भारत हरियाणाकी टेनिस खेलाडी राधिका यादवको हत्याले भारतीय खेलकुद जगत् स्तब्ध भएको छ।
भारतका टेनिस प्रोफेसनल्स सौजन्या बाविसेट्टी र शर्मदा बालुले घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।
सौजन्याले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेकी छन्।
त्यसमा उनले लेखेकी छन्, ‘यो हृदयविदारक छ। मैले प्रतियोगितामा राधिकालाई एकपटक मात्र भेटेकी थिएँ, तर उनको मुस्कान धेरै मिठो थियो। मलाई लागेको थिएन- उनका आफ्नै बुबाले यति भयावह कदम उठाउन सक्छन्। उनीसँग एउटा पूरै जीवन बाँकी थियो, जुन 'मानिसहरूले के भन्लान्' भन्ने सोचले समाप्त भयो। राधिका, तिम्रो आत्माले शान्ति पाओस्। म प्रार्थना गर्छु- तिमीले अर्को जुनीमा राम्रो परिवार पाउनेछौ।’

यस्तै पूर्वराष्ट्रिय च्याम्पियन शर्मदा बालुले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा यो धेरै दुःखद र विचलित पार्ने खालको घटना भनेकी छन्।
राधिका यादवको हत्याले उनको परिवार र साथीभाइमा शोक मात्र नभएर देशभरका टेनिस खेलाडी र खेलप्रेमीमा ठूलो आक्रोश पनि छाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
सबैले भनिरहेका छन्- एउटी केटी आत्मनिर्भर बन्दै आफ्नो करियर बनाउँदै थिइन्, पारिवारिक सोच र सामाजिक दबाबका कारण ज्यानै गयो।
राधिकाले हासिल गरेकी थिइन् उत्कृष्ट उपलब्धि
राधिका यादवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धेरै उपलब्धि हासिल गरेकी थिइन्।
उनी आईटीएफ महिला डबल्समा ११३औँ स्थानमा पुगेकी थिइन् भने हरियाणामा महिला डबल्समा पाँचौँ स्थान हासिल गरेकी थिइन्।
टेनिसखेलो डटकमका अनुसार राधिका यादवको जन्म २३ मार्च २००० मा भएको थियो।
उनले आईटीएफ डबल्समा शीर्ष २०० मा स्थान बनाएकी थिइन्।
२५ वर्षीया राधिका यादव गुरुग्रामको सुशान्त लोक-फेज २ मा बस्थिन्।
राधिकालाई गुरुग्राम सहरमा बिहीबार गोली हानेर मारिएको हो।
प्रहरीका अनुसार उनका बुबाले उनलाई पाँच गोली हानेका थिए, जसमध्ये तीन गोली उनलाई लागेको थियो।
प्रहरीले भनेको छ, ‘राधिका टेनिस एकेडेमी चलाउँथिन्, जसका कारण उनका बुबा रिसाएका थिए।’
प्रहरीले उनका बुबालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया