रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालमा जारी प्रदेशस्तरीय टी-२० अन्डर–१६ क्रिकेट प्रतियोगितामा मंगलबार भएको खेलमा गुल्मी र रोल्पा विजयी भएका छन्। गुल्मीले रुकुमलाई ३३ रन र रोल्पाले अर्घाखाँचीलाई १५ रनले पराजित गर्दै जित निकालेका हुन्।
टस हारेर व्याटिङको निम्तो पाएको गुल्मीले ४ विकेटको क्षतिमा १२७ रनको योगफल बनाएको थियो। उसका लागि म्यान अफ द म्याच समेत रहेका प्रशान्त श्रेष्ठले ५६ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ६१ रन बनाए। बलिङमा रुकुमका सनिस केसी र गणेश डडेलले समान २-२ विकेट लिए।
प्रतिउत्तरमा रुकुम १६ ओभर ३ बलमा अलआउट हुँदै ९४ रनमै समेटियो। उसका लागि युवराज खत्रीले ३६ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। बलिङमा गुल्मीका नवीन हिताङले ३, सुमित गुरुङ र प्रशान्त श्रेष्ठले समान २र२ विकेट लिए।

दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको रोल्पाले ६ विकेटको क्षतिमा १३० रन बनायो। उसका लागि अंकित बुढामगरले ५३, हस्त माली पुनमगरले २२ र हिमाल सुहारले १० रन बनाए। बलिङमा अर्घाखाँचीका पदम मुखियाले ३ र विवेक पौडेलले १ विकेट लिए।
प्रतिउत्तरमा अर्घाखाँची ९ विकेटको क्षतिमा ११५ रनमै सीमित भयो। जसमा सुमन खड्काले २२, सागर खत्रीले २१ र कमल घिमिरे १५ रन बनाए। बलिङमा रोल्पाका अजय डाँगीले ४ ओभरमा २ मेर्डन राख्दै ५ रन खर्चेर ४ विकेट लिए।
यस्तै, किसान भारतीले २, हिमाल सुनार, हस्त माली पुनमगर र प्रवेश गिरीले समान १र१ विकेट लिए। अंकित बुढामगर म्यान अफ द म्याच भए। प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागी छन्।

प्रतिक्रिया