हिन्दू धर्मावलम्बीहरूले पशुलाई देवताको प्रतीकका रूपमा पूजा गर्छन्। तिहारमा विशेषगरी काग, कुकुर, गाई-गोरुलाई देवताको प्रतीक मानेर पुज्ने चलन छ। तर, पछिल्लो समय पशुको संरक्षण नहुँदा समस्या बढ्दै गएको छ। कञ्चनपुरमा छाडा पशुचौपायाको समस्या विकराल छ।
स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि करोडौँ खर्च गरेका प्रतिवेदन धमाधम सार्वजनिक भइरहेका छन्। तर, त्यो लगानीको सदुपयोग हुन सकेको छैन। पशुचौपाया व्यवस्थापनका नाममा स्थानीय तहले लाखौँ रकम खर्चे पनि समस्या ‘ज्यूँका त्यूँ’ छ।
चाहिन्जेल पाल्ने र पछि छाड्ने प्रवृत्तिले छाडा चौपायाको समस्या समाधान हुन नसकेको पशु संरक्षणकर्मी बताउँछन्। पछिल्लो समय पशुप्रति मानवका व्यवहार ‘क्रूर’ हुन थालेको पशु संरक्षणका सक्रिय हरिशरण महाराजले बताए।
‘दूध दिने बेलासम्म गाई बाँध्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिले पशु संरक्षणमा चुनौती थपिएको छ,’ उनले भने, ‘गाई हाम्रो राष्ट्रिय जनावर पनि हो, यसमा सरकारले पनि ध्यान दिनुपर्छ।’
पशुलाई धर्ममा पूजा गर्ने तर मनमा नमान्ने प्रवृत्ति मौलाउँदा पशु संरक्षण हुन नसकेका उनको भनाइ छ। ‘राष्ट्रिय जनावर र तिहारमा पूजा गरिने गाईप्रति समेत मानवीय व्यवहार भएको छैन, सरकारले पनि पशु व्यवस्थापनमा ध्यान दिन सकेको छैन,’ उनले भने।
कान्जी हाउस खाली
चौपाया समस्या समाधानका लागि स्थानीय तहले लाखौँ खर्चेर निर्माण गरेका ‘कान्जीहाउस’ (गौशाला) प्रयोगविहीन भएका छन्।
भीमदत्त नगरपालिकाले आधा करोड खर्चेर निर्माण गरेका ‘कान्जीहाउस’ (गौशाला) मा एउटा पनि पशु चौपाया छैनन्। जग्गा लिजमा लिएर बनाएको गौशाला जीर्ण बन्दै गएको छ। भीमदत्त नगरपालिकाले ४६ लाख खर्च गरेर भीमदत्त नगरपालिका–१९ बागफाँटामा गौशाला निर्माण गरेको थियो।
‘यहाँ पशु संरक्षणका लागि थुप्रै गौशाला निर्माण भएका छन्, त्यहाँ राम्रोसँग व्यवस्थापन गर्न सकेको छैन, कतै गौशाला पशु नराखी जीर्ण बनेका छन्,’ पशु संरक्षणमा सक्रिय महाराजले भने, ‘कतै चौपाया राखिएको ठाउँमा खानलाई चारोको व्यवस्था छैन, लथालिङ्ग छ।’

विकराल समस्याका रूपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि लोक कल्याणकारी सेवा ट्रस्टले अक्षयकोष स्थापना गर्न लागेको परमाध्यक्ष महाराजले जानकारी दिए।
‘कबाड संकलन गरेर अक्षयकोष तयार गर्दै छौँ,’ उनले भने, ‘अक्षयकोषबाट चौपायाको चारोको प्रबन्ध गर्छौं, चौपाया व्यवस्थापन गरिन्छ।’
अन्य स्थानीय तहले निर्माण गरेका कान्जीहाउस समेत खाली छन्। लाखौँ खर्चेर निर्माण गरिएको कान्जीहाउसमा एउटा पनि चौपाया नभएपछि लगानी बालुवामा पानी जस्तै भएको छ।
गाई-गोरु सडकभरि
छाडा चौपाया व्यवस्थापन हुन नसक्दा पूर्वपश्चिम राजमार्ग, बजार क्षेत्रभर नै पशु चौपायाको समस्या जस्ताको त्यस्तै छ।
पश्चिम गड्डाचौकीदेखि, सुकासाल, वनगाउँ, बसपार्क, सुडा लालपुर, सिसैया, दैजी, गुलरिया, कृष्णपुरसम्म जताततै छाडा चौपाया देखिन्छन्।
राजमार्गमा छाडा पशुका कारण दैनिक दुर्घटना हुने गरेको छ। करोडौँ खर्च गरे पनि स्थानीय तहले छाडा चौपायाको दिगो व्यवस्थापन गर्न सकेको छैनन्।

छाडा चौपायाका कारण यात्रुले राजमार्गमा दैनिक सास्ती खेप्नु परेको छ। छाडा चौपायाले खेतमा लगाएका बाली सखाप गर्ने हुनाले किसान पनि हैरान छन्।
‘चौपायाले खेतमा लगाएको बाली खाएर सखाप पारेको छ,’ भीमदत्त नगरपालिका–२ की हरिना भट्टले भनिन्, ‘छाडा चौपायाले हैरान भएका छौं, यसको समाधान गर्नु जरुरी छ।’
व्यवस्थापनका लागि के हुँदै छ?
भीमदत्त र वेदकोट नगरपालिकाले चौपाया व्यवस्थापनका लागि संयुक्त रुपमा काम गरिरहेका छन्। छाडा चौपाया व्यवस्थापनका लागि भीमदत्त नगरपालिका–३ का अध्यक्ष गगनसिंह धामीको नेतृत्वमा कार्यदल बनाएर कानुनी मस्यौदा तयार गरिरहेको भीमदत्त नगरका प्रवक्ता महेन्द्र खड्काले बताए।
‘वेदकोटको चौपाया यता आउने, यताको उता जाने गर्दछन्, एउटै पालिकाले गरेर भएन,’ उनले भने, ‘त्यसैले संयुक्त रुपमा छाडा चौपाया व्यवस्थापनको काम गर्दै छौँ, कार्यदलले प्रतिवेदन दिएपछि पालिकाबीच सम्झौता हुने छ।’
भीमदत्त नगरपालिकासँग सहकार्य गरेर छाडा चौपाया व्यवस्थापन गरिन लागिएको वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले बताए।
‘कार्यदलले छाडा चौपाया कसरी व्यवस्थापन गर्ने ?, कति कुन पालिकाले खर्च गर्ने लगायत विषयमा कार्यविधी तयार गरिरहेको छ,’ उनले भने, ‘त्यसैअनुसार हामी अगाडि बढ्छौँ।’
छाडा चौपायालाई वेदकोट नगरपालिका–४ बैतडामा व्यवस्थापन गर्ने बारेमा सहमति जुटेको समेत उनले बताए।

पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने भीमदत्त, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिकामा छाडा चौपायाको समस्या विकराल छ।
शुक्लाफाँटा नगरपालिकाका छाडा चौपायालाई वडा नम्बर ९ स्थित बनाइएको गौशालामा राख्ने गरिएको नगर प्रमुख रणबहादुर महराले बताए।
‘नगरमा चौपाया व्यवस्था निरन्तर भइरहेको छ,’ उनले भने, ‘वडा नम्बर ९ म बनाइएको गौशालामा छाडा चौपायालाई राख्ने गरेका छौँ।’
छाडा चौपाया व्यवस्थापनका लागि कृष्णपुर नगरपालिकाले काम तीव्र रुपमा अगाडि बढाएको नगर प्रमुख हेमराज ओझाले बताए। उनका अनुसार नगरपालिकाको प्रत्येक वडामा गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढाइएको हो।
‘लामो समयदेखि समस्याका रुपमा रहेको छाडा चौपाया व्यवस्थापन गर्दै छौंँ,’ उनले भने।
छाडा चौपाया र घरमै पालिएका गाईलाई फरक–फरक रङको ट्याग लगाउने कार्य भइरहेको नगर प्रमुख ओझाको भनाइ छ।
‘यसले घरमै पालिएका गाई र बाह्य क्षेत्रमा छाडिएका गाईको पहिचान गर्न सहज हुन्छ,’ उनी भन्छन्, ‘गाई-गोरु छाडा रुपमा छाड्ने व्यक्तिको पहिचान हुन्छ, अनि नगरपालिकाको प्रचलित कानुनअनुसार कारबाही गर्न सकिन्छ।’
छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले घाँस, चारो, पानी र हेरालाको व्यवस्था गर्न योजना बनाएको उनले बताए। नगरपालिकाले चालू आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनका लागि रु ४० लाख बजेटको व्यवस्था गरेको छ।
Shares

प्रतिक्रिया