अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको निलम्बन फुकुवा सशर्त फुकुवा गरेको छ।
दुबईमा सोमबार सम्पन्न आईसीसीको बोर्ड बैठकले सशर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। तर, आईसीसीले जारी गरेको विज्ञप्तिमा शर्तहरु भने खुलाएको छैन।
'यसै महिना निर्वाचित १७ सदस्यीय केन्द्रीय कार्यसमिति पश्चात नेपाललाई पुन: आईसीसी सदस्यको रूपमा स्वीकार गरेको छ,' आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आईसीसीले निष्पक्ष चुनाव नभएको र सरकारी हस्तक्षेपको कारण देखाउँदै २०७३ बैशाखमा नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो।
आइसीसीका अध्यक्ष सशांक मनोहरले विज्ञप्तिमा भनेका छन्, 'निलम्बन फुकुवाका लागि नेपालले गरेको प्रगतिका आधारमा एसोसियट राष्ट्रले पालना गर्नुपर्ने नियमहरु पालनामा प्रतिवद्धता जनाउनका निमित्त नेपालका लागि संक्रमणकालिन योजना विकसित गरिनेछ। जसमा फन्डको नियन्त्रण पनि सामेल हुनेछ।'
तर, आईसीसीको स्वतन्त्र कमिटिले काठमाडौंमा गत असोज १० र ११ गते साधारण सभा आयाेजना गरेपछि क्यान निलम्बन फुकुवाको बाटो खुलेको थियो। साधारण सभाले चतुरबहादुर चन्द नेतृत्वको नयाँ कार्यसमिति चयन भएको थियो।
क्यानको विवाद टाइमलाइन–
२०६८ पुस – माओवादी नेता टंक आङबुहाङको नेतृत्वमा क्यानको निर्वाचन
२०७२ पुस – टंक आङबुहाङको नेतृत्वको क्यानको कार्यकाल सकिदैँ।
२०७२ मंसिर– टंक आङबुहाङ पक्षले असन्तुष्टिका साथ मंसिर २९ गते भएको साधारण सभा बिथोल्ने प्रयास। मध्यराति सम्पन्न साधारण सभाबाट चतुरबहादुर चन्द अध्यक्ष, महासचिवमा अशोकनाथ प्याकुरेल चयन।
२०७२ पुस २४– राखेपले उक्त निर्वाचित क्यानलाई आफ्नो अनुमति नभएको भन्दै रमेशकुमार सिलवालको अध्यक्षमा तदर्थसमिति गठन।
२०७३ बैशाख १३ गते– सरकारी हस्तक्षेत्र र अनियमितताको आरोपमा आइसीसीद्धारा क्यानमाथि प्रतिबन्ध।
२०७३ कार्तिक– विवाद समाधान र नयाँ विधान बनाउँन विनयराज पाण्डेको अध्यक्षतामा सल्लाहकार समिति गठन। निर्वाचित क्यानको असन्तुष्टि। सल्लाहकार समितिमा असहभागिता।
२०७३ फागुन– निर्वाचित समुहका चतुरबहादुर चन्द र अशोकनाथ प्याकुरेल सल्लाहकार समितिमा सहभागी।
२०७४ भदौ ६ गते– सल्लाहकार समितिले बनाएको नयाँ विधान, काठमाडौंमा भएको क्यानको विशेष साधारण सभाले संशोधन सहित पारित। सोही विधान अनुरुप ३७ जिल्लामा निर्वाचन। तर, आइसीसीले साधारण सभाले गरेको संशोधन मानेन्।
२०७५ बैशाख ५ गतेः क्यानको विशेष साधारण सभाले सल्लाहकार समितिले बनाएको विधान हुबहु पारित।
२०७५ जेठ २४– पारित विधानअनुसार जिल्लामा चुनाव भए नभएको हेर्न र विधानअनुसार नभएको ठाउँमा पुनः चुनाव गर्न, संघ र केन्द्रको चुनावको जिम्मासहित अनुगमन समिति गठन। उक्त स्वतन्त्र समूहको सक्रियतामा जिल्ला र प्रादेशिक चुनाव गर्नुपर्ने।
२०७६ भदौं २१– जिल्लासँगै सम्पूर्ण प्रादेशिक चुनाव सम्पन्न।
२०७६ भदौं २५– केन्द्रीय निर्वाचन असोज ३-४ गते गरिने भन्दै स्वतन्त्र समितिद्वारा सार्वजनिक सुचना गरि। सोहीदिन नै स्वतन्त्र समितीका सदस्य राजेश्वर श्रेष्ठलाई बोलाउँदै सदस्य सचिव रमेश सिलवालले आफूहरुको स्वीकृति नलिइ सुचना जारी गरेको, २१ दिने सुचना दिनुपर्ने, निर्वाचन मण्डल आफूले पठाउने लगायतका शर्तहरु राखेपछि अन्योल श्रृजना।
२०७६ भदौं ३०– राखेप, आइसीसी प्रतिनिधि र स्वतन्त्र कमिटीबीच असोज १० र ११ गते चुनाव गर्ने समझदारी।
२०७६ असोज १०–११- क्यानको निर्वाचनबाट अध्यक्ष चतुरबहादुर चन्दको प्यानलै विजयी
२०७६ असोज २७– आइसीसीद्वारा शशर्त क्यानको निलम्बन फुकुवा। तर शर्तबाट नखुलाएको।

प्रतिक्रिया