निलम्बनमा परेका सांसद रेशम चौधरीलाई छुटाउनेबारे सरकार र जनता समाजवादी पार्टीका नेताहरुबीच फेरि छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकारका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई छन्। जसपाका तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन्।
थुनामा रहेका सांसद चौधरीको रिहाइका लागि पहल गर्न छलफल भइरहेको नेम्वाङले जानकारी दिए।
‘माननीय सांसद चौधरीलाई रिहाइ गर्ने विषयमा जसपाका नेताहरुसँग बालुवाटारमा छलफल भइरहेको छ’, नेम्वाङले नेपालखबरसँग भने, ‘उहाँको रिहाइको लागि प्रधानमन्त्रीले समेत सहयोग गर्ने बताउनुभएको छ।’
२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालक मारिएका थिए।
सोही घटनाका मुख्य योजनाकार चौधरी रहेको भन्दै अदालतले उनलाई जेलमा पठाएको थियो।
सत्ता सहकार्यको लागि जसपाले रेशम चौधरीको रिहाइ मुख्य शर्तका रुपमा अघि सारेको छ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपालाई मान्यता नदिएपछि दुवै पार्टी पूर्ववत् अवस्थामा फर्किएका छन्।
प्रधानमन्त्री ओलीलाई सत्तामा टिकिरहनको लागि जसपाको साथ महत्वपूर्ण हुन्छ।
यसअघि बिहीबार साँझ पनि जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवसहित जसपाका नेताहरुले बालुवाटारमा छलफल गरेका थिए।
त्यसअघि मंगलबार र बुधबार पनि अनौपचारिक रुपमा बनाइएको सो कार्यदलबीच छलफल भएको थियो।

प्रतिक्रिया