अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त मैत्रीपूर्ण खेल भदाै ९ गते मलेसियामा हुने जानकारी दिएको हो।
नेपाली टोलीले विश्वकप छनौटको तयारी स्वरुप लिग च्याम्पियन टोलीसँग खेल्न लागेको हो। नेपाली टोली हाल कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीमा व्यस्त छ।
विभिन्न देशहरुसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रियको प्रस्ताव गरेपनि अन्य देश उपलब्ध नहुँदा नेपालले क्लबसँग भएपनि मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको एन्फाले जनाएको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले तयारीका क्रममा मैत्रीपूर्ण खेल पाउनु राम्रो भएको बताए । ‘तयारीका क्रममा मैत्रीपूर्ण खेल पाउँनु राम्रो हो,’ उनले भने, ‘जोहार हामीसँग खेल्न तयार भएकोमा हामी आभारी छौं । खेलहरुले तयारीलाई धेरै सघाउँछ । हामी जोहारसँग खेल्न तयार छौं ।’
विश्वकप छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ छन् । नेपालले भदौ १९ गते कुवेतविरुद्ध उसैको मैदानमा खेल्दै विश्वकप छनौटको यात्रा शुरु गर्नेछ ।
कुवेतविरुद्धको खेलबारे प्रतिक्रिया दिदैँ प्रशिक्षक कालिनले भने, ‘कुवेतले पछिल्लोपछक निकै राम्रो नतिजाहरु देखाएको छ र उनीहरुले धेरै खेल खेलेका छन् । हाम्रा खेलाडीले पनि यस खेलका लागि निकै कडा मेहनत गरेका छन् । हामी बलियो बन्दै छौं र टिमका रुपमा बलिया देखिएका छौं । अब हामीले आफ्नो स्थितिबारे बुझ्न गेम खेल्नु आवश्यक छ ।’
नेपालले कुवेतविरुद्धको पछिल्ला दुई मैत्रीपूर्ण खेलमा एकमा गोलरहित बराबरी खेलेको छ भने एक खेलमा १–० ले पराजित भएको थियो ।

प्रतिक्रिया