ad ad

खेल


नेपालका नविनको सानदार प्रदर्शन

नेपालका नविनको सानदार प्रदर्शन

नेपालखबर
असोज ९, २०७६ बिहिबार १६:७,

नेपालका नविन श्रेष्ठले काठमाडौंमा जारी अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा सानदार प्रदर्शन गरेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहिबार भएको पुरुष एकलतर्फको खेलमा नविनले प्रतियोगिताकै शीर्ष वरीयताका अष्टे«लियन खेलाडी डानियल फानलाई २१–१५, १८–२१, २१–१६ को सेटमा हराए।

जितसँगै नविन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीमा रहेका नविन नेपालका सातौं वरीयताका खेलाडी हुन्। नविनले डानियललाई हराउन सक्नु आफ्ना लागि ठूलो उपलिब्ध भएको बताए। ‘पहिले सेट राम्रो भएको थियो। दोस्रो सेट बिगारें। सटल फास्ट भएकोले नेटमा बढी लाग्यो। तेस्रो सेटमा सुधार भयो। डानियलले कमजोर सर्भिस गर्दा मैले फाइदा उठाएँ, २३ बर्षीय नविनले भने।

भोजपुरका नविन विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी हुन्। क्वार्टरफाइनलमा उनको भिडन्त नेपालकै युवा स्टार प्रिन्स दाहालसँग हुनेछ। बिहिबारनै भएको खेलमा प्रिन्सले मलेसियाका मलेसियाका दातु मोहद शाह इजलान सारदिकलाई १५–२१, २१–१७, २१–१३ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्।

पुरुष एकलकै अर्को खेलमा नेपालका दिपेश धामीले नेपालकै विकाश श्रेष्ठलाई २१–१५, २१–१३ र रत्नजित तामाङले विष्णु कटुवाललाई २१–७, २१–१२ को सेटमा हराएर क्वार्टरफाइनलमा पुगे।

अन्य खेलमा भारतका स्वर्णराज बोराले मलेसियाका चुआन झे ताइलाई २१–१७, २१–२०, मलेसियाका सेङ जोय योहले नेपालका अरिनताप दास गुप्ताले १४–२१, २३–२१, २१–१३, बंगलादेशका मोहमद सलमान खानले भारतका तरुण रेडीलाई १६ –२१, २१–१५, २१–१४ र भारतका कात्तिकेय सुल्सान कुमारले नेपालका देवराज रानालाई २१–९, २१–३ ले हराउँदै क्वार्टरफाइनलमा पुगेका छन्। महिला एकल सिमा र सिता क्वार्टरफाइनलमा काठमाडौं नेपालकी सिमा राजवंशी र सिता अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

राखेप कभर्डहलमा बिहिबार भएको खेलमा सिमाले नेपालकै सुनयना मुखियालाई २१–१७, २१–१७ र सिताले नेपालकी लोकतमा राईलाई २१–१६, २१–१७ ले पाखा लगाए सोही स्पर्धाका अन्य खेलमा चिया सिगेयामाले भारतकै दिपाली गुप्तालाई २१–१०, २१–११, चाइनेज ताईपेईकी यु चेईहले भारतकी कनईका कनवाललाई २१–१९, २१–१२, भारतकी गायत्री गोपीचन्द पुलेलाले इन्डोनेसियाकी रिरिन अमेलियालाई २१–१०, २१–८, भारतकी सामिया इमाद फारोक्वीले नेपालकी नङ्शल तामाङलाई २१–५, २१–१३ तथा जापानकी युरी नाकामुराले भारतकी इरा शर्मालाई २१–९, २१–१६ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

पुरुष डबल्स: विकास र विजितको जोडी विजयी नेपालका विकास श्रेष्ठ र विजित थापामगरको जोडीले अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन अन्तर्गत पुरुष डबल्सतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। राखेप कभर्डहल कोर्टमा बिहिबार भएको खेलमा विकास र विजितको जोडीले नेपालकै निरन्जन देवकोटा र पूर्ण बहादुर थापाको जोडीलाई २१–१६, २१–१३ को सेटमा हराए। सोही स्पर्धाको अर्को खेलमा नेपालका प्रिन्स दाहाल र नविन श्रेष्ठको जोडीले नेपालकै जीवन आचार्य र दिपक बोहोराको जोडीलाई २१–१५, २१–१८, भारताका प्रतिक रनाडे र अक्सन सेट्टीको जोडीले नेपालका प्रियान्सु सिंह क्षेत्री र पेम्बा शेर्पाको जोडीलाई २१–८, २१–९ तथा भारतका रोहन कपुर र सौरभ शर्माको जोडीले नेपालका सुनिल जोशी र सुदिप सेढाईको जोडीलाई २१–५, २१–११ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए।

अन्य खेलमा नेपालका दिपेश धामी र रत्नजीत तामाङको जोडीले नेपालकै सुरोज मर्हजन र साजनकृष्ण ताम्राकारको जोडीलाई २१–१३, २१–१७, नेपालका इरफान अन्सारी र रियाज अन्सारीको जोडीले भारतका विकरान्त चवाट र जिज्ञासु पन्तको जोडीलाई २१–१९, १७–२१, २१–१२ तथा मलेसियाका इजात फरहान अजहर र जचारी चियोङ सेन सिअको जोडीले नेपालका सुजन श्रेष्ठ र बिलाल वारिसको जोडीलाई २१–११, २१–१३ तथा भारतका हिमान्सु मित्तल र सुभम् शर्माको जोडीले नेपालका प्रफुल्ल मर्हजन रुकेश मर्हजनको जोडीलाई २६– २८, २१–१७, २१–१७ को सेटमा हराउँदै क्वार्टरफाइनलमा पुगेका छन्।

मिक्स डबल्स: दिपेश र सोभाको जोडी क्वार्टरफाइनलमा नेपालका दिपेश धामी र सोभा गौचनको जोडी अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन अन्तर्गत मिक्स डबल्सतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। राखेप कभर्डहल कोर्टमा बिहिबार भएको खेलमा दिपेश र सोभाको जोडीले नेपालकै सरोज मर्हजन र अमिता गिरीको जोडाीलाई २१–१५, २१–१९ ले हराए ।

सोही स्पर्धाको अन्य खेलमा नेपालका नविन श्रेष्ठ र अनुमाया राईको जोडीले नेपालकै दिपक बोहोरा र जेसिका गुरुङको जोडीलाई २१–५, २१–८, भारतका किरतेस धिन्दवाल र अनुभा कौशिकको जोडीले नेपालका इरफान अन्सारी र सिमा राजवंशीको जोडीलाई २२–२०, १९–२१, २१–१२, नेपालका रत्नजीत तामाङ र नङ्शल तामाङको जोडीले नेपालकै विकास श्रेष्ठ र सिता राईको जोडीलाई २२–२०, २१–१५, थाईल्यान्डका बोरनवाटानोउङ फुथाप्रान र इन्डोनेसियाकी रिरिन अमेलियाको जोडीले नेपालका विजित थापामगर र पुजा श्रेष्ठको जोडीलाई २१–१०, २१–१२ तथा नेपालका गौतम कठायत र सम्झना शर्माको जोडीले नेपालकै विष्णु कटुवाल र सुनयना मुखियाको जोडीलाई २१–१८, २१–१७ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा प्रवेश गरे ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .