राजनीति


राष्ट्रपति सी चढ्ने बोइङ विमान परीक्षण उडानका लागि काठमाडौंमा

राष्ट्रपति सी चढ्ने बोइङ विमान परीक्षण उडानका लागि काठमाडौंमा

नेपालखबर
असोज १५, २०७६ बुधबार ८:१८,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहानैदेखि सामान्यभन्दा अधिक सजगता देखिन्थ्यो।

आन्तरिक र अन्तर्राष्ट्रिय सेवा प्रदायकका प्रतिनिधिलाई विमानस्थल कर्मचारीले मौखिक निर्देशन नै दिएका थिए, ‘बुधबार दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म अत्यावश्यक बाहेक अन्य व्यक्तिहरुलाई भिजिटर पास नदिनू। भिडभाड हुने क्रियाकलाप सकेसम्म रोक्नू।’

विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल रुम, नेपाल प्रहरीसहित सम्पूर्ण सुरक्षा अंग अरु बेलाभन्दा विशेष सतर्क देखिन्थे।

बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कर्मचारीहरु समेत उच्च सतर्क अवस्थामा थिए।

दिउँसो १ः०८ बजे विमान बंगलादेश एयरलाइन्सको उडान नं. बीजी ७२ काठमाडौंबाट ढाकाका लागि उड्यो। त्यही बेला थिम्पुबाट आएको भुटान एयरलाइन्सको बी३७७१ उडान रौतहटको चुरे आकासमा आइपुगेको थियो। जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको तयारी गर्‍यो। काठमाडौंतर्फ लाग्न सिधै हेटौंडाको आकासतर्फ सोझियो। तर एयर ट्राफिक कन्ट्रोल रुमले सो जहाजलाई अवतरण अनुमति दिएन।

xi plane practice1त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा बोइङ ७४७। तस्विरः प्रविन कोइराला

‘भीभीआइपी जहाज आइरहेको छ। कृपया छोटो समय होल्ड गर्नुहोला’, एटीसीले भुटानी जहाजका पाइलटलाई निर्देशन दिए। अवतरण नपाएको जहाज चन्द्रनिगाहपुर तर्फ सोझियो।

त्यति नै बेला भारतको आकाश हुँदै एयर चाइनाको एउटा ठूलो जहाज नेपाल प्रवेश गर्‍यो। भुटानी जहाजलाई होल्डको निर्देशन दिँदा भीभीआइपी भनिएको सो जहाज गढीमाइको आकासमा थियो।

पहिलै बाटो क्लियर पारेका त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थस्थित एटीसीले त्यसलाई सिधै अवतरण अनुमति दिए। बेइजिङबाट ६ घन्टाभन्दा बढी उडेर आएको बोइङ ७४७–८९एल जहाज १ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो।

काठमाडौं–बेइजिङ सिधा उडान नभएको अवस्थामा यो जहाज किन काठमाडौं आइपुग्यो?

निश्चय नै चीनका राष्ट्रपति सी चिङफिङको आसन्न नेपाल भ्रमणका लागि जहाज अवतरण–उडान पूर्वअभ्यासका निम्ति अमेरिकामा निर्मित बोइङको सो ठूलो जहाज बुधबार दिउँसो काठमाडौं अवतरण भएको हो।

र, उच्च सुरक्षा अधिकारीहरूका अनुसार राष्ट्रपति सी यही जहाज वा यही श्रेणीको अर्को जहाजमा मध्य दशैँ, संभवतः २५ असोजमा आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा काठमाडौं अवतरण गर्नेछन्।

सन् २०१५ को मार्च २६ तारिखका दिन पहिलो उडान गरेको यो जहाज साढे ४ वर्ष पुरानो हो। काठमाडौंमा अवतरण गर्नुअघि यो जहाजले २८ हजार २५ फिट माथिबाट उडान गरेको रेकर्डबाट देखिन्छ।

xi plane practice2त्रिभुवन अन्तरार्ष्टिय विमानस्थलमा चिनियाँ राष्ट्रपतिको उडान सुरक्षासम्बन्धी अभ्यास २ घन्टासम्म चलेको छ। तस्विरः प्रविन कोइराला

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्रोतका अनुसार यो जहाज दिउँसो ३ः३० बजेसम्म विमानस्थलमै रहेको थियो। त्यसपछि बेइजिङ फर्किएको छ। काठमाडौंमा रहँदा सी भ्रमणको उडान तथा सुरक्षासम्बन्धी पूर्वअभ्यास गरिएको विमानस्थल स्रोतले नेपालखबरलाई बतायो।

‘चीनका राष्ट्रपति सी चिङफिङको भ्रमणका क्रममा उडान तथा सुरक्षासम्बन्धी पूर्व अभ्यासका लागि जहाज काठमाडौं आएको हो। करिब २ घन्टा उडान तथा अवतरण एवं सुरक्षाबारे पूर्व अभ्यास गर्दैछौं’, विमानस्थल उच्च स्रोतले नेपालखबरसँग भन्यो, ‘आजको अभ्यासका आधारमा चिनियाँ राष्ट्रपति सवार जहाजको उडान अवतरणको बन्दोबस्त हुनेछ।’

नागरिक उड्डयन स्रोतका अनुसार राष्ट्रपति सी बोइङ ७४७ को ८०० सेरिजको जहाजमा काठमाडौं आउने तय भएको छ। यो भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आज वतरण भएकै जहाज पनि हुनसक्ने स्रोतहरूको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad