विश्वकप फुटबलको क्वार्टरफाइनल समिकरण पूरा भएको छ। मंगलबार राति नकआउटको अन्तिम खेलबाट पोर्चुगल क्वार्टरफाइनलमा पुगेसँगै ८ वटै टोलीको टुंगो लागेको हो।
एउटा समूहबाट नेदरल्याण्ड्स, अर्जेन्टिना, क्रोएसिया र ब्राजिलले क्वार्टरफाइनलमा स्थान बनाएका छन्। अर्को समूहबाट इङ्ल्याण्ड, फ्रान्स, मोरक्को र पोर्चुगल क्वार्टरफाइनलमा पुगेका हुन्।
अब सेमिफाइनल प्रवेशका लागि नेदरल्याण्ड्स र अर्जेन्टिना तथा क्रोएसिया र ब्राजिल भिड्ने छन्। यसअघि २०१४ को विश्वकपमा नेदरल्याण्ड्स र अर्जेन्टिना सेमिफाइनलमा भिडेका थिए। २०१८ को विश्वकपमा सहभागी नभएको नेदरल्याण्ड्सको ८ वर्षपछि अन्तिम ८ मा पुरानै प्रतिद्वन्द्वी पाएको हो।
अर्को समूहका इङ्ल्याण्ड र फ्रान्स तथा मोरक्को र पोर्चुगल भिड्नेछन्। मोरक्को पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो। पोर्चुगलले १६ वर्षपछि अन्तिम ८ मा स्थान बनाएको हो। रोनाल्डोको डब्यु विश्वकपमा क्वार्टरफाइनल पुगेको पोर्चुगल उनको अन्तिम विश्वकपमा पनि क्वाटरफाइनलमा पुगेको छ।
साविक विजेता फ्रान्स र उपविजेता क्रोएसियाले अन्तिम ८ मा स्थान बनाएका छन्। गत विश्वकपमा सेमिफाइनल पुगेको इङ्ल्याण्डले अन्तिम ८ सुरक्षित गर्दा अर्को टोली बेल्जियम भने समूह चरणबाटै बाहिरिएको छ।
ब्राजिल यसअघि पनि क्वार्टरफाइनलमा पुगेको थियो। यसपटक नयाँ टोलीका रुपमा नेदरल्याण्ड्स, अर्जेन्टिना, मोरक्को र पोर्चुगल छन्। चार वटा टोली यसअघिकै दोहोरिँदा चार वटा नयाँ टोलीले अन्तिम ८ मा स्थान बनाएका छन्।
क्वार्टरफाइनल खेल तालिका
क्वार्टरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया भिड्नेछन्। शुक्रबार राति ८ :४५ बजे सर्वाधिक सफल टोली ब्राजिलले साविक उपविजेताको सामना गर्नेछ। ब्राजिल दक्षिण कोरियालाई ४–१ ले पराजित गर्दै अन्तिम ८ मा पुगेको हो भने क्रोएसिया जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै अन्तिम ८ मा पुगेको हो।
त्यसैराति १२ः४५ बजे अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दैछन्। नेदरल्याण्ड्स अमेरिकालाई ३–१ ले पराजित गर्दै र अर्जेन्टिना अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै अन्तिम ८ मा पुगेका हुन्।
यी दुई खेलका विजेताको भेट सेमिफाइनलमा हुनेछ।
शनिबार राति मोरक्को र पोर्चुगल भिड्ने छन्। राति ८ः४५ बजे यो खेल हुनेछ। मोरक्को स्पेनलाई पराजित गर्दै र पोर्चुगल स्विट्जरल्याण्डलाई पराजित गर्दै अन्तिम ८ मा पुगेका हो। अर्को खेलमा शनिबार मध्यराति १२ः४५ बजे इङ्ल्याण्ड र फ्रान्स भिड्नेछन्। यी दुई खेलका विजेताको भेट सेमिफाइनलमा हुनेछ। इङ्ल्याण्ड सेनेगललाई पराजित गर्दै र फ्रान्स पोल्याण्डलाई पराजित गर्दै अन्तिम ८ मा पुगेका हुन्।
यसपटकको विश्वकपमा चार वटा पूर्वविश्व विजेता टोलीले स्थान बनाउँदा ४ वटा विश्वकप जित्न नसकेका टोली पनि अन्तिम ८ मा पुगेका छन्।
Shares
प्रतिक्रिया