नेपाल सुपर लिग (एनएसएल) मा आइतबार पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदै छ। खेल काठमाडौंको दशरथ रगंशालामा साँझ साढे ५ बजे हुनेछ।
लिगमा चौथो खेल खेल्न लागेका दुवै टोली जितको खोजीमा मैदान उत्रिनेछन्।
आजको खेलमा पोखराले ललितपुरलाई पराजित गरेमा शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्नेछ।
ललितपुर भने पोखरालाई पराजित गर्दै पहिलो जित निकाल्न चाहन्छ। ललितपुरले पोखरालाई पराजित गरेमा तेस्रो स्थानमा उक्लिनेछ।
लिगका ३ खेलमा १ मा जित, एकमा हार र एकमा बराबरी गरेको पोखरा दोस्रो जितको खोजीमा छ।
पहिलो खेलमा बुटवल लुम्बिनीसँग २–० ले पराजित भएको पोखराले दोस्रो खेलमा विराटनगर सिटी एफसीलाई १–० ले हराएको थियो। तेस्रो खेलमा भने पोखराले काठमाडौ रेजर्ससँग गोलरहित बराबरी खेलेको थियो।
२ खेलमा बराबरी र एक खेलमा हार भोगेको ललितपुर आफुलाई शीर्ष ४ भित्र पार्न संघर्षरत छ।
पहिलो खेलमा काठमाडौ रेजर्ससँग १–० ले पराजित भएको ललितपुरले दोस्रो खेलमा एफसी चितवनसँग एक–एकको बराबरी गर्दै अंक बाँडेको थियो। ललितपुरले तेस्रो खेलमा पनि धनगढी एफसीसँग एक एक गोलको बराबरी गर्दै अंक बाँडेको थियो।
४ खेल खेलेको धनगढीले २ मा जित एकमा बराबरी र एकमा हार भोग्दै ७ अंकमा शीर्ष स्थानमा छ। ३ खेल खेलेको बुटवल लुम्बिनी १ मा जित र २ मा बराबरी र एक खेलमा हार भोग्दै ५ अंकमा दोस्रो स्थानमा छ।
एक खेलमा जित, एकमा हार र एक खेलमा बराबरी गरेको विराटनगर सिटी एफसी ४ अंकमा तेस्रो स्थानमा छ।
समान ४ अंक भएको पोखरा चौथो र त्यतिनै अंक भएको काठमाडौ पाँचौ स्थानमा छ। ३ खेलबाट २ अंक जोडेको ललितपुर सिटी एफसी छैटौँ र एफसी चितवन सातौँ स्थानमा छन्।
एनएसएलमा ७ फ्रेन्चाइज सहरका सात टोली सहभागी छन्। लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बीनी एफसी सहभागी छन्।
लिगको विजेताले ३५ लाख ताथ उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया