खेल


वर्ल्डलिंकको ‘बिट द स्पिड: सिजन २’ सुरु, २४ सहरबाट तीव्र गतिको बलर खोजिने

वर्ल्डलिंकको ‘बिट द स्पिड: सिजन २’ सुरु, २४ सहरबाट तीव्र गतिको बलर खोजिने

नेपालखबर
जेठ १२, २०८२ सोमबार १५:१४, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो चर्चित क्रिकेट प्रतिभा खोज अभियान ‘बिट द स्पीड: सिजन २’ औपचारिक रूपमा सुरु गरेको छ।

युवा, काँचो र तीव्र गतिका बलरहरूलाई पहिचान गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान ८ मे २०२५ मा जनकपुरबाट प्रारम्भ भएको हो।

हालसम्म यो अभियानले १७ वटा सहरहरू पार गरिसकेको र नेपाली क्रिकेटमा उत्साह र प्रतिस्पर्धाको नयाँ लहर ल्याएको कम्पनीले जनाएको छ।

सन् २०२४ मा सुरु गरिएको यो अभियान वर्ल्डलिंकले ग्रामीण तथा सहरी क्षेत्रका प्रतिभाशाली तीव्र गतिका बलरहरूलाई खोजी र प्रोत्साहन गर्नको लागि प्रारम्भ गरेको थियो। यसले उनीहरूलाई पहिचान मात्र होइन, व्यावसायिक क्रिकेटतर्फको यात्रामा वास्तविक अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।

यस वर्ष अभियान २४ वटा सहरहरू लहान, राजविराज, बिर्तामोड, दमक, विराटनगर, इटहरी, बर्दिबास, मलंगवा, गौर, वीरगन्ज, हेटौंडा, चितवन, भैरहवा, लुम्बिनी, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, पाल्पा, पोखरा र काठमाडौँमा पुग्नेछ।

अभियानले अहिलेसम्म बलिङ गुणस्तरमा उल्लेखनीय सुधार देखाएको छ। अधिकांश सहभागीहरूले १२० किमि/घण्टाभन्दा बढी गति निकालिरहेका छन्।

हालसम्मको सर्वाधिक गति १३१ किमि/घण्टा रहेको छ, जुन पछ्याउँदै १२५ किमि/घण्टा पनि रेकर्ड गरिएको छ। यो गत वर्षको तुलनामा निकै सुधार हो।

अभियानमा प्रत्येक सहरमा एक जना उत्कृष्ट गति निकाल्ने बलरलाई स्थानीय विजेता घोषित गरिन्छ। तीमध्येका २४ स्थानीय विजेतामध्ये सर्वाधिक १० जना तीव्र गतिका बलरहरूलाई काठमाडौँमा आयोजना हुने एक हप्ते प्रशिक्षण क्याम्पमा सहभागी गराइनेछ।

क्याम्पमा उनीहरूलाई पूर्वराष्ट्रिय कप्तान तथा हाल नेपाल ‘ए’का प्रशिक्षक ज्ञानेन्द्र मल्ल र नेपाल ‘ए’ का बलिङ प्रशिक्षक कलाम अलीले तालिम दिनेछन्। अन्त्यमा, यीमध्येबाट उत्कृष्ट विजेताको घोषणा गरिनेछ।


बिट द स्पिड: सिजन २ को मुख्य विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनुका साथै भारतको प्रतिष्ठित क्रिकेट एकेडेमीमा ३ महिनाको तीव्र बलिङ तालिमको सम्पूर्ण खर्च वर्ल्डलिंकले व्यहोर्नेछ। 

पहिलो र दोस्रो रनर-अपले क्रमशः ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

कम्पनीले भनेको छ, “यो अभियान गति मात्र होइन, अवसरको बारेमा हो। हामी विश्वास गर्छौं, प्रतिभा जुनसुकै कुनाबाट आउन सक्छ। बिट द स्पीडमार्फत हामी काँचो प्रतिभा र व्यावसायिक अवसरबीचको दूरी घटाउन कटिबद्ध छौं।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad