खेल


कमलसिंह ऐरीः पश्चिमबाट उदाएका अर्का स्टार

कमलसिंह ऐरीः पश्चिमबाट उदाएका अर्का स्टार

यज्ञराज जोशी
भदौ २१, २०७६ शनिबार ८:३७,

नेपाली क्रिकेटमा सुदूरपश्चिमका खेलाडीहरुको योगदान विशेष छ। एक समय राष्ट्रिय टोलीका अधिकांश खेलाडी सुदूरका हुन्थे। विनोद भण्डारी, नरेश बुढाऐर, धीरेन्द्र चन्द, चन्द्र सावद, भुवन कार्की, दीलिप नाथ, राजु रिजाल, सुनिल धमला, ललितसिंह भण्डारी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा लगायत सुदूरका खेलाडीले राष्ट्रिय टोलीबाट खेलिसके।

उमेर समूहको टोलीमा पनि सुदूरका खेलाडीको प्रभावशाली रहँदै आएका छन्। भुवन कार्की, राजु रिजाल, दीपेन्द्रसिंह ऐरीले यू–१९ टोलीको कप्तानी नै गरिसके। यस्तै श्रीलंकामा जारी यू–१९ एसिया कप खेलिरहेको नेपाली यू–१९ टोलीमा अहिले पनि ४ जना खेलाडीहरु सुदूरका छन्, भीम सार्की, सन्दीप जोरा, खडकबहादुर बोहरा र कमलसिंह ऐरी।

तीन वर्ष उमेर समूहको प्रतियोगिता खेलिसकेपछि कमलसिंह ऐरी यसपटक अन्तिम पटक यू–१९ टोलीको जर्सीमा देखिदैँछन्। उमेर हदका कारण उनी यू–१९ टोलीबाट रिटायर्ड हुन लागेका हुन्। कमल १९ वर्ष नाघ्न तीन महिना बाँकी छ। त्यसबीचमा नेपालको कुनै अन्तर्राष्ट्रिय खेल नभएकाले यो नै उनको अन्तिम यू–१९ खेल हुनेछ।

kamal3कमलले डब्यू खेलको पहिलो बलमै विकेट लिएका थिए। तस्बिर: रमन शिवाकोटी

सुुदूरका अधिकांश खेलाडीहरुले यू–१९ मा राम्रो प्रदर्शन गरेर नै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। त्यसैको पछिल्लो उदाहरण हुन्, दीपेन्द्रसिंह ऐरी। यू–१९ को उनको प्रभावशाली प्रदर्शनले नै उनलाई नेपाली सिनियर टिमको नियमित सदस्य बनाएको थियो। अहिले कमल पनि त्यही बाटोमा छन्। यू–१९ को तीनवर्षे यात्रामा प्रभावशाली प्रदर्शन गरेका यी मध्यम तीव्रगतिका बलरलाई आगामी दिनमा सुदूरको बिँडो धान्ने खेलाडीका रुपमा हेरिएको छ।

महेन्द्रनगरमा आफूभन्दा ठूला खेलाडीहरुले खेलेको सुन्दै, हेर्दे त्यसैमा रमाइलो मान्दै कमल क्रिकेटतर्फ आकर्षित भए। सुदूरका तीनै स्टारहरुले उनलाई महेन्द्रनगरको खुलामञ्चदेखि कीर्तिपुरसम्म डोर्याउन मेन्टरको भूमिका निर्वाह गरे।

‘मैले क्रिकेट रोज्नु पछाडिको कारण उहाँहरु नै हो। उहाँहरुकै सपोर्ट र मोटिभेसनले यहाँसम्म आइपुगे,’ अहिले यू–१९ एसिया कपमा व्यस्त कमलले नेपालखबरसँग कुरा गर्दै भने, ‘सुदूरबाट धेरै जनाले खेलिसक्नु भयो। अहिले पनि खेल्दै हुनुहून्छ। आफ्नो खेलका कारण आफ्नो क्षेत्र चिनाउन पाउँदा जसलाई पनि खुशी लाग्छ। मेरो पनि सिनियर टिमबाट खेल्ने सपना छ। एकदिन त्यो सपना पूरा गर्दै देश अनि सुुदूरको प्रतिनिधित्व गर्ने सोचेको छु।’

डेब्यू खेल: पहिलो बलमै विकेट

graphics2 copy kamalकमलको यू-१९ करिअर। जारी यू-१९ एसिया कप समावेश गरिएको छैन्।

यू–१९ राष्ट्रिय टोलीको डेब्यू देखि नै कमल प्रभावशाली रहे। घरेलु प्रतियोगिताहरुमा नियमित राम्रो गर्दै गएपछि उनी २०१६ मा श्रीलंकामा भएको यू–१९ एसिया कपका लागि पहिलो पटक टोलीमा छानिएका थिए।

डिसेम्बर १५ को दिन कमललाई अहिले पनि याद छ। नेपालको पहिलो खेल आयोजक श्रीलंकासँग थियो। त्यसअघि नेपालले श्रीलंकासँग यू–१९ स्तरमा ३ पटक स्पर्धा गरेपनि कहिलै जित निकाल्न सकेको थिएन। कमलको डेब्यू खेलमा नेपाल जितको मुखैमा पुगेर पनि निराश बन्यो।

टेस्ट राष्ट्र श्रीलंकाविरुद्ध ऐतिहासिक जितका लागि नेपाललाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो। क्रिजमा रहेका दीपेन्द्रसिंह ऐरीले दोस्रो बलमा छक्का प्रहार गरे पनि नेपाललाई अन्तिम ४ बलमा २ रन आवश्यक भयो। दीपेन्द्र ९० रन बनाएर खेलिरहेकाले ४ बलमा नेपालले सहजै २ रन बनाउने आशा गरिएको थियो। प्लेयर डगआउटमा सबै खेलाडीहरु जितको सेलिब्रेसन गर्न तम्तयार थिए। तर, क्रिकेटमा केही भन्न सकिँदैन भनेजस्तै भयो। तेस्रो बलमा दीपेन्द्र एलबीडब्लुको सिकार भए। दुर्भाग्य नेपाल एक रनले पराजित भयो। दीपेन्द्र मैदानमै भाव विह्वल बने। ड्रेसिङ रुपको अवस्था पनि उस्तै थियो।

तर, त्यही खेलमा डेब्यू गरेका कमलका लागि भने पहिलो अन्तर्राष्ट्रिय खेल हर्ष र विभोर दुवैको समिश्रण रह्यो। डेब्यू खेलमा पहिलो ओभर बलिङ पाएका उनले पहिलो बलमै विकेट लिएका थिए। यस्तो सफलता धेरै कम खेलाडीले मात्रै पाउने गर्छन्। समग्रमा ८ ओभरमा ४३ रन दिएर ३ विकेट लिएका कमल जति खुशी थिए अन्त्यमा एक रनको नमिठो हार ब्यहोर्नुपर्दा भने त्यति नै दुःखी भए।

यू–१९ करिअरमा डेब्यूसँगै कमलको अर्को स्मरणीय क्षण भारतलाई हराउँदाको हो। २०१७ मा मलेसियाको वायुमास ओभलमा नेपाली यू–१९ टोलीले भारतमाथि ऐतिहासिक जित हात पारेको थियो। कुनै पनि स्तरको क्रिकेटमा भारतलाई नेपालले पराजित गरेको त्यो नै पहिलो पटक थियो। त्यस खेलमा ८ ओभर कसिलो बलिङ गर्दै कमलले १ ओभर मेडन राखेर २८ रनमात्रै खर्चेर १ विकेट लिएका थिए। उनको इकोनोमी ३.५० को थियो। कमलले तत्कालिन भारतीय टोलीका कप्तान हिमान्शु राणालाई नै बोल्ड पारेका थिए। 

nepal winभारतविरुद्ध ऐतिहासिक जित हात पार्दा कमलले ८ ओभर कसिलो बलिङ गर्दै २८ रनमात्रै खर्चेर १ विकेट लिएका थिए

यू–१९ करिअरमा कमल केही दुःखदायी क्षणको पनि साक्षी बने। २०१७ मा मलेसियामा भएको यू–१९ एसिया कपमा नेपालको पहिलो प्रतिद्वन्द्वी थियो, बंगलादेश। बंगलादेशलाई अन्तिम ओभरमा जितका लागि १० रन चाहिएको थियो। अन्तिम ओभरमा १० रन रोक्ने जिम्मा पाएका थिए, कमलले। उनलाई रोक्न सक्छु पनि लागेको थियो। तर, गर या मरको स्थितिमा रहेको बंगलादेशी खेलाडीका अघि कमलको केही चलेन। अन्तिम बल बाँकी रहँदै बंगलादेशले १० रन पूरा गर्दै २ विकेटले खेल जित्यो।

कमल एन्ड कम्पनीले सबैभन्दा पीडादायी क्षण त यसै वर्षको अप्रिलमा भोगे। जब दाबेदार हुँदाहुँदै पनि नेपाल वर्षाका कारण यूएईसँग डकवर्थ लोविस(डिएल) पद्धतीका आधारमा पराजित हुँदै आईसीसी यू–१९ विश्वकपमा छनौट हुन सकेन्। त्यो नेपाल दोस्रो पटक लगातार यू–१९ विश्वकपमा छनोट हुन नसकेको क्षण पनि थियो।

‘यू–१९ करिअर मेरा लागि धेरैकुरा सिक्ने अवसर रह्यो। उतारचढावपूर्ण यात्रा रह्यो। खेल खेलेपछि हार–जित त स्वीकार्नै पर्छ,’ कमल भन्छन्, ‘फरक कन्डिसनहरुमा खेल्ने मौका मिल्यो। केही इञ्जुरीका कारणले प्रतियोगिताहरु पनि गुमाए। यहाँ सिकेका र अनुभव गरेका कुराहरुले नै अगाडिको क्रिकेटमा थप मद्दत पुग्ने विश्वास लिएको छु।’

समय आएपछि राष्ट्रिय टोलीमा

अन्तिम पटक यू–१९ प्रतियोगिता खेलिरहेका कमल यसपटक सक्दो राम्रो गर्दै टोलीबाट विदा हुने सोचमा छन्। ‘जहिले पनि टिमका लागि राम्रो गरौं भन्ने हुन्छ। आफ्नो प्रदर्शनले टिमलाई जिताउन सकियोस् भन्ने हुन्छ,’ कमल भन्छन्, ‘यसपाली पनि राम्रो प्रदर्शन गरेर टिमलाई जिताउने सोचेको छु। आशा छ मेरो प्रदर्शनले टिम सेमिफाइनलसम्मको यात्रा पूरा गर्नेछ।’ 

kamal 4कमल नेपाली क्रिकेटका आशलाग्दा भविष्य हुन्

क्रिकेटमा लागि सकेपछि हरेक खेलाडीको राष्ट्रिय टोलीबाट खेल्ने लक्ष्य हुन्छ। तर, अहिले राष्ट्रिय टोलीमा चर्को प्रतिस्पर्धा छ। सिनियर टिमबाट नियमित खेलिरहेका तीव्रगतिका बलरहरु सोमपाल कामी, करण केसीपछि जितेन्द्र मुखिया, विक्रम सोब, ललितसिंह भण्डारी पालो पर्खिएर बसेका छन्। यहीबीच सिनियर टोलीमा स्थान बनाउन फलामको चिउरा चपाउनुजस्तै गाह्रो भएको उनले पनि बुझेका छन्।

‘सिनियर टिममा पर्ने सधैँको सपना हो। तर सजिलो छैन्, अहिलेको अवस्थामा धेरै मेहनत गर्नुपर्ने देखेको छु,’ उनी भन्छन्, ‘राष्ट्रिय टिममा पर्नलाई आफ्नो तर्फबाट गर्नुपर्ने मेहनत नियमित गर्दै जान्छु। भनिन्छ नि हरेक कुरा सही समयमा आउँछ। म पनि त्यही समयको पर्खाइमा छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .