NepalKhabar NepalKhabar

विचार


किन भयो आबेको हत्या?

किन भयो आबेको हत्या?

गियरोइड रिडी
साउन ५ , काठमाडौँ

८ जुलाईका दिन जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भयो। आबेको मृत्युको सबैभन्दा हैरान तुल्याउने कुरा के हो भने सायद यो घटनाबाट हामी केही पनि सिक्न सक्ने छैनौँ।

आबेको हत्यापछि सञ्चारमाध्यमको ध्यान युनिफिकेसन चर्चमा केन्द्रित भएको छ। जसलाई मुनपन्थी भनेर ज्यादा चिनिन्छ। आबेमाथि गोली प्रहार गर्ने तेत्सुया यामागामीकी आमा यही सम्प्रदायको सदस्य थिइन्। र, समाचारहरुका अनुसार उनले लाखौँ डलर युनिफिकेसन चर्चलाई दान दिएकी थिइन्। उनको यो कदमले सो परिवार कंगाल बन्यो र यामागामीले आबेविरुद्ध वैरभाव राख्न थाले। किनभने आबेले सो सम्प्रदायसँग सम्बन्धित संस्थाहरुको कार्यक्रममा सम्बोधन गरेका थिए।

तर, यो पृष्ठभूमि जान्नु त्यति नै उपयोगी छ, जति १९८१ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको हत्या प्रयासका विषयमा बुझ्न अभिनेत्री जोडी फोस्टरलाई चिन्नु उपयोगी छ। जोन हिंक्ली जुनियरले फोस्टरलाई प्रभावित तुल्याउन राष्ट्रपति रेगनलाई गोली प्रहार गरी हत्या प्रयास गरेका थिए। उनी फोस्टरबाट मोहित थिए। त्यसको केही महिनाअघि उत्तिकै निरर्थक आक्रमणमा गायक जोन लेननको गोली प्रहार गरी हत्या भएको थियो। मार्क डेविड च्यापम्यान नामक व्यक्तिले उनीमाथि गोली चलाएका थिए, जो जे डी सालिन्जरको उपन्यास ‘द क्याचर इन द राइ’ बाट प्रेरित भएका थिए। 

सुरुमा आबेको हत्या राजनीतिक उदेश्यले प्रेरित हो कि भन्ने शंका थियो। तर, अहिले यो हत्या पनि उल्लिखित अन्य निरर्थक हत्याहरुजस्तै लाग्न थालेको छ। यदि यो राजनीतिप्रेरित होइन भन्ने पुष्टि भए त्यो राहतको विषय हुनसक्छ। किनभने जापान तिक्त दलीय विभाजनमा फस्न आवश्यक छैन। त्यस्ता विभाजन अन्य लोकतन्त्रहरुमा गहिरिँदै गएको देखिन्छ। र, राजनीतिक हत्याले त्यस्तो विभाजनलाई ह्वात्तै बढाइदिन सक्छ।

यसको अर्थ युनिफिकेसन चर्चलाई बेवास्ता गर्नुपर्छ भन्ने होइन। यो घृणित घटनाले लामो समयदेखि थाती रहेको काम गर्न सक्छ। त्यो हो मुनपन्थी र अन्य सीमान्तकृत धार्मिक समूहहरुमाथि प्रकाश पार्नु। यो जापानी समाजको त्यस्तो क्षेत्र हो, जुन प्रायः मानिसहरुको नजरमा पर्दैन।

अन्य मुलुकमा जस्तो जापानमा धर्म वैचारिक लडाइँको विषय बनेको छैन। त्यसैले थुप्रैले ठान्छन्, यो गैरधार्मिक मुलुक हो। जापानी समाजमा अक्सर धर्मको सजावटी स्थान छ। खासगरी जीवनका विभिन्न चरणमा गरिने समारोहहरुमा। उसो त जापान यस्तो मुलुक हो, जहाँ धेरै मान्छेहरु जन्मिँदा सिन्तो हुन्छन्, विवाह क्रिस्चियनसँग गर्छन् र मर्दा बौद्ध भइसकेका हुन्छन् भन्ने गरिन्छ। जे भए पनि जापानमा मुनपन्थीजस्ता अर्धक्रिस्चियन समूहमा मात्र होइन, अन्य पन्थहरुमा पनि धर्मको नाममा ठगी हुने गरेको छ। थुप्रै मानिसका त्यस्ता पाका नातेदार हुन्छन् नै, जसलाई रोग निको पारिदिन्छु भनेर कुनै बौद्ध समूहले ठगेको हुन्छ। २०२० मा ह्याप्पी साइन्स नाम समूहले कोभिड–१९ निको पारिदिने दाबी गरेर अन्तर्राष्ट्रिय चर्चा कमाएको थियो। यस्ता समूहरुले विभिन्न सहरका केन्द्रमा भव्य सम्पत्ति जोडेका छन्। तैपनि जापानमै समेत यी विषयमा खासै चर्चा हुन्न।

आबेको हत्यापछि केही सञ्चारमाध्यम (अधिकांश ट्याबलोइड)ले यो क्षेत्रमा धावा बोले, जसलाई छुन मूलधारका सञ्चारमाध्यम अनिच्छुक देखिन्थे। तर, अन्य सञ्चारमाध्यमले यामागामीकी आमा कुन सम्प्रदायमा थिइन् भन्ने उल्लेख गर्न पनि अनिच्छा देखाए। तैपनि युनिफिकेसन चर्चले यामागामीकी आमा आफ्नो सम्प्रदायको सदस्य रहेको स्वीकार गर्दै पत्रकार सम्मेलन आयोजना गर्यो।

तर, मुनपन्थीहरुसँग आबेको सम्बन्ध भने स्पष्ट छैन। आबे यो चर्चको सदस्य थिएनन्। यद्यपि उनले यो चर्चको अनलाइन कार्यक्रममा डोनाल्ड ट्रम्पलगायत चर्चित व्यक्तिसँगै सम्बोधन गरेका थिए। सायद त्यो सम्बन्ध ऐतिहासिक थियो। आबेका हजुरबा नोबुसुके किसी युद्धपछि जापानका प्रधानमन्त्री भएका थिएन। उनले युनिफिकेसन चर्च र यसका कोरियाली संस्थापक पादरी सुन म्युङ मुनलाई जापानमा खुट्टा टेक्न मद्दत गरेका थिए। किनभने उनले तिनलाई कम्युनिजमविरुद्धको लडाइँमा सहयोगी ठानेका थिए।

यो हत्याले सीमान्तमा रहेको एउटा राजनीतिक समूहलाई पनि प्रकाशमा ल्याएको छ। त्यो हो एनएचके पार्टी। राष्ट्रिय प्रशारक एनएचकेको विरोध गर्ने भएकाले सो पार्टीको नाम यस्तो रहन गएको हो। गत आइतबार भएको माथिल्लो सदनको चुनावअघिको एउटा विचित्र दृश्यमा सो पार्टीका महासचिव अकिहिको कुरोकावाले धार्मिक समूहहरुले ठूलो मात्रामा पैसा पाउनुमा आबे दोषी रहेको बताए। त्यसपछि एनएचकेको एक गीति प्रस्तुतिको प्रत्यक्ष प्रसारणमा जबर्जस्ती पसेर उनले भने, ‘यो सब आबेको गल्ती हो।’

टेलिभिजनका लागि यो मोहक दृश्य हो। तर, यसले आबेको मृत्युबारे के भन्छ? अथवा, भविष्यमा त्यस्तो आक्रमण रोक्ने कुनै सम्भावना सुझाउँछ त? त्यसको सम्भावना एकदमै कम छ। यामागामीले प्रहरीलाई जे बताए, त्यसमा उनी साँच्चै विश्वास गर्छन् या गर्दैनन्, अथवा उनको दिमाग ठिक छ या छैन, हामीलाई थाहा छैन।

भविष्यका यस्ता आक्रमण रोक्न सायद सामाजिक–आर्थिक अवस्थामा पनि उत्तिकै ध्यान दिन आवश्यक छ। जुन अवस्थाले यामागामीलाई जन्म दियो। उनको प्रोफाइल पनि तीसँग मिल्दोजुल्दो छ, जसले यसअघि यस्ता अपराधका घटना घटाएका थिए। यस्तो अपराध क्रुद्ध युवाहरुले गर्छन् भन्ने मान्यता छ। तर, त्यसविपरीत जापानमा पछिल्ला केही वर्षमा भएका चकित तुल्याउने हत्याकाण्डहरु घरबार टुटेका, आर्थिक स्थिति नराम्रो भएका र जीवनमा धेरै आशा बाँकी नरहेका पाका पुरुषले घटाउने गरेका छन्।

२०१९ मा क्योटो एनिमेसनमा आगजनी गरेर ३६ जनाको ज्यान लिने घटनाका अभियुक्त त्यतिबेला ४१ वर्षका थिए। आबेका हत्यारा यामागामीको उमेर पनि ४१ नै हो। यामागामीकै जस्तो सो आगजनी गराउने व्यक्तिका बुबा पनि जवानीमै बितेका थिए। गत डिसेम्बरमा २६ जनाको ज्यान लिएको ओसाका आगजनीका अभियुक्त ६१ वर्षका थिए। उनी पत्नीसँग सम्बन्धविच्छेद गरेर परिवारबाट अलग्गिएका थिए। त्यसबेला उनको बैंक खाता रित्तो थियो।

ओसाकाको मानसिक चिकित्सा क्लिनिकको आगजनी (आगो लगाउने व्यक्ति त्यहीँ उपचार गराउँथे) होस् वा एनिमेसन स्टुडिओ (उनले अघिल्लो घटनाबाट आगजनीको तरिका चोरेको जस्तो देखिन्छ) वा देशमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका व्यक्तिको हत्या, यी हरेक घटनामा उनीहरुको निसाना भने जथाभावी देखिन्छ।

तर, यी अभियुक्तहरुमा के साझा देखिन्छ भने उनीहरुमा मानसिक स्वास्थ्य समस्या थियो, उनीहरुको रोजगारी अनियमित थियो र उनीहरु समाजबाट अलगथलग थिए। यामागामीको यस्तो आर्थिक परिस्थिति बन्नुमा मुनपन्थीहरु कसरी जिम्मेवार छन्, त्यसको मिहीन जाँच हुनुपर्छ। युनिफिकेसन चर्चका जापान प्रमुख तोमिहिरो तानाकाले सदस्यहरुबाट आफूहरुले दान लिने गरेको स्वीकारे। तर, अनुसन्धान जारी रहेको भन्दै यामागामीकी आमाको बारेमा बोल्न अस्वीकार गरे।

यस्ता घटनाबाट एउटा निष्कर्ष र अर्थ निकाल्ने चाहना स्वाभाविक हो– आखिर घटना ‘किन’ भयो त? आबेको सुरक्षामा भएको अक्षम्य कमजोरीमाथि पनि छानबिन गरिनुपर्छ। जसलाई प्रधानमन्त्री फुमियो किसिदाले बिहीबार ‘समस्याग्रस्त’ भने। सुरक्षाका लागि जिम्मेवार प्रहरीहरुको ध्यान साइकलका कारण भंग भएको र यामागामीलाई उनीहरुले नदेखेको बताइएको छ। यामागामीको पहिलो र दोस्रो गोली प्रहारका बीचमा लामो समय थियो। त्यो क्षणमा आबेलाई सुरक्षित तुल्याउन सकिन्थ्यो। त्यसैले सुरक्षा व्यवस्थाका विषयमा छानबिन हुने निश्चित छ।

तर कहिलेकाहीँ ‘किन’ को उत्तर फेला पर्छ नै भन्ने छैन। यो हत्याको घटनाबाट निस्किने सबैभन्दा डरलाग्दो निष्कर्ष यस्तो हुन सक्छः खुला समाजमा जापानजस्तो एकदमै कम बन्दुक भएको मुलुकमा पनि दृढ निश्चयी र विक्षिप्त आक्रमणकारीलाई सधैँ रोक्न सकिन्न।

(ब्लुमवर्गबाट)

साउन ४, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.