काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलसहित कार्यपालिका ४१ जना सदस्यले मेयर बालेन्द्र शाह (बालेन)लाई कार्यपालिका बैठक बोलाउन माग गरेका छन्।
आज बसेको अनौपचारिक बैठकले तत्काल कार्यपालिका बैठक बोलाउन माग गरेको हो। ४२ सदस्य रहेको कार्यपालिकामा मेयर शाहबाहेक सबैको उपस्थिति रहेको थियो।
कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक पुसदेखि बस्न सकेको छैन।
‘कम्तीमा एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक करीब ६ महिनादेखि बस्न नसकेपछि महानगरभित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णयलगायत पनि अन्योलमा पर्दै आएका छन्,’ कार्यपालिका सदस्य नवीन मानन्धरले भने, ‘स्थानीय तहले असार १५ सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ। तर, लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२–८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्न पाएको छैन। स्थानीय सरकार सञ्चालन ऐनमै सभा तथा कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने र बैठकको अध्यक्षता गर्ने प्रावधान छ। तर, मेयरले बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेट आउने–नआउने समेत अन्योल देखिएपछि हामीले मेयरज्यूलाई घचघच्याएका हौँ।’
बालेन नेतृत्वको सीमा निर्धारण समितिको बैठकसमेत बस्न नसक्दा बजेट कस्तो र कत्रो ल्याउने भन्नेमा समेत अन्योलता सिर्जना भएको उनको भनाइ छ। बर्खायाममा हुने विपद्को जोखिम न्यूनीकरणको तयारी गर्न पनि नपाइएको उनले गुनासो गरे।
Shares

प्रतिक्रिया