ad ad

सुदूरपश्चिम


आरजुले कैलाली–५ छोड्दा रानासँग कांग्रेसबाट को भिड्ला?

आकांक्षी धेरै हुँदा कांग्रेसलाई उम्मेदवार छान्न सकस
आरजुले कैलाली–५ छोड्दा रानासँग कांग्रेसबाट को भिड्ला?

गोकुल जोशी
असोज ८, २०७९ शनिबार ७:११, कञ्चनपुर

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले वि.सं. २०७४ सालको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट पहिलो पटक संसदीय चुनाव ‘फेस’ गरिन्।

त्यसबेला वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका नारदमुनि रानासँग ४ हजार ८८० मतले पराजित भएर राणाको संसद यात्रा रोकियो।

०७४ मा रानाले २७ हजार २०२ मत ल्याएका थिए भने राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन्। आसन्न चुनावमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाटै राणा प्रत्यक्ष चुनाव लड्ने अनुमान थियो।

फलस्वरुप कांग्रेसले कैलाली ५ बाट प्रत्यक्षतर्फका लागि उनै राणालाई सर्वसम्मत सिफारिस पनि गर्यो। 

कैलालीबाट मात्रै होइन, उनी डडेल्धुराबाट समानुपातिक, बर्दिया २, बाँके ३ र बागलुङ २ बाट पनि प्रत्यक्ष उम्मेदवारको रुपमा सिफारिस भएकी थिइन्। 

तर, अन्तिममा राणा प्रत्यक्ष चुनाव नलड्ने भएकी छन्। उनी सुदूरपश्चिमबाट समानुपातिकतर्फ गएकी छन्। 

आरजुले कैलाली ५ छोडेर समानुपातिक रोज्दा त्यहाँ अब कांग्रेसबाट प्रत्यक्ष चुनाव को लड्ला भनेर चासोका साथ हेरिएको छ। 

‘प्रत्यक्ष चुनाव लड्दा दौडधूप गर्नु पर्ने हुनाले स्वास्थ्य स्थितीले त्यो सम्भव हुने भएन, त्यसैले उहाँ (आरजु) समानुपातिकमा जानु भएको हो,’ कैलाली क्षेत्र नम्बर ५ का कांग्रेस सभापति भीम पडालले भने, ‘समानुपातिकमा जाँदा उहाँको ठाउँमा अब आकांक्षी धेरै देखिएका छन्, कस्लाई उठाउने भनेर छलफल भइरहेको छ।’

राणा ‘ब्याक’ भएर कैलाली ५ को प्रत्यक्षको मैदान खाली गर्दा कांग्रेसमा उनको ठाउँमा चुनाव लड्न आकांक्षी धेरै हुँदा उम्मेदवार छान्न सकस परेको छ।

नेकपा एमालेले कैलाली ५ मा यसअघि जितेका पूर्वमन्त्री नारदमुनि रानालाई चुनाव लडाउने तयारी गरेको छ। रानालाई एमालेले सो क्षेत्रमा प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस गरेको छ।

०७४ मा माओवादीको समर्थनमा चुनाव जितेका रानालाई यसपटक कांग्रेसबाट कस्ले चुनौती दिन्छ भनेर चर्चा हुन थालेको छ। 

कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह मनु, नेताहरु सुनिल भण्डारी र निवर्तमान प्रदेश सभा सदस्य डिल्लीराज पन्तलाई कैलाली ५ मा आकांक्षीका रुपमा हेरिएको छ।

प्रदेश महामन्त्रीसमेत रहेका शाह यसअघि दुई कार्यकाल कांग्रेस कैलालीको जिम्मेवारी सम्हालिसकेका नेता हुन्।

यसपटक प्रदेश सभा तर्फ प्रत्यक्ष र प्रतिनिधि सभा तर्फ समानुपातिकमा उनी सिफारिसमा परेका छन्। कैलाली ५ आरजुले छोड्दा शाह उनको विकल्पको रुपमा प्रस्तुत हुन सक्ने कांग्रेस नेताहरु बताउँछन्।

यस्तै, ०७४ सालको चुनावमा वामगठबन्धनका उम्मेदवार लेखराज भट्टसँग कैलाली ४ मा पराजित भण्डारीलाई पनि कैलाली ५ को सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ। यद्यपी, उनी कैलाली ४ मा प्रत्यक्षतर्फ सिफारिसमा परेका छन्। 

त्यहाँ कांग्रेस नेता नैनसिंह महर, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा.लक्ष्मीराज पाठक पनि प्रत्यक्षतर्फ सिफारिस भएका छन्।

सत्तारुढ गठबन्धनमा कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरको गृहजिल्ला डोटीमा एकीकृत समाजवादीका प्रेमबहादुर आलेले सशक्त दाबी गर्दा बलायर डोटी छोडेर कैलाली ४ मा झर्ने चर्चा पनि चलेको छ। 

‘यस्तो अवस्थामा कैलाली ४ मा ०७४ मा लडेका भण्डारी ५ नम्बर क्षेत्रबाट लड्न सक्नुहुन्छ,’ कांग्रेसका एक नेताले भने, ‘अहिले कस्लाई कहाँ व्यवस्थापन गर्ने, कसरी सबैलाई मिलाएर जान सकिन्छ भनेर सम्भावित परिदृश्यमा छलफल भइरहेको छ, उम्मेदवार टुङ्गो लागेको छैन।’

कैलाली ५ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका डिल्लीराज पन्त पनि आकांक्षी छन्। यस्तै, ०७४ सालको चुनावमा आरजुलाई हराउन भूमिका खेलेको आरोपमा कारबाहीमा परेका पुष्करनाथ ओझा पनि कांग्रेसबाट चुनाव लड्ने आंकलन गरिएको छ। तर कांग्रेस क्षेत्र नम्बर ५ का सभापति भीम पडाल भने ओझाले टिकट पाउने सम्भावना न्यून रहेको बताउँछन्।

‘उहाँ कारबाहीमा हुनुहुन्छ, कारबाही फुकुवा नभइ कसरी कांग्रेसबाट चुनाव लड्नुहुन्छ,’ उनले भने, ‘अहिले यो सम्भावना कम छ, अरु नै धेरै आकांक्षी छन् ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .