एसीसी महिला यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भएको छ।
यूएईले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले पाँच बलमा दुई विकेट गुमाएर ६ रन बनायो। सोनी पाख्रिन र अनु कडायतले समान दुई रन बनाउँदै पेभेलियन फर्के।
सात रनको लक्ष्य यूएईले तीन बलमा भेट्टायो। बलिङमा रिया शर्मा आएकी थिइन्। रियाको पहिलो बलमा कप्तान समैरा धनीधार्काले चौका, दोस्रो बलमा दुई र तेस्रो बलमा एक रन बनाउँदै नेपाललाई पराजित गरिन्।
त्यसअघि १०१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३.२ ओभरमा पाँच विकेटको क्षतिमा ५० रन मात्र बनाएको थियो। अनु कठायतले सर्वाधिक २० रन थपिन्। सना प्रविनले र अलिषाकुमारी यादवले समान १७ रन बनाए।
यसअघि मलेसियाको वायुमास ओभल स्टेडियममा टस जितेर ब्याटिङ गरेको यूएई १९.५ ओभरमा एक सय रनमा अलआउट भयो। मेहुल प्रनभ कुलकर्नीले सर्वाधिक ३० रन बनाइन्। लाभान्या केनीले २५ रन र नेहा कुमारीले १९ रन बनाइन्।
नेपालका लागि रिया शर्मा, अनु कठायतले समान तीन विकेट लिए। तृषना विश्वकर्माले दुई र मनिषा उपाध्यायले एक विकेट लिए।
सेमिफाइनलमा पराजित भए पनि नेपालीले यू-१९ एसिया कपमा स्थान बनाइसकेको छ। प्रतियोगितामा नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको थियो। क्वार्टरफाइनलमा जापानलाई नौ विकेटले हराएपछि नेपालले यू-१९ एसिया कपमा स्थान बनाइसकेको थियो।

प्रतिक्रिया