पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनको उपचारपछि आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ भएको उनका सहयोगीले बताएका छन्।
गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने प्रयास असफल हुँदा खुट्टामा गोली लागी घाइते भएका थिए।
गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएपछि गत अप्रिलमा सत्ताच्युत भएदेखि नै तनावमा रहेको देशको राजनीतिक सङ्कट थप चुलिएको छ।
पूर्व सूचनामन्त्री फवाद चौधरीले एएफपीसँग कुरा गर्दै खानलाई ‘डिस्चार्ज गरिएको’ पुष्टि गरे।
एक स्थानीय टिभी च्यानलले उनलाई निलो रङको अस्पतालको गाउन लगाएर लाहोरस्थित एक क्लिनिकबाट ह्वीलचेयरमा निस्कँदै गरेको देखाएको थियो।
पूर्वी सहर वजीराबादमा बिहीबार राजनीतिक दलको प्रदर्शनको नेतृत्व गरिरहेका ७० वर्षीय खानलाई उनी चढेको ‘कन्टेनर ट्रक’लाई लक्ष्य गरी गोली चलाउँदा घाइते भएका थिए।
आक्रमणमा संलग्न भएको आरोपमा एक व्यक्ति हिरासतमा लिइएको छ। सरकारी अधिकारीहरूले आक्रमणलाई ‘एक्लो बन्दुकधारीको काम र धार्मिक अतिवादको एकदम स्पष्ट मामला’ भनेका छन्।
प्रहरीले सञ्चारमाध्यममा सार्वजनिक गरेको भिडियोमा एक मात्र संदिग्धले खानको प्रदर्शनले प्रार्थनाको आह्वानमा बाधा पुर्याएका कारण खानलाई मार्ने प्रयास गरेको बताएका छन्।
खानले भने घटनामा दुई जना बन्दुकधारीको संलग्नता रहेको दाबी गरेका छन्। शुक्रबार अस्पतालबाट पत्रकारसँग कुरा गर्दै उनले घटनाको पछाडि सरिफ, गृहमन्त्री राना सनौल्ला र एक वरिष्ठ गुप्तचर अधिकारीको संलग्नता रहेको दाबी पनि गरेका थिए। रासस/सिन्ह्वा
Shares

प्रतिक्रिया