनु पर्यो। निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने कूल २१ वडामध्ये कांग्रेसले १३ वडामा जितेको छ।
आन्तरिक किचलोले स्थानीय तहमा अपेक्षित नतिजा नआए पनि संघीय निर्वाचनमा त्यस्तो नदोहोरिने कांग्रेसको दाबी छ।
नेकपा एमालेले भने यसपटक स्थानीय तह निर्वाचनमा धनगढीमा आफ्नो बर्चश्व बढाएको छ। ०७४ मा २ वडामा सीमित एमालेले यसपटक ६ वडासहित उपमेयर जितेको छ। माओवादी केन्द्रले २ वडा मात्रै जितेको छ।
स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएका मतका आधारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ३२ हजार ६१९ मत ल्याएको थियो। नेकपा एमाले एक्लैले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको छ।
Shares

प्रतिक्रिया