युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी बजेटमा मधेस प्रदेशमा नयाँ रङ्गशाला निर्माण तथा पुराना संरचना मर्मतका लागि आवश्यक बजेट विनियोजन गर्ने बताएका छन्।
जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट सङ्घको समन्वयमा शुक्रबार जनकपुरधामको रजौलमा रहेको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा सुरु भएको तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।
उनले मधेस प्रदेशमा आयोजना हुने ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पूर्वाधारका निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर आगामी बजेट विनियोजन गर्ने बताएका हुन्।
उनले जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तरराष्ट्रिय रङ्गशाला निर्माणमा मन्त्रालयले गुठी संस्थानसँग सम्झौता गराउन पहल गरिरहेको जानकारी गराए।
खेलकुदको विकासमा स्थानीय तहको अहम् भूमिका रहने उल्लेख गर्दै जनकपुरधाम उपमहानगरपालिकाले निरन्तर मेयर कपको आयोजना गरेर खेल तथा खेलाडीको मनोबल बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा उनले प्रशंसा गरे।
मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले जनकपुरधाममा रामजानकी बहुउद्देश्यीय रंगशालाको निर्माणका लागि वैधानिक प्रक्रिया अगाडी बढाइसकेकाले चाँडै रंगशाला निर्माणको बाटो खुला हुने बताए।
उनले मधेस प्रदेशकै आठ जिल्लामा रङ्गशाला निर्माण गर्ने पक्षमा प्रदेश सरकार रहेको बताए। पुराना अधुरा खेलकुदको आयोजना निर्माण सम्पन्न गर्नुपर्ने दायित्व प्रदेश सरकारकै भएको उनको धारणा छ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशालाको निर्माण प्रक्रिया अगाडि बढिसकेको र चाँडै सम्पन्न हुने विश्वास व्यक्त गरे।
नेपाल क्रिकेट सङ्घका कोषाध्यक्ष पद्म खडकाले नेपाली खेलकुदको विकासका लागि तीनै तहका सरकारको सहयोग र साथ आवश्यक भएको बताए।
आजदेखि जेठ २ गतेसम्म सञ्चालन हुने तेस्रो जनकपुरधाम मेयर कप प्रतियोगितामा मधेस प्रदेशका आठ जिल्लाका अतिरिक्त भारतको बिहारका मुजफ्फरपुर, पुरनीया, उत्तर प्रदेशका लखनाऊ र दिल्लीका ४ टिम गरेर कूल १२ टिमको सहभागिता रहेको छ।
टी–२० क्रिकेट प्रतियोगितामा विजेता टिमलाई रु दुई लाख नगद र ट्रफी, उपविजेतालाई रु एक लाख २५ हजार नगद र ट्रफी, प्रत्येक दिनका म्यान अफ दि म्याच हुने खेलाडीलाई केएफसिको रु पाँच हजारको गिफ्टका साथै रु तीन हजार नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा वेष्ट व्याट्स म्यानलाई रु १० हजार, वेष्ट बलरलाई रु १० हजार, म्यान अफ दि सिरिज हुने खेलाडीलाई रु १५ हजार नगद र ट्रफीसहित पुरस्कृत गरिने जिल्ला क्रिकेट सङ्घका सचिव अशिष झाले जानकारी दिए। रासस
Shares

प्रतिक्रिया