ad ad

खेल


पब्जी खेलेरै नेपाली युवाले कमाए ७१ लाख, २३ करोडमा नजर

पब्जी खेलेरै नेपाली युवाले कमाए ७१ लाख, २३ करोडमा नजर

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार १०:३८,

मोबाइलमा युवाहरुमाझ लोकप्रिय गेम पब्जी खेलेरै नेपाली युवाहरुले ७१ लाख रुपैयाँ पुरस्कार जितेका छन्।

‘पब्जी मोबाइल प्रो–लिग साउथ एसिया’को विजेता र उपविजेता बनेका दुई नेपाली टोलीले उक्त रुपैयाँको पुरस्कार हात पारेका हुन्।

लिगमा नेपाली पब्जी टिम एबरुप्ट स्लेयर्स एएसएलले उपाधिसँगै ४० हजार डलर अर्थात् नेपाली ४७ लाख ४० हजार रूपैयाँ तथा दोस्रो स्थान हात पारेको अर्को नेपाली टोली ‘द रियल सोल्जर्स’ले २० हजार डलर अर्थात् नेपाली २३ लाख ७० हजार रुपैयाँ गरी समग्रमा ७१ लाख १० हजार रुपैयाँ जितेका हुन्।

एएसएलबाट विनय श्रेष्ठ, प्रज्वलजंग राई, निश्चल खड्का, तरुण रौनियार, सुजन बन्जारा, सौरभ आचार्य र रिजन खत्रीले खेलेका थिए। यस टोलीका व्यवस्थापकमा प्रकाश सापकोटा तथा टोली सञ्चालक रिजन खत्री हुन्।

No description available.

यस्तै रियल सोल्जर्सबाट यूजन लामा, अजय श्रेष्ठ, गोल्जेन होल्मे, निमा तामाङ, विकास सेढाईंले खेलेका थिए। यस टोलीको व्यवस्थापन पनि प्रकाशले नै गर्दै आएका छन्।

इ–स्पोर्ट्सको बादशाह मानिने चाइनिज कम्पनी टेनसेन्ट गेम्सले पब्जी कर्पोरेसनसँगको सहकार्यमा दक्षिण एसियामा भारतको नोडविन गेमिङलाई यो प्रतियोगिता आयोजनाको जिम्मा दिएको छ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल)एक इ–स्पोर्ट्सका पारखीहरुबीच हुने भर्चुअल प्रतियोगिता हो। पब्जी खेलका माध्यमबाट अंक बटुल्दै अन्त्यमा सर्वाधिक अंक बटुल्ने टोलीलाई विजेता घोषणा गरिन्छ।

२० खेल खेलेका सबै टोलीलाई २१२ अंकसहित एएसएलले पछि पार्दै पहिलो स्थान हासिल गरेको हो। यस्तैपाँच अंकले पछि रहँदै सोल्जर्सले दोस्रो स्थानमा चित्त बुझाएको थियो।

दक्षिण एसियाली प्रतियोगितामा सुरुमा २० वटा टोलीले प्रतिस्पर्धा जनाएका थिए। चारवटा टिमको एउटा समूह बनाएर पाँच समूहबीच लिग गराइएको थियो। प्रत्येक समूहको शीर्ष टोलीलाई समेट्दै फाइनलमा अन्तिम १६ टोलीबीच प्रतिस्पर्धा गराइएको हो।

No description available.

शीर्ष १६ मा नेपाल, पाकिस्तान र बंगलादेशका टोली पुगेका थिए। उनीहरुबीच फाइनल चार दिन चलेको थियो। हरेक दिन पाँच विभिन्न म्यापमा खेल खेल्नुपथ्र्यो।

अक्टोबर १५ बाट सुरु भएको लिग चरण नोभेम्बर १ सम्म चलेको थियो। यस्तै नोभेम्बर ५ देखि चलेको फाइनल चरण आइतबार सकिँदा नेपाली टोली अग्रस्थानमा रहे।

पब्जी प्रो च्याम्पियनसिपको दोस्रो संस्करण हो। पहिलो संस्करणमा दक्षिण एसियाका अन्य टोलीले खेलेको देखेपछि आफूहरुले पनि टिम दर्ता गराएको इलेक्ट्रोनिक्स इन्जियरिङ अध्ययनरत प्रकाश बताउँछन्।

‘त्यसबेला प्रतियोगितामा सहभागिता जनाउनेले खेल्ने र हामीले फुर्सदमा खेल्ने गेम एउटै थियो। खाली प्रतियोगितामा आफ्नो क्षमता र दिमाग बढी प्रयोग गर्नुपर्छ’, प्रकाशले भने, ‘नेपालको प्रतिनिधित्व गर्दै विश्व च्याम्पियनसिपमा पुगेका छौँ। ग्लोबल च्याम्पियनसिपमा स्किलमात्रै भएर हुँदैन। खेलमा पर्ने जोनले जित्ने नजित्ने निर्भर गर्छ, भाग्य पनि चाहिन्छ। त्यहाँ पनि राम्रो गर्दै जाने लक्ष्य लिएका छौँ।’

आइतबार सम्पन्न दक्षिण एसियाली प्रतियोगिताबाट शीर्ष तीन टोली ग्लोबल च्याम्पियनसिपमा छनोट भएका छन्। दुई नेपालीसहित तेस्रो स्थानमा रहेको बंगलादेशको ए वान इ–स्पोर्ट्स पनि विश्व ग्लोबल च्याम्पियनसिपका लागि छनोट भएको छ।

विश्वभरबाट छानिएर आएका २४ टोलीबीच प्रतिस्पर्धा हुने ग्लोबल च्याम्पियनसिपको विजेताले २३ करोड रुपैयाँ हात पार्नेछ।

हाल अमेरिकामा रहेका रिजन खत्रीले पब्जीका पारखी आफ्ना साथीहरु समेट्दै एबरुप्ट स्लेयर्स एएसएल टोली निर्माण गरेका हुन्। खेल जित्नका लागि सबै सदस्यबीच समन्वय आवश्यक हुने र लकडाउनकाबीच सबै जनाले निरन्तर अभ्यास गर्न पाएकाले सफलता हात परेको प्रकाश बताउँछन्।

‘हामी सबै विधार्थी हौँ। पढ्नु पनि पर्छ। तर लकडाउनले स्कुल क्याम्पस र घुमफिर बन्द भएपछि हामीले समय दिनसकेका छौँ’, प्रकाशले भने, ‘खेलअघि चार जनाको तालमेल मिलाउनका लागि दश÷बाह्र घण्टा अभ्यास गर्नुपर्छ।’

नेपालमा इ–स्पोर्ट्सबारे अझै प्रचारप्रसार र ज्ञान नभइसकेको तर समर्पित भएर लाग्दा यसमा पनि भविष्य बन्न सक्ने प्रकाशको बुझाइ छ।

पछिल्लो समय पब्जीसहित अनलाइन गेमिङ नेपालमा पनि लोकप्रिय बन्दै गएको छ। नेपाली गेमरहरुले इन्टरनेटका गेमहरु खेलेरै राम्रो आम्दानी गर्नसक्ने अवस्था सिर्जना भएको धारणा राख्दछन्।

फोके गेमिङ नेपाल, नेरो गेमिङ, एसके ४९, कर्मा गेमिङजस्ता नेपाली स्ट्रिमरहरु हाल नेपालमा चर्चित छन्। यिनीहरुको युट्युब र फेसबुकमा हजारौं फलोवर्स छन्। युट्युबका साथै सुपरच्याटबाट यिनीहरुले आम्दानी गर्नसक्दछन् साथै पब्जीकै जस्तो विभिन्न प्रतियोगिता जितेर पनि गेमरहरुले आम्दानी गर्दछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .