खेल


विनोद दासलाई १७ वर्षअघिको सफलता फर्काउने चुनौती

विनोद दासलाई १७ वर्षअघिको सफलता फर्काउने चुनौती

यज्ञराज जोशी
भदौ २१, २०७६ शनिबार १२:३५,

२००२ फेब्रुअरीमा भएको आइसीसी यू–१९ विश्वकपको प्लेट च्याम्पियनसिपमा नेपालले अन्तिम पटक बंगलादेशलाई यू–१९ स्तरमा हराएको थियो। त्यसयता १७ वर्ष बित्यो, नेपालले बंगलादेशलाई हराउन नसकेको।

त्यसबेला नेपालले बनाएको १ सय ८० रन पछ्याएको बंगलादेश १ सय ५७ रनमै रोकिएको थियो। बरदान चालिसले ४ र विनोद दासले २ विकेटसहित कसिलो बलिङ गरेपछि नेपाल लक्ष्य रक्षा गर्न सफल भएको हो।

बंगलादेशविरुद्ध एकमात्रै जित दिलाउने त्यो टोलीका कप्तान थिए, विनोद दास। तिनै दास अहिले प्रशिक्षकका रुपमा यू–१९ टोली सम्हाल्छन्। आइतबार नेपालले यू–१९ एसिया कपमा बंगलादेशको सामना गर्दा दासलाई १७ वर्षअघि कप्तान हुँदा दिलाएको सफलता फर्काउने चुनौती हुनेछ।

binod dass main१७ वर्षअघि यू-१९ मा बंगलादेशलाई हराउँदा विनोद दास नेपाली टोलीका कप्तान थिए

पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग शुक्रबार ५ विकेटले पराजित भएको थियो। त्यस हारसँगै सेमिफाइनलमा पुग्न नेपाललाई बंगलादेशविरुद्धको खेल जित्नैपर्ने दबाब बनेको छ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपाल रहेको समूह बीमा बंगलादेश २ अंकका साथ शीर्षमा र त्यति नै अंक भएपनि रनरेटमा पछि पर्दै श्रीलंका दोस्रो स्थानमा छ।

अंकविहिन नेपाल तेस्रो र यूएई चौथो स्थानमा छन्। आइतबार नेपालले बंगलादेशलाई पराजित गर्न सकेमात्रै सेमिफाइनलको आशा बाँकी रहन्छ। पराजित भएमा भने सेमिफाइनलको ढोका लगभग बन्दमात्रै हुँदैन नेपाल समूह चरणबाटै फर्कनुपर्ने स्थिति बन्नेछ।

अन्तिम पटक नेपाल २०१७ मा मलेसियामा भएको एसिसी यू–१९ एसिया कपको समूह चरणमा नै बंगलादेशसँग भिडेको थियो। त्यसबेला बंगलादेशले अन्तिम बल बाँकी रहँदा नेपालले दिएको लक्ष्य भेटाएको थियो।

वर्षाले खेल प्रभावित बनेपछि ४०.१ ओभरमा बंगलादेशले १६८ रनको लक्ष्य पाएको थियो। ७ विकेट गुमाइसकेको बंगलादेशलाई अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक थियो।

यो पनि- कमलसिंह ऐरीः पश्चिमबाट उदाएका अर्का स्टार

Image may contain: 1 person, playing a sport and outdoorकमलसिंह ऐरी

अन्तिम ओभरमा नेपाली कप्तान दीपेन्द्रसिंह ऐरीले बल कमलसिंह ऐरीको हातमा थमाए। कमलले पहिलो बलमै २२ रनमा खेलिरहेका माहिदुल इस्लाम अन्कोनलाई बोल्ड गर्दै नेपालको जितको आशा बढाए। तर, लगत्तै क्रिजमा आएका नयम हसनले पहिलो बलमै चौका हिर्काए। चौथो बलमा क्रिजमा रहेका अर्का खेलाडी अन्कोन रुबुइल हकले पनि चौका प्रहार गरेपछि अन्तिम बल बाँकी छँदै बंगलादेशले नेपाललाई जित नजिक पुगेपनि निराश बनाएको थियो।

उमेर हदका कारण यसपटक अन्तिम पटक खेलिरहेका कमल भन्छन्, ‘मैले त्यो दश रन रोक्न सक्छु भन्ने लागेको थिए। तर, रोक्न नसक्दा हामी बंगलादेशविरुद्ध जित नजिक पुगेर पनि हार्नुपर्‍यो। त्यो मेरो करिअरकै नमिठो क्षणमध्येको एक हो।’

हेड टू हेड
नेपाल र बंगलादेश अहिलेसम्म यू–१९ स्तरमा पाँच पटक भिडेका छन्। २००२ को विश्वकप बाहेक हरेक पटक नेपाल बंगलादेशसँग पराजित भएको छ।

नेपालले पहिलो पटक १९९७ मा भएको युथ एसिया कपमा बंगलादेशसँग खेलेको थियो। उक्त खेलमा बंगलादेश ९ विकेटले विजयी रह्यो। यस्तै १९९९ मा भएको सोही प्रतियोगिताको अर्को संस्करणमा नेपाल ६ विकेटले पराजित भयो।

२००२ मा भएको आइसीसी यू–१९ विश्वकपको प्लेट च्याम्पियनसिपमा बंगलादेशलाई हराएको नेपाल २०१५ मा भएको यू–१९ विश्वकपमा भने ६ विकेटले पराजित भयो।

अन्तिम पटक बंगलादेशसँग नेपाल २०१७ मा भिडेको थियो। त्यसका कप्तान थिए दीपेन्द्रसिंह ऐरी

अन्तिम पटक नेपालले २०१७ मा मलेसियामा भएको एसिसी यू–१९ एसिया कपको समूह चरणमा बंगलादेशको सामना गरेको थियो। त्यस खेलमा जित नजिक पुगेपनि नेपाल २ विकेटले पराजित भयो।

बंगलादेशको बलियो तयारी
एसिसी यू–१९ प्रतियोगिता खेल्नुअघि बंगलादेशले अघिल्लो महिनामात्रै इंग्ल्याण्ड र भारतसँग त्रिकोणात्मक एकदिवसीय शृंखला खेलेको थियो । ८–८ खेलको शृंखलामा ११ अंकका साथ भारत र इंग्ल्याण्डलाई पछि पार्दै बंगलादेश च्याम्पियन रह्यो। इंग्ल्याण्ड लाई ३ खेलमा पराजित गरेको बंगलादेशले भारतलाई २ खेलमा पराजित पारेको थियो। इंग्ल्याण्डविरुद्धको एक खेल भने बराबरीमा सकिएको थियो।

एसिया कपका लागि नेपालको तयारी भने निकै फितलो रह्यो। सुरुमा नेपालले एकमहिनाको तयारी गर्ने योजना बनाएपनि एसीसीले स्वीकृती दिएन। ढिलो गरिमात्रै एसिसीले स्वीकृति दिदा नेपालले घरेलु मैदानमा १० दिन र श्रीलंकामा गई ३ वटा स्थानीय क्लबहरुसँग खेलेको थियो। क्लबसँग पनि २ खेलमा पराजित नेपालले १ खेलमा जित हात पार्दै एसिया कप खेल्न पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .