सिंगामपुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज साँझ घरेलु टोली सिंगापुरसँग खेल्दैछ।
सिंगापुरस्थित इण्डियन एसोसिएसनको मैदानमा हुने उक्त खेलमा नेपालले जित हासिल गर्ने उद्देश्यका साथ सिंगापुरविरुद्ध मैदानमा उत्रदैछ। खेल नेपाली समयानुसार साँझ ५ः१५ बजे हुनेछ।
उक्त प्रतियोगिताको फाइनलमा पुग्नका लागि पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। यदि सिंंगापुरविरुद्धको अन्तिम खेलमा नेपाल पराजित भएमा जिम्बावे र सिंगापुर एकापसमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा प्रवेश गर्नेछन्।
त्यसकारण पनि आजको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ। यता, सिंगापुर नेपालसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ। उक्त सिरिजअन्तर्गत यसअघि सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिंगापुरलाई नौ विकेटले पराजित गरेको थियो। त्यसैगरी तेस्रो खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भयो।
त्यस्तै सिरिजको दोस्रो खेलमा सिंगापुरले जिम्बावेलाई पराजित गरेको थियो। नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ। यसअघि तीन खेल खेलेको नेपालको दुई अंक छ । त्यस्तै शीर्ष चार अंक जोडेको जिम्बावे शीर्ष स्थानमा छ। आयोजक सिंगापुर दुई खेलमा दुई अंक जोडेर तेस्रो स्थानमा छ। सिंगापुरले अन्तिम खेल भोलि जिम्बावेसँग खेल्नेछ। डबल राउन्ड रोबिनका आधारमा खेलाइएको उक्त सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ।
नेपाली टोली सिंगापुरबाटै सिधै ओमान जानेछ। ओमानमा यही असोज १८ देखि २३ गतेसम्म चल्ने टि ट्वान्टी सिरिजका लागि नेपाली टोली त्यसतर्फ जानेछन्। रासस
Shares

प्रतिक्रिया