नेकपा (एमाले) का नेता घनश्याम भुसालले हरेक विकास नागरिक केन्द्रित हुनुपर्ने बताएका छन्। उनले नागरिक केन्द्रित विकास नभए मुलुक बन्न नसक्ने बताए।
भैरहवामा शुक्रबारबाट सिद्धार्थनगर नगरपालिकाको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासाथ सुरु नगरस्तरीय दोस्रो उपप्रमुख महिला कप प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्यसमेत रहेका भुसालले यस्तो बताएका हुन्।
केबल कंक्रिटको विकास गरेर मात्रै नहुने भन्दै पूर्वमन्त्री भुसालले भने, ‘भ्यू टावर, जहाँतही सडक बनाएर मात्रै विकास हुँदैन। हामीले गर्ने विकास नागरिक केन्द्रित हुनुपर्छ, हाम्रा बालबालिकाको भविष्य केन्द्रित हुनुपर्छ।’
उनले विकास मान्छे केन्द्रित भएन भने, नागरिक केन्द्रित भएन भने, बालबालिका केन्द्रित भएन भने यो मुलुक झनै विग्रिने बताए।
नेपालको संविधानले बालअधिकार र शिक्षाको सुनिश्चितता गरेको जनाउँदै भुसालले त्यो व्यवहारिक रुपमा कार्यान्वयन गर्नु पर्नेमा जोड दिए।
‘संविधानले ग्यारेन्टी गरेका शिक्षा, स्वास्थ्य र खेलकुद लगायतका कुरा तलदेखि कार्यान्वयन जरुरी छ’, उनले भने, ‘सबै नागरिक शिक्षित भएमा, उनीहरुलाई राम्रो शिक्षा दिनसकेमा धेरै कुरा राम्रो हुन्छ।’
शिक्षक र राज्य मिलेर संकल्प गरेर अगाडि बढेमा यो मुलुकले उपलब्धी हासिल गर्ने उनले बताए। खेलकुदले संसार भरीका मानवजातिको एकताका लागि ठूलो भूमिका खेल्ने भुसालले बताए।
‘आफैलाई चिन्ने, अरुलाई चिन्न सक्ने, एकता बनाउने, राष्ट्रिय एकता र अन्ततः मानव जातिका लागि एकताको सुदूरसुदूर हेर्न सक्ने, असाध्यै परपर हेर्न सक्ने संसारभरीका समस्त मानवजातिको निम्ती त्यो सद्भाव, त्यो सहिष्णुता बढाउन खेलकुदले भूमिका खेल्ने गर्छ’, उनले भने।

भुसालले उपप्रमुख महिला कपले छात्राहरुलाई खरो रुपमा प्रतिस्पर्धामा उत्रिन उल्लेखनीय भूमिका प्रदान गर्ने बताए। संविधानसभा सदस्य आदित्यनारायण कसौधन, सिद्धार्थनगर प्रमुख हरिप्रसाद अधिकारी, उपप्रमुख उमा काफ्लेले यस्ता खेलकुदले विद्यार्थीहरुको खेलप्रतिभा प्रस्फुटन हुनुका साथै नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए।
फागुन २८, २९ र चैत्र १ गतेसम्म चल्ने प्रतियोगितामा नगरभित्रका २८ वटा विद्यालयहरुका छात्राहरुको सहभागिता रहेको खेलकुद कार्यक्रमका संयोजक समेत रहेका प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीले जानकारी दिए।
तीन समूहमा बाँडेर खेलाइने प्रतियोगितामा कक्षा १ देखि ४ सम्मका छात्राहरुका लागि ५०, एक सय, दुई सय, एक सय गुणे ४ मिटरको रिले दौड गराइने छ। यस्तै यो समूहका छात्राहरुलाई लङजम्प पनि खेलाइने उपप्रमुख काफ्लेले बताइन्। समूह ख अन्तर्गत कक्षा पाँचदेखि ८ सम्मका विद्यार्थीहरुबीच एक सय, दुई सय, ४ सय, ८ सय, सय गुणे ४, २ सय गुणे ४ मिटरको रिले दौड गराइने छ।
यो समूहका छात्राहरुलाई लङजम्प र सटपुट पनि खेलाइने छ। त्यस्तै कक्षा ९ र १० का छात्राहरुबीच भलिबल र वक्तृत्वकला प्रतियोगिता हुनेछ।
Shares

प्रतिक्रिया