राष्ट्रिय महिला लिग फुटबलमा बुधबार दुई खेल हुँदैछन्।
ललितपुरको सातदोबाटोस्थित एन्फाकम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लव र नेपाल पुलिस क्लवबीच प्रतिस्पर्धा हुनेछ। खेल मध्यान्ह १२ बजे सुरु हुनेछ।
विभागीय डर्बीको खेलमा आज पुलिस क्लवले आर्मी फुटबल क्लवलाई बराबरीमा रोके चौथो र पराजित गरे तेस्रो स्थानमा उक्लने छ। पुलिसले आर्मीलाई पराजित गरेको खण्डमा भने नेपाल एपीएफ क्लवले दुई खेल अगावै लिगको उपाधि उचाल्नेछ।
यता आर्मी भने पुलिस क्लवलाई पराजित गर्दै शीर्ष स्थानको नेपाल एपीएफ क्लवसँगको अंक दूरी कम गर्न चाहन्छ। दोस्रो स्थानमा रहेको आर्मीको २५ अंक छ।
आज नै हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लव र विराटनगर महानगरपालिका भिड्नेछन्। आजको खेलमा एपीएफले विराटनगरलाई पराजित गरे एक खेल अगावै उपाधि जित्नेछ। खेल दिउँसो ३ बजे सोही मैदानमा हुनेछ। लिगमा शतप्रतिशत नतिजा निकालेको एपीएफले १० खेलबाट ३० अंक जोडेको छ।
विराटनगर भने एपीएफलाई बराबरीमा रोक्दै तेस्रो स्थानमा यथावत रहन चाहन्छ। सोमबार नेपाल पुलिस क्लवविरुद्दको खेलमा मुख्य स्टाइकर सावित्रा भण्डारी साम्बा घाइते भएपछि लिगका दुई खेलमा उनी अनुपस्थित हुनेछिन्। उनको अभाव अबका दुई खेलमा खड्कनेछ।
सावित्राको घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको र अन्य चोट पनि देखिएको छ। जसको कारण उनी अबको एक वर्ष मैदान बाहिर रहने छिन। लिगको १० खेलमा साम्बाले ४३ गोल गरिसकेकी छिन। साम्बा घाइते भएर मैदान छाडेको केहीबेरमा नै एपीएफले लिगमा पहिलो गोल खान पुगेको थियो।
लिगको अन्तिम खेल शुक्रबार आर्मी र एपीएफबीच हुनेछ।

प्रतिक्रिया