ad ad

खेल


विश्वकप छनोट : बलियो टोली जोर्डनको सामना गर्दै नेपाल, यस्तो छ आकलन

विश्वकप छनोट : बलियो टोली जोर्डनको सामना गर्दै नेपाल, यस्तो छ आकलन

लक्ष्मी जि.सी
जेठ २३, २०७८ आइतबार ९:२५,

कतार विश्वकप तथा एसिया कपको दोस्रो चरणको छनोट खेलमा नेपालले भोलि सोमबार बलियो टोली जोर्डनसँग खेल्दैछ।

घरेलु मैदानमा खेल्नुपर्ने खेल नेपालले कोरोना महामारीको कारण न्युट्रल भेन्यु (तटस्थ स्थान) का रुपमा कुवेतमा खेलिरहेको छ।

समुह चरणका ८ मध्ये ६ खेल खेलिसकेको नेपालले अब दुई खेल खेल्न बाँकी छ। छनोट चरणको समुह बी मा रहेको नेपालले सातौँ खेल जोर्डनसँग खेल्न लागेको हो। जोर्डनको भने यो छैटौँ खेल हो।

खेल कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा राति पौने १० बजे सुरु हुनेछ।

छनोट चरणको पहिलो खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो। दोस्रो लेगमा नेपाल फरक रणनीतिमा मैदान उत्रने सम्भावना छ।

युवा टोलीले भरिएको नेपाली राष्ट्रिय टोलीको साथमा रहेका विदेशी प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टोलीलाई फरक रणनीतिमा मैदान उतारिरहेका छन्।

NepaliFootballTeam 78Jeth 2

विश्वकप छनोटअघि इराकसँग मैत्रीपुर्ण खेल खेलेको नेपालले दुवै खेल फरक शैलीमा खेलेको थियो। विश्वकप छनोट अघिको इराकसँगको मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेलेका नवयुग श्रेष्ठ र मनिष डाँगीलाई चाइनिज ताइपेइसँगको खेलमा दोस्रो हाफमा मैदान उतारेका थिए।

विश्वकप छनोटको अघिल्लो चरण पुग्ने गणितीय सम्भावना मात्रै बाँकी छ। छनोट चरणको अन्तिम खेलमा नेपालले जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट यात्रा सक्नेछ।

समूह चरणमा नेपाल ६ अंकसहित चौथो स्थानमा छ। शीर्ष स्थानको अष्ट्रेलियाको १५ अंक छ भने दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १० अंक छ। अहिलेसम्म कुनै जित हासिल गर्न नसकेको चाइनिज ताइपेइ अंकविहीन छ।

समूह चरणको खेलमा नेपालले चाइनिज ताइपेइलाई मात्र हराउन सकेको छ। नेपालले चाइनिज ताइपेइलाई छनोट खेलको दुवै प्रतिष्पर्धामा समान २–० ले हराएको थियो। यस्तै पहिलो खेलमा कुवेतसँग ७–० को फराकिलो हार व्यहोरेको नेपालले दोस्रो खेल १–० ले गुमाएको थियो। एसियाको पावर हाउस अष्ट्रेलियासँगको पहिलो खेलमा नेपाल ५–० ले पराजित भएको थियो।

यता समुह चरणमा जोर्डनले भने चाइनिज ताइपेइलाई पहिलो खेलमा २–१ ले तथा दोस्रो खेलमा ५–० को फराकिलो अन्तरले पराजित गरेको थियो। कुवेतसँगको पहिलो भेटमा जोर्डनले गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो। अर्को खेलमा जोर्डन अष्ट्रेलियासँग १–० ले पराजित भएको थियो।

फिफा वरियतामा जोर्डन ९५ र नेपाल १ सय ७१औँ स्थानमा छ। नेपालले अष्ट्रेलिया र जोर्डनलाई अहिलेसम्म हराउन सकेको छैन। सन् २०११ मा काठमाडौको दशरथ रंगशालामा भएको विश्वकप छनोटमा जोर्डनसँग एक एकको बराबरी गर्नु नै उससँग नेपालको अहिलेसम्मको उच्च प्रर्दशन हो।

खेलअघिको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने कतिपय संचारमाध्यमले नेपालभन्दा जोर्डन बलियो रहेको र नेपालको जितको सम्भावना छैन भन्ने सुनेको तर फुटबलमा त्यस्तो नहुने बताए। जोर्डन बलियो टोली भए पनि नेपाली टोली जित्ने योजनासहित खेल्ने उनको भनाइ छ।

Nepal football coach pressmeet

‘हाम्रो मुख्य लक्ष्य भनेको एसियन कपमा छनोट हुने हो त्यसको लागि जित आवश्यक छ हामी जितको लागि नै मैदान उत्रनेछौँ,’ उनले भने, ‘पहिलाभन्दा अहिले नेपाली खेलाडीको मानसिकता बदलिएको छ। खेलाडीहरु उच्च मनोबलमा खेलिरहेका छन्।’

जोर्डनका कोच भाइटल बर्केलम्यान्सले नेपालसँगको खेलबाट आफूहरुले ३ प्वाइन्ट हासिल गर्ने सबैको अपेक्षा भए पनि फुटबलमा यसै हुन्छ भनी भन्न नसकिने बताए।

‘मैले नेपाली टोली चाइनिज ताइपेइ र इराकसँग खेलेको हेरेँ र उनीहरुको स्तर र खेल्ने सिस्टम फेरिएको पाएको छु,’ उनले भनेका छन्।

यता राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले आफूहरु आक्रामक फुटबल खेल्न तयार रहेको बताएका छन्।

उनले भने, ‘यसअघि हामी रक्षात्मक फुटबल खेल्थ्यौं, अब हामी पनि आक्रामक फुटबल खेल्न सक्छौ भन्ने मनोबल बढेको छ। नयाँ प्रशिक्षकले हामीलाई त्यो आत्मविश्वास दिनु भएको छ।’

त्यसले गर्दा नेपाली टोली फरक स्तरमा पुगेको महसुस गरेको चेम्जोङले बताए।

NepaliFootballTeam 78Jeth 3

हेड टु हेड
नेपाल र जोर्डनबीच अहिलेसम्म ३ पटक भेट भएको छ। अहिलेसम्मको तीन वटै प्रतिस्पर्धामा नेपालले जोर्डनलाई हराउन सकेको छैन। यी दुई टोलीको पहिलो भेट विश्वकप छनोटकै दौरान सन् २०११ मा भएको थियो।

२३ जुलाई २०११ मा भएको विश्वकप छनोटको खेलमा नेपाल जोर्डनसँग ९–० को फराकिलो अन्तरले पराजित भएको थियो। २८ जुलाईमा भएको खेलमा नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो। काठमाडौको दशरथ रथंशालामा भएको सो खेलमा नेपालका लागि फरवर्ड भरत खवासले गोल गरेका थिए। जोर्डनलाई बराबरीमा रोक्नु नै नेपालको अहिलेसम्मको उच्च प्रर्दशन हो।

यस्तै सन् २०१९ को १५ अक्टोबरमा नेपाल र जोर्डनको तेस्रो प्रतिष्पर्धा भएको थियो। फिफा विश्वकप छनोट अन्तर्गतकै पहिलो खेलमा नेपाल ३–० ले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .