खेल


विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने

विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने

नेपालखबर
साउन २४, २०७६ शुक्रबार १४:१९,

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको एशिया दोस्रो चरण छनोटअन्तर्गत नेपालले कुवेतविरुद्धको पहिलो खेल उसैको मैदानमा खेल्ने निश्चित भएको छ।

कुवेतविरुद्धको नेपालको होम खेल कुवेतमा नै खेलाउनका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गरेको प्रस्ताव कुवेत फुटबल सङ्घले शुक्रबार स्वीकृति दिएपछि नेपालले पहिलो खेल कुवेतमा खेल्ने पक्का भएको एन्फाले जनाएको छ।

नेपाल र कुवेतबीचको होम खेल आगामी भदौ १९ गते हुनेछ । नेपालको एकमात्र अन्तरराष्ट्रियस्तरको दशरथ रङ्गशालाको पुनःनिर्माण कार्यसम्पन्न नहुँदा नेपालले आफ्नो होम खेल कुवेतकै मैदानमा खेल्न लागेको हो ।

त्यस्तै कुवेतले उसको होम खेल भने नेपालमा आएर खेल्नेछ । एन्फाका अनुसार नेपाल र कुवेतबीचको दोस्रो ‘अवे’ खेल आगामी मङ्सिर ३ गते दशरथ रङ्गशालामा हुनेछ ।

यसअघि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले नेपालको ‘होम एण्ड अवे’ दुवै खेल कुवेतमै नगर्न र न्युट्रल भेन्यु खोज्न आग्रह गर्दै एन्फालाई पत्र पठाएको थियो ।

विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा कुवेत, चाइनिज ताइपे, जोर्डन र अष्ट्रेलिया, रहेका छन् । नेपालले चाइनिज ताइपेसँग अवे खेल भदौ २४ गते खेल्नेछ भने होम खेल चैत १२ गते दशरथ रङ्गशालामा खेल्नेछ ।

त्यस्तै नेपालले असोज २८ गते जोर्डनसँग उसैको मैदानमा खेल्नेछ भने जोर्डनविरुद्धको होम खेल नेपालले विसं २०७७ जेठ २१ गते दशरथ रङ्गशालामा खेल्ने तय भएको छ ।

त्यसबाहेक नेपालले अष्ट्रेलियासँग असोज २३ गते उसैको मैदानमा खेल्नेछ भने नेपालले अष्ट्रेलियासँग चैत १८ गते दशरथ रङ्गशालामा खेल्नेछ ।

उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घले यसअघि नै ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । छनोट हुने प्रारम्भिक टोलीको गोलरक्षकमा किरणकुमार लिम्बू, एलन न्यौपाने, विकेश कुथु, विशाल श्रेष्ठ छन्।

डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रञ्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजवंशी र विमल पाण्डे छन् ।

त्यसैगरी मिडफिल्डरमा सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेव गुरुङ, हेमन गुरुङ र सुभाष गुरुङ छन् । स्ट्राइकरमा विमल घर्तीमगर, विमल राना, नवयुव श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र भरत खवास छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .