रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन बी अन्तर्गतको खेलमा गोलपार्क क्रिकेट क्लबले बुटवल युथलाई ६६ रनले पारजित गरेको छ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको गोलपार्कले ३९ ओभर चार बलमा सबै विकेट गुमाउँदै दुई सय सात रन जोडेको थियो। जसमा रिक्की पुनले ४५, बिनोद रनपालले ३३, जीवन पुनले ३१ र हेमन्त ओलीले २८ रन जोडे। बलिङमा बुटवल युथका बिनित पौडेलले चार, सन्तोष परियार र सुजन गौतमले समान दुई-दुई विकेट लिए।
जवाफी ब्याटिङ गर्न आएको बुटवल युथले मात्र एक सय ४१ रन बनाउन सक्यो। ३३ ओभर तीन बलमा सबै विकेट गुमाउँदै ६६ रनको हार ब्यहोर्यो। उसका लागि सुजन गौतमले सर्वाधिक ३१ रन, सुमन थापा क्षेत्रीले २७ र बिनित पौडेलले २० रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
बुटवल युथलाई सस्तैमा रोक्न १० ओभर बलिङ गरेका जीवन पुनले २ मेर्डन राख्दै १५ रन खर्चेर पाँच विकेट लिए। यस्तै, रिक्की पुनले २, रिजन पछाई, आर्गिन सुबेदी र बिनोद रनपालले समान एक-एक विकेट लिए। महालक्ष्मी म्यान अफ दी म्याच जीवन पुन घोषित भई पुरस्कृत भए। शुक्रबार सैनामैना क्रिकेट क्लब र स्टार क्रिकेट क्लवबीच प्रतिस्पर्धा हुने छ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए। नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन्।

प्रतिक्रिया