ad ad

खेल


फिनिसिङमा चुकेको पोखरा थन्डर्स

फिनिसिङमा चुकेको पोखरा थन्डर्स

लक्ष्मी जि.सी
बैशाख ३०, २०७८ बिहिबार ८:३,

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलमा लामो अनुभव बटुलिसकेका खेलाडीहरुको सहभागिता रहेको पोखरा थन्डर्सले देशकै पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा बलियो दाबेदारी प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो।

राष्ट्रिय टोली र त्रिभुवन आर्मी फुटबल क्लबलाई महत्वपूर्ण उपलब्धि दिलाइसकेका नवयुग श्रेष्ठ मार्की खेलाडी तथा पूर्वराष्ट्रिय खेलाडी समेत रहेका आर्मीका नवीन न्यौपाने प्रशिक्षकका रुपमा पोखरामा आबद्ध हुँदा समर्थकले सफल नतिजाको अपेक्षा गर्नु स्वाभाविक थियो।

अक्सनबाट राष्ट्रिय टोलीकै अर्का सदस्य सुजल श्रेष्ठ, राष्ट्रिय टोलीका पूर्वकप्तान अनुभवी अनिल गुरुङसहित युवा र विदेशी खेलाडीले एनएसएलमा कडा चुनौती दिने आशा राखेका थिए।

तर, जसरी एनएसएलमा प्रतिस्पर्धा सुरु हुँदै गयो, टोली अपेक्षाअनुसार खरो उत्रिन सकेन। यद्यपि टोलीको प्ले–अफको सम्भावना लिग चरणका अन्तिम दुई खेल अघिसम्म जीवितै थियो।

pokhara thunders out3

लिगका ६ खेलमा पोखराले २ जित, २ बराबरी र २ खेलमा हार व्यहोरेको थियो। समान ८ अंक जाडेको पोखरा हेड टु हेडमा बुटवल लुम्बिनी एफसीभन्दा पछि पर्दै प्ले–अफ पुग्न असफल भयो।

प्ले–अफ पुग्ने सम्भावना जीवित राख्नका लागि पोखराले एफसी चितवनलाई हराउनैपर्ने अवस्था थियो। रोमाञ्चक खेलको अन्त्यतिर २ गोल फर्काउँदै पोखरा चितवनलाई २–१ ले हराउँदै प्ले अफको सम्भावनालाई कायम राखेको थियो।

तर त्यो नतिजाले मात्र टोलीलाई अघि बढ्ने अवस्था थिएन। धनगढी एफसी र बुटवल लुम्बिनीबीचको खेलको नतिजा कुर्नुपर्ने थियो। सो खेलमा बराबरी वा धनगढी जितेको अवस्थामा पोखरा प्ले–अफ पुग्ने थियो।

तर धनगढीलाई १–० ले हराउँदै बुटवलले अघिल्लो चरणको यात्रा तय गर्यो। पोखराको यात्रा त्यहीँ टुंगियो।

pokhara thunders out1

हेड टु हेडमा पुग्न नसक्नु पोखराको दुर्भाग्यः विश्लेषक मिश्र
हेड टु हेडमा प्ले–अफमा पुग्न नसक्नु पोखराको दुर्भाग्य रहेको उल्लेख गर्दैै फुटबल विश्लेषक सञ्जीव मिश्रले टोलीले केही खेलमा सोचेअनुरुपको नतिजा निकाल्न नसकेकोले अघि बढ्न नसकेको बताए।

कप्तान समेत रहेका मार्की खेलाडी नवयुगले पनि सुरुवाती खेलमा स्कोरिङमा समस्या रहेका कारण प्ले–अफमा पुग्न असफल रहेको बताए।

त्यसमाथि खेलाडीबीच आपसी समन्वय नमिल्दा स्कोरिङमा समस्या भयो। विदेशी खेलाडीसँग सुरुमा खेल्दा समस्या पर्यो। तालमेल विस्तारै मिल्दै गयो। ‘तर त्यति बेलामा धेरै ढिला भइसकेको थियो’, उनले भने, ‘धेरै मौका पाउँदा पनि स्कोरिङ गर्न सकेनौँ।

स्कोरिङमा समस्या भएपछि त्यसको असर नतिजामा पर्ने नै भयो। अनुकूल नतिजा निकाल्न नसकेपछि अन्य खेलको नतिजामा भर पर्नुपर्ने पोखराको बाध्यता बन्यो।

बुटवल लुम्बिनीसँग २–० र धनगढीसँग १–० ले पराजित भएको पोखराले विराटनगर एफसीलाई १–० ले र एफसी चितवनलाई २–१ ले हराएको थियो। काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलको थियो।

टोलीले गरेको गोलबाट पनि नवयुगको भनाइलाई पुष्टि गर्छ। ६ खेलमा टोलीले ३ गोल मात्र गर्न सक्यो। त्यसमध्ये २ गोल नवयुगले गरे। ६ खेलमा पोखराले ४ गोल खाएको थियो।

pokhara thunders out5

आफ्नै प्रदर्शनमा असन्तुष्ट क्याप्टेन
नवयुग सुपर लिगमा आफ्नै प्रदर्शनबाट सन्तुष्ट छैनन्।

उनले भने, ‘योभन्दा राम्रो गर्न सक्छु भन्ने लागेको थियो। आर्मीबाट खेल्न हामी अभ्यस्त थियौँ। नयाँ खेलाडीहरुसँग धेरै घुलमिल हुन पाएनौँ।’

उनको ए डिभिजन क्लब आर्मीले एएफसी कपको प्लेअफ खेल्न जानुपर्ने भएकाले पनि नवयुग ढिला मात्र एनएसएलको तयारीमा सामेल भएका थिए।

त्यसले पनि सोचेजस्तो प्रदर्शन गर्नबाट चुकेको उनको भनाइ छ।

घरेलु फुटबलमा सफल युवा प्रशिक्षकमध्येका एक न्यौपानेले एनएसएल चलिरहँदा व्यक्तिगत रुपमा भने समय दिन सकेनन्।

pokhara thunders out4

यसो भन्छन् मुख्य प्रशिक्षक
एनएसएलमा पोखराले राम्रो प्रदर्शन गरेको थियो। एट्याकिङ र बल पोजिसनमा राम्रो थियो तर फिनिसिङमा कमी देखियो। जसको कारण स्कोरिङमा समस्या आयो र प्लेअफमा पुग्न नसकेको टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले बताए।

‘खेलमा २, ३ वटा मात्र मौका आउँछ। त्यसलाई सदुपयोग गर्न सक्नुपर्छ। सुरुवाती खेलमा राम्रो मौका आएको थियो तर त्यसमा स्कोर गर्न सकिएन र बाहिर भयौँ’, उनले भने।

अक्सनमा एउटा योजनाअनुसार खेलाडी छनोट गरे पनि सुरुवातबाट नै आफू टोलीसँग हुन नसक्दा समेत प्रदर्शनमा असर परेको उनको भनाइ छ।

पारिवारिक कारणले उपस्थित नहुँदा सहायक प्रशिक्षक राजेश शाहीले प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।

प्रत्यक्ष रुपमा न्यौपाने नहुँदा त्यसको असर टोलीमा परेको शाहीले पनि स्वीकारेका थिए।

‘नवीन भइदिएको भए योभन्दा राम्रो नतिजा निकाल्न सक्थ्यौँ’, उनले भनेका थिए, ‘तर पनि हामीले जति सम्भव हुन्छ, त्यति सल्लाह गरेर टोलीलाई उतारेका छौँ।’

अक्सनबाट लिइएका खेलाडी सुजलले चोटका कारण एनएसएल गुमाउँदा पोखरालाई अर्को झट्का लाग्यो।

क्लबले उनलाई व्यवस्थापकको नयाँ जिम्मेवारी दिएर आफूसँगै राख्यो।

यसो हुँदा मैदानमा टोलीको बलियो दाबेदारी पेस गर्न अक्सनबाट उनलाई लिएको क्लबको योजना भने पूरा हुनसकेन।

खेल जित्न गोलकै आवश्यकता पर्छ तर अनुभवी फरवार्ड अनिलले मिहिनेत गरे पनि गोल हुनसकेन।

प्ले अफमा पुग्न असफल भए पनि टोलीको प्रदर्शन भने सन्तोषजनक रहेको नवयुग बताउँछन्।

‘एउटा खेलाडीका रुपमा एनएसएल राम्रो मौका थियो। यसले ए डिभिजन लिग र क्लबलाई चुनौती थपिएको छ। फुटबलका अन्य प्रतियोगिता नभएको बेलामा खेल्ने अवसर मिल्यो’, उनले भने, ‘यसले हाम्रो प्रदर्शनमा पनि ‘लेभल–अप’ भएको महसुस गरेको छु।’

केही नयाँ र राम्रा विदेशी खेलाडीबाट पनि सिक्ने मौका मिलेको उनी बताउँछन्।

एनएसएल आउने वर्षमा अझै प्रतिस्पर्धात्मक हुने अनुमान गरेको नवयुगले बताए।

pokhara thunders out6

गोल निकाल्नै सकेनौँः निर्देशक ज्याम्लिन
पोखरा थन्डर्सका डाइरेक्टर ज्याम्लिन घलेले टोलीले राम्रो प्रदर्शन गरे पनि गोल निकाल्न नसक्नु नै प्लेअफमा पुग्न नसक्नुको मुख्य कारण रहेको बताए।

उनले भने, ‘शीर्ष ४ मा पुग्ने योजना थियो, टोली पनि राम्रो बनाएका थियौँ तर लिग सुरु हुनुअघि मुख्य प्रशिक्षक नविन न्यौपाने पनि कोरोना संक्रमित भएर टोलीमा रहन सकेनन्। अर्का खेलाडी सुजल श्रेष्ठ पनि घाइते भएर खेल्न सकेनन्। जसले गर्दा टोली प्लेअफमा पुग्न नसकेको हो तर टोलीको प्रर्दशनबाट भने खुसी छु।’

कोरोना महामारीको बेलामा पनि बन्द रगंशालामा खेल भएको थियो। उनले भने, ‘भाग्यको कुरा पनि हो। अब अर्को वर्ष अझै राम्रो प्रर्दशन गर्नेछौँ।’
(सबै तस्बिरः पाेखरा थन्डर्स फेसबुक पेज)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .