नेपाल खेलकुद पत्रकार मञ्चले यो वर्ष प्रदान गर्न लागेको पल्सर स्पोर्ट्स अवार्डको लागि गत वर्षको खेल प्रदर्शनकाे आधारमा पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोनयन सूची सार्वजनिक गरेको छ।
आज एक पत्रकार सम्मेलन गरी मञ्चले यी विधामा खेलाडीहरुको मनोनयन सूची सार्वजनिक गरेको हो।
यसअनुसार वर्षको पुरुष खेलाडीको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन्।
त्यस्तै वर्षको महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ परेका छन्।
वर्षको युवा खेलाडीतर्फ मनोनयनमा भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामांग, जुडेकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ परेका छन्।
वर्षको प्रशिक्षकमा भने उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेको मञ्चले जनाएको छ।
मञ्चका सचिव गोविन्द रेग्मी संयोजकत्वमा अञ्जन खड्का, निरञ्जन राजवंशी, प्रजित शाक्य, सुजन श्रेष्ठ, सुवास हुमागाईं, अनिल मल्ल ठकुरी, कुशल तिमल्सिना, गोविन्दराज नेपाल, निशान राई र मोती अमगाई सदस्य रहेको ११ सदस्यीय खेलाडी छनोट समितिले मनोनयन सूची तयार पारेको हो।
करातेका मण्डेकाजी श्रेष्ठ र पौडीकी गौरिका सिंह पल्सर स्पोर्ट्स अवार्डको वर्ष खेलाडीमा पनि मनोनयनमा परेका छन्। पिपुल्स च्वाईस अवार्डको मनोनयनमा परेका यी खेलाडी वर्ष खेलाडीमा पनि मनोनयनमा पनि परेका हुन्।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक विजेता गल्फका सुवास तामाङ पनि दुई विधामा मनोनयनमा परेका छन्।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पौडीकी गौरिकाले ४ तथा कराँतेका श्रेष्ठ, गल्फका सुवास तामाङ र तेक्वान्दोकी आयशा शाक्यले दोहोरो स्वर्ण पदक जितेका थिए। अन्य खेलाडी सागका स्वर्ण पदक विजेता खेलाडी हुन्।
मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम अवार्ड समारोहमा घोषणा गरिनेछ। मञ्चले यसअघि पिपुल्स च्वाईस अवार्डको मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक गरिसकेको छ। मनोनयनमा पर्ने खेलाडीलाई एनएसजेएफको फेसबुक पेज र ईसेवा एपबाट भोटिङ गर्न सकिनेछ।
१७ औं पल्सर स्पोर्टस् अवार्ड आगामी पुस २८ गते ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ। कोरोना सक्रमणका कारण यो वर्ष अवार्ड समारोह भर्चुअल रुपमा नै हुने मञ्चले जनाएको छ।
Shares

प्रतिक्रिया