ad ad

खेल


एसिया कप: स्तरभन्दा माथिल्लो प्रदर्शनको आशा

एसिया कप: स्तरभन्दा माथिल्लो प्रदर्शनको आशा

यज्ञराज जोशी
भदौ ८, २०७६ आइतबार १०:४६,

भारत, पाकिस्तान, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश र जिम्बाबे। यी टेस्ट खेल्ने विश्व क्रिकेटका बलिया टिमहरु हुन्। यी टिमहरुलाई हराउँदै नेपालले यू–१९ क्रिकेटमा बेलाबेला सनसनी मच्चाउँदै आएको छ।

यू–१९ स्तरमा नेपालको सिकार हुने पछिल्लो टेस्ट राष्ट्र हो, भारत। सन् २०१७ मा मलेसियामा भएको एसिसी यू–१९ एसिया कपमा नेपालले राहुल दब्रिडको प्रशिक्षकत्वमा रहेको भारतीय युवा टोलीमाथि १९ रनको जित हात पार्दै सनसनी मच्चाएको थियो।

भारतमाथि कुनैपनि स्तरको क्रिकेटमाथि नेपालले हात पारेको त्यो नै पहिलो जित थियो। सोही एसिया कपमा नेपालले पहिलो पटक सेमिफाइनलसम्मको यात्रा समेत तय गर्‍यो।

छिमेकी राष्ट्र तथा विश्व क्रिकेटको पावर हाउस भारतमाथि ऐतिहासिक जितको दुई वर्ष पछि पुनः नेपाल टेस्ट राष्ट्रलाई सप्राइज दिने उद्देश्यसहित एसिया कपमा सहभागिताका लागि शनिबार श्रीलंका प्रस्थान गरिसकेको छ।

u 19 team bidaiश्रीलंका प्रस्थान गर्नुअघि  नेपाली युवा टोली। भदौ १९ गतेबाट श्रीलंकामा सुरु हुने प्रतियोगितामा यसपटक टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तानसँगै दुई एसोसियट राष्ट्रहरु नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन्।

समूह ‘बी’ मा रहेको नेपालले समूह चरणमा टेस्ट राष्ट्रहरु श्रीलंका र बंगलादेशको र अन्तिम खेलमा यूएईको सामना गर्दैछ।

टेस्ट राष्ट्रलाई पराजित गर्दै कम्तिमा सेमिफाइनल पुग्ने लक्ष्य लिएको नेपाली टोलीको तयारी अपर्याप्त छ।

नेपालले श्रीलंकामा प्रतियोगिताअघि अघि ३ वटा अभ्यास खेल खेलेको थियो। दुईमा पराजित र एकमा जित हात पार्‍यो। त्यही  अभ्यास नै नेपालको तयारीको ठूलो हिस्सा भएको नेपाली टोलीका प्रशिक्षक विनोद दास बताउँछन्।

‘हाम्रो तयारीको ठूलो हिस्सा श्रीलंका भ्रमण नै हो,’ प्रशिक्षक दासले भने, ‘राम्रा क्लबहरुसँग अभ्यास खेल खेलेका छौं। आशा छ, उनीहरुसँग लिएको अनुभवले हामीलाई एसिया कपमा फाइदा पुग्नेछ। मध्यक्रम, माथिल्लाक्रम, साझेदारी र खेलाडीलाई दिएको भुमिकामा सुधार ल्याउन श्रीलंकाको दश दिने तयारी महत्वपूर्ण हुनेछ।’

अपर्याप्त तयारी

nepali team u 199त्रिवि मैदानमा पलाएको लामो घाँस काटेपछि नेपाली युवा क्रिकेट टोली अभ्यासमा । तस्विर: प्रविन कोइराला

नेपालले गत साउन  १६ गतेदेखि झण्डै एकमहिना नेपालमा तयारी गर्दै भारतमा अन्तिम तयारी गर्ने योजना बनाएको थियो। तर, नेपाल क्रिकेट संघ(क्यान) निलम्बनमा परेका बेला नेपाली क्रिकेट हेरिरहेको एसिसीले नेपालको उक्त खाकामा कुनै जवाफ दिएन। त्यस कारण नेपालले सोचेको समयमा तयारी सुरु गर्न सकेन।

अर्कोतर्फ त्रिवि मैदानको बेहाल र वर्षाका कारणले पनि नेपालले आन्तरिक तयारी सुरु गर्न पाएन। मिडियामा चर्को आलोचनापछि राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले त्रिवि मैदानको घाँस काटेपछि एसीसीको स्वीकृती नआए पनि साउन २३ बाट नेपाली युवा टोलीले फिटनेश लगायतका आन्तरिक तयारी सुरु गर्‍यो।

आन्तरिक तयारीको चार दिनपछि मात्रै बन्द प्रशिक्षणका लागि एसीसीको औपचारिक पत्र आयो। जसअनुरुप साउन २७ बाट बल्ल नेपालको तयारी सुरु गर्न पायो। जसका कारण प्रशिक्षक विनोद दासले ३० दिनका लागि सोचेको अभ्यासलाई १० दिनमा छोट्टाएर तयारी गर्नुपर्ने बाध्यता बनेको बताए।

tu 2 1त्रिवि मैदानमा घाँस नकाट्दा यू-१९ टोलीको प्रशिक्षण प्रभावित भएको थियो

‘हामीले पहिलो फेजमा तयारीका लागि अलि लामो समय मागेका थियौं। हरेक कुरामा आइसीसी र एसीसीमा भरपर्नुपर्ने भएकाले त्यति तयारी गर्ने समय पाएनौं,’ दासले बाध्यता पोख्दै भने, ‘हामीले पाएको समयमा ३० दिन गर्ने सोचेको काम १० दिनमा छोट्टाएर गरेका छौं। यसबीच अभ्यास खेलहरु खेल्यौं। खेलाडीहरुको क्षमता विकासका लागि तीव्रगतिको बलर सामना गर्न प्लास्टिक बल तथा बलिङ मेसिङको प्रयोग गरौं। स्पिनरको सामना गर्न थ्रो डाउन्स गरौं। कम दिनमा सक्दो प्रयास गरेका छौं। त्यो कत्तिको प्रभावशाली भयो भन्ने नतिजाले देखाउला।’

नेपालले एसिया कपको तयारीका लागि एसीसीसँग सुरुमा भारतमा प्रशिक्षणका लागि आग्रह गरेको थियो। एसीसीले त्यो प्रस्तावलाई अस्विकार गरेपछि श्रीलंकामा नै पाकिस्तान र अफगानिस्तानसँग अभ्यास खेल मिलाइदिन समेत अनुरोध गर्‍यो। तर एसीसीले सो आग्रहलाई पनि सम्भव नभएको भनेपछि नेपालले श्रीलंकामा अन्तिम तयारीका लागि स्थानीय क्लबहरुसँग खेल्न लागेको हो।

binod dasप्रशिक्षक विनोद दास नेपाल कम्तिमा सेमिफाइनलसम्म पुग्नेमा विश्वस्त छन्। तस्बिर: रमन सिवाकोटी

श्रीलंकामा नेपालले खेलेको पहिलो अभ्यास खेल कोलोम्बोको सिंहहल्सेस स्पोर्टस क्लबको यू २३ टोलीसँग हो। जसमा नेपाल पराजित भएको थियो।  १८९९ मा स्थापना भएको उक्त क्लबबाट नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक रोय डायस, श्रीलंकन लेजेन्ड खेलाडी माहिला जयवर्दने, दिलहारा फर्नान्डो, दिमुथ करुणारत्ने, सचित्रा सेनानायके जस्ता खेलाडीहरुले खेलिसकेका छन्।

त्रिवि मैदानमा दशदिने तयारीका क्रममा २ वटा आन्तरिक अभ्यास खेलपश्चात नेपालको अन्तिम टोली घोषणा भएको हो। तर, बलिया टेस्ट राष्ट्रसँग खेल्ने पर्याप्त तयारी घरेलु मैदानमा गर्न नपाएकाले श्रीलंकनमा हुने अन्तिम तयारी महत्वपूर्ण हुने नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल बताउँछन्।

‘नेपालमा तयारीका लागि सोचेभन्दा कम समय पाइयो। यो तयारी पूर्ण छैन्,’ सिनियर टोलीका सदस्य समेत रहेका रोहित भन्छन्, ‘तर, तयारीकै कारण ‘एक्स्कुज’ लिन भएन। श्रीलंकामा हुने अभ्यास खेलले खेलाडीहरुलाई त्यहाँको कन्डिशन, विकेट बारेमा ज्ञान लिने समय मिल्छ। विकेटअनुसार तयारी गर्न सहयोग पुग्नेछ।’

स्तरभन्दा माथिल्लो प्रदर्शनको आशा
अपर्याप्त तयारीका बाबजुद पनि प्रशिक्षक दास नेपाली टोलीले स्तरभन्दा केही माथिल्लो प्रदर्शन गर्नसके टेस्ट राष्ट्रलाई सप्राइज दिदैँ सेमिफाइनलसम्म पुग्न सक्ने बताउँछन।

‘यसअघि पनि नेपाली यू–१९ टोलीले ठूला टेस्ट राष्ट्रलाई हराएको छ,’ दास भन्छन्, ‘हामीले हाम्रो स्तरभन्दा थोरै माथि उठेर खेल्न सकेको खण्डमा हामी सेमिफाइनलसम्म पुग्ने लक्ष्य राखेका छौं।’

u19 team preperaत्रिवि मैदानमा अभ्यास गर्दै नेपाली युवा क्रिकेट टोली। तस्विर: प्रविन कोइराला

समूह चरणमा नेपालले आयोजक श्रीलंका, बंगलादेश र यूएईको सामना गर्दैछ। सेमिफाइनलमा पुग्न नेपालले कम्तिमा दुई टोलीलाई पराजित गर्नुपर्ने हुन्छ। श्रीलंका र बंगलादेश दुबै नेपालभन्दा बलिया टिम हुन् भने यूएई आफ्नै स्तरको टिम हो।

२०१६ मा श्रीलंकामा नै भएको एसिया कपमा अन्तिम पटक नेपालले श्रीलंकाको सामना गरेको थियो। त्यसबेला नेपाल श्रीलंकामाथि ऐतिहासिक जित निकाल्न १ रनले चुक्यो। पहिले ब्याटिङ गर्दै श्रीलंकाले २ सय २७ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा ३ बल बाँकी हुँदा नेपाललाई जितका लागि २ रन आवश्यक थियो।

नेपालको अन्तिम विकेट बाँकी हुँदा दीपेन्द्रसिंह ऐरी ९० रन बनाएर खेलिरहेका थिए। बाँकी ३ बलमा उनले सहजै २ रन जोड्ने आशा थियो। तर, दुर्भाग्यपूर्ण रुपमा तेस्रो बलमा एलबीडब्लुको सिकार भएपछि दीपेन्द्र मैदानमै भावविह्वल बने। डगआउटमा नेपाली टोलीको आशा पनि छिनभरमै निराशामा बदलिएको थियो।

यस्तै २०१८ को संस्करणमा नेपालले अर्को प्रतिद्वन्द्वी बंगलादेशलाई पनि कडा टक्कर दिएको थियो। जहाँ डकवर्थ लोविस(डिएल) पद्धतिका आधारमा नेपाल बंगलादेशसँग अन्तिम बल बाँकी रहँदा २ विकेटले स्तब्ध बनेको थियो। गतवर्ष नै भएको मैत्रीपूर्ण शृंखलामा भने नेपालले बंगलादेशलाई पराजित गरेको थियो।

‘सबै प्रतिद्वन्द्वीलाई विगतमा कडा चुनौती दिएका छौं र हराउँदै पनि आएका छौं,’ एसिया कपमा नेपालको सम्भावनाबारे दास भन्छन्, ‘मलाई विश्वास छ उनीहरुविरुद्ध हामी यसपटक पनि पक्कै राम्रो गर्नेछौं। टेस्ट नेशनसँग खेल्दा हामीले हाम्रो स्तरभन्दा माथि उठेर खेल्न सक्नुपर्छ। मलाई विश्वास छ, हामी यसपाला त्यो गर्न सक्छौं।’

cricket

कप्तान रोहित पौडेल सबै खेलाडीले शत प्रतिशत दिए बलिया टोलीलाई पक्कै आफूहरुले गाह्रो स्थिति श्रृजना गर्ने बताउँछन्।

‘हामीले शतप्रतिशत दिनुप¥यो। हामी सबै २–३ वर्ष खेलिरहेका छौं,’ रोहितले भने, ‘सबैजनाले शतप्रतिशत दियो भने पक्कैपनि अर्को टोलीलाई गाह्रो पर्नेवाला छ। सबैले जिम्मेवारी बोध गर्नुप¥यो। ६–७ जना ब्याट्सम्यानको सधैँ रन लाग्दैन। जसको लाग्छ। त्यसले गेम फिनिस गर्नुप¥यो। बलरहरुले राम्रो गरिरहेका छन। उनीहरुले आ–आफ्नो लयलाई निरन्तरता दिएमात्रै राम्रो हुन्छ। एउटा एउटा खेलमा राम्रो गर्दै सेमिफाइनल पुग्ने हाम्रो लक्ष्य हो।’

अन्तिम अवसर
उमेर हदबन्दीका कारण पवन सर्राफसँगै रासिद खान, हरिबहादुर चौहान, आसिफ सेख र कमलसिंह ऐरीले यस भ्रमणमा अन्तिम पल्ट यू–१९ टोलीको जर्सी लगाउनेछन्।

गत जुलाई पहिलो साता भएको एसीसी यू–१९ पुर्वीय क्षेत्रीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो। पवनले उक्त एसिया कपमा नेपालका लागि सर्वाधिक १ सय ४८ रन बनाएका थिए।

यस्तै दोस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ४ बाट खेल्दै प्रदेश १ विरुद्दको खेलमा शतकसहित ह्याट्रिक लिँदै घरेलु प्रतियोगितामा दुर्लभ कीर्तिमान राखेका अलराउण्डर हरिबहादुर चौहानका लागि पनि यो अन्तिम यू–१९ प्रतियोगिता हो।

पहिलो संस्करणको एभरेष्ट प्रिमियर लिगको फाइनलमा शतक प्रहार गरेपनि रातारात युवा स्टार बनेका आसिफ शेखको पनि यो अन्तिम यू–१९ खेल हो। पूर्वी क्षेत्रीय प्रतियोगितामा टोलीमा नरहेका उनले यस खेलमा पुनरामगन गरेका हुन्।

घरेलु प्रतियोगिताहरुमा सबैको पहिलो रोजाईमा पर्ने दाँया हाते मध्यम गतिका बलर राशिद खान, तीव्रगतिका बलर कमलसिंह ऐरीपनि अन्तिम पटक खेल्दैछन्।

Image may contain: 3 people, including Pawan Sarraf, outdoorपवन सर्राफ, आसिफ शेख र सन्दीप जोरा टोलीका मुख्य खेलाडी हुन्

उनीहरुलाई यसअघिको क्रिकेटमा आफ्नो बलियो दाबेदार प्रस्तुत गर्ने यो अन्तिम अवसर रहेको प्रशिक्षक दास भन्छन्। ‘यसपटक उनीहरुहरुलाई अगाडीको क्रिकेटमा आफ्नो स्थान बनाउँने अन्तिम अवसर हो। त्यसलाई बुझ्दै जिम्मेवारी पूर्वक उनीहरु प्रस्तुत हुने आशा गरेका छौं,’ दास भन्छन्, ‘हामीलाई टेस्ट राष्ट्रविरुद्ध खेल्दा अनुभवी खेलाडीहरु र उनीहरुको आत्मविश्वास पनि चाहिन्छ। अनुभव र आत्मविश्वाससँगै उनीहरुले क्षमताअनुसार प्रदर्शन गर्नेमा म विश्वस्त छु।’

गत माघ(२०७५)मा यूएईविरुद्धको टि–२० शृंखलाको क्रममा राष्ट्रिय टोलीबाट डेब्यू गर्दै विश्वकै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउँने कीर्तिमान राखेका सन्दीप जोराले पनि यसपटक यू–१९ टोलीमा पूनरागमन गरेका हुन्।

मध्यक्रममा खेलाडी सन्दीपले पुनरागमनसँगै आफूमा अलि बढी जिम्मेवारी थपिएको महसुस गरेका छन्। उनी भन्छन्, ‘पुनरागमनसँगै मैले आफूमा आत्मविश्वास फर्काउने प्रयास गरेका छौं। सिनियर टोलीबाट खेलिसकेका जिम्मेवारी ममा अलि धेरै छ। सबैले मैले प्रदर्शन गरौं भन्ने चाहेका छौं। टेस्ट राष्ट्रलाई हराउन सबैले प्रदर्शन गर्नैपर्छ। हामी त्यसमा सचेत छौं।’

नेपाली टोली
रोहितकुमार पौडेल, रित गौतम, पवन शर्राफ, मोहम्मद आशिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडक बहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिश जिसी।

प्रशिक्षकः विनोद दास, ब्यवस्थापकः राजु खड्का, ब्याटिङ परामर्शदाताः अपूर्व देसाई, फिजियोः बिक्रम न्यौपाने र ट्रेनरः सुवास पात्रो ।

खेल तालिका
भदौ १९: देखि भदौ २८ सम्म
भदौ २०: नेपाल भर्सेस श्रीलंका
भदौ २२: नेपाल भर्सेस बंगलादेश
भदौ २४: नेपाल भर्सेस यूएई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .