कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बहुमुखी क्याम्पस नजिक बसको ठक्करबाट एक जनाको आज मृत्यु भएको छ।
मृत्यु हुनेमा गौरीगङ्गा–२ कटानका अन्दाजी ४६ वर्षीय खडक थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार सोमबार चौमाला बहुमुखी क्याम्पस नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ९६९३ नंको सुदूरपश्चिम यातायातको बसले विपरीत दिशातर्फ आउँदै गरेका साइकलयात्री थापालाई ठक्कर दिएको थियो।
घाइते थापाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको थियो।
बस र बस चालकलाई इलाका प्रहरी कार्यालय माला खेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ।
21
Shares

प्रतिक्रिया