आइतबार राति अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनेल मेस्सी र उनका समर्थकको एउटा सपना पूरा भयो, दशकौंदेखि त्यसको प्रतीक्षा थियो। ३६ वर्षको प्रतीक्षापछि अर्जेन्टिनाले एकपटक पुनः विश्वकपको उपाधि जितेको हो। यसअघि अर्जेन्टिनले १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो।
अर्जेन्टिनाको जितपछि लामोसमयसम्म क्यामेराको फोकस लियोनेल मेस्सीतर्फ नै थियो। उनको मुहारमा देखिएको खुसी देखेर केही मानिसको आँखामा आँसु आएको थियो भने केही मानिसहरु खुसीयाली मनाउन थालेका थिए। जितका नायकसमेत रहेका मेस्सी सबै खेलाडीसँग अंकमाल गरिरहेका थिए।
जितपछि मेस्सी स्टेजमा अवार्ड लिन जाँदाको एक घटनाको विषयमा अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। सबैभन्दा पहिला मेस्सीलार्य गोल्डेन बलको अवार्ड दिन मञ्चमा बोलाइएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई यो अवार्ड दिइन्छ।
त्यसपछि फिफा विश्वकपको उपाधि लिन एकएक गरेर स्टेजमा पुगे, यसैबीच सबैको ध्यान मेस्सीमा केन्द्रित थियो। मेस्सी सबैभन्दा अन्तिममा स्टेजमा पुगे। मञ्चमा उनलाई मेडल लगाइएपछि कतारका राजा शेख तमीम बिन हमाद अल थानीले उनलाई कालो र सुनौलो रङको जालीदार पोशाक लगाइदिए। यो पोशाकको विषयमा सामाजिक सञ्जालमा पनि चर्चा भइरहेको छ।
किन लगाइयो त मेस्सीलाई उक्त पोशाक? कतार विश्वकप आयोजक समितिका महासचिव हसन अल थवाडीले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘यो एक आधिकारिक अवसरको लागि तयार गरिएको पोशाक हो र यो समारोहको लागि लगाइन्छ। यो मेस्सीको जितको सम्मानमा उनलाई लगाइएको हो।’
उनले भने, ‘विश्वकप हाम्रो लागि अरब र मुस्लिम संस्कृति विश्वलाई देखाउने अवसर थियो। यसले कतारको मात्र होइन, एक क्षेत्रको उत्सवको खुसीको प्रतिनिधित्व गर्छ।’
मेस्सीलाई ओढाइएको पोशाकर्ला बिस्ट पनि भनिन्छ। अरब मुलुकमा यस्तो पोशाक कुनै विशेष समारोहमा लगाइन्छ। त्यसैले आइतबार फाइनल जितेपछि विजेता टोलीका कप्तानलाई उक्त पोशाक लगाइएको थियो।
सुरुमा त मेस्सीलाई यो पोशाक कसरी लगाउने हो भन्ने पनि थाहा थिएन। शेख तमिम बिन हमादले उनलाई यो पोशाक लगाउन सहयोग गरे। त्यसपछि मेस्सी उपाधि लिएर खुसीयाली मनाउँदै आफ्नो टोलीतर्फ अघि बढे।
सामाजिक सञ्जालमा भने यो पोशाकबारे मिश्रित प्रतिक्रिया आइरहेको छ। केहीले कालो पोशाकको कारण मेस्सीको राष्ट्रिय टोलीको जर्सी छोपिएको भन्दै आलोचना गरेका छन् भने केहीले अरब मुलुकको पोशाकको पनि सम्मान भएको भन्दै सराहना गरेका छन्।
प्रतिक्रिया