तीन देश सम्मिलित टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले आज बिहीबार मलेसियासँग खेल्दैछ।
खेल, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुनेछ। लिग चरणको अन्तिम खेल खेल्न लागेको नेपाल मलेसियालाई पराजित गर्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न चाहन्छ।
सिरिजअन्तर्गतको पहिलो र दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्स र मलेसिया दुवैलाई समान ९ विकेटले हराएको थियो। तेस्रो खेलमा नेदल्यान्ड्ससँग ३ विकेटले पराजित भएको नेपाल चौथो खेलमा मलेसियालाई हराउन चाहन्छ।
नेदल्यान्डस्सँगको पहिलो खेल १५ रनले गुमाएको मलेसियाले दोस्रो खेलमा हिजो बराबरी गर्दै अंक बाँडेको थियो। वर्षाको कारण यी दुई टोलीबीचको खेल बराबरी भएपछि नेपाल एक खेलअगावै फाइनल पुगेको थियो।
उता मलेसिया भने पहिलो खेलमा भोगेको हारको बदला लिदैँ नेपाललाई घरेलु मैदानमै हराउने सोचमा छ।
नेपाल ३ खेलमा २ मा जित र १ मा हार भोग्दै ४ अंकमा दोस्रो स्थानमा छ। नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरी गर्दै ५ अंकमा तालिकाको शीर्ष स्थानमा छ।
तीनमध्ये २ मा हार र १ मा बराबरी गरेको मलेसिया १ अंकमा तालिकाको पुछारमा छ। अंक तालिकाका शीर्ष २ टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल शनिबार हुनेछ।

प्रतिक्रिया