खेल


ब्याडमिन्टन सामग्री खरिदको छानबिन गर्न राखेपलाई मन्त्रालयको निर्देशन

ब्याडमिन्टन सामग्री खरिदको छानबिन गर्न राखेपलाई मन्त्रालयको निर्देशन

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार १२:२७,

युवा तथा खेलकुद मन्त्रालयले गत वर्ष आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ब्याडमिन्टनका सामग्री खरिद र व्यवस्थापनका विषयमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएको छ।

सागमा नेपाली टोलीको सामग्री खरिदमा अनियमितता भएको समाचार सार्वजनिक भएसँगै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको उपस्थितिमा शुक्रबार मन्त्रालयमा राखेपका पदाधिकारी र मन्त्रालयका उच्चपदस्थ कर्मचारीको बैठक बसेको थियो।

बैठकमा ब्याडमिन्टनमा भएको भनिएको अनियमितता, भदौ १३ गते राखेपको ५७औं वार्षिकोत्सव मन्त्रिपरिषद्को पछिल्लो बैठक, गृह मन्त्रालयको सुरक्षा निर्देशन र स्वास्थ्य मन्त्रालयको स्वास्थ्यसम्बन्धी निर्देशनलाई पालना गर्दै खेलका उपलब्धि, सम्भव भएसम्म रचनात्मक कार्यक्रम गर्ने निर्णय भएको राखेपका प्रशासन प्रमुख कुलबहादुर थापाले बताए।

‘पछिल्लो समय जसरी सञ्चारमाध्यममा विभिन्न खेलको सामान खरिद र व्यवस्थापनमा अनियमिता भएको समाचार आइरहेको छ, त्यो विषयमा छानबिन गर्न मन्त्रालयले निर्देशन दिएको छ’, उनले भने, ‘पत्र म आफैँले बोकेर आएको छु। अब आइतबार बसेर छलफल गरेपछि कसरी अगाडि बढ्ने भनेर निर्णय गर्छौँ। यो विषयलाई छिटोभन्दा छिटो टुंग्याएको नै राम्रो हुन्छ। आरोप लगाउनेले लगाउने र आरोप सुनिरहनुभन्दा के कस्तो भनेर छानबिन गर्नुपर्छ।’

बैठकमा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव रमेशकुमार सिलवाल, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सहसचिव रामबन्दु सुवेदी, भक्तबहादुर ढकाल, राखेप सदस्य सुवास श्रेष्ठ, राखेपका प्रशासन प्रमुख कुलबहादुर थापालगायतको उपस्थिति थियो।

छलफलमा मुख्यतः सागका लागि ब्याडमिन्टन खेलाडीको सामान खरिदमा व्यापक अनियमितता भएको भन्ने विषयमा चर्चा भएको बताइएको छ। राखेपले अब समिति बनाएरै छानबिन अघि बढाउने तयारी गरेको छ।

यसैबीच, ब्याडमिन्टनका राष्ट्रिय खेलाडीले सागका लागि खरिद भएको सामग्रीमा भ्रष्टाचार भएको आशंकामा छानबिन गर्न राखेपमा संयुक्त रुपमा उजुरी दर्ता गराएका छन्। राखेपले आफूहरुलाई दिएको पोशाक, जुत्ता, ज्याकेट तथा अन्य सामग्रीहरु अहिलेसम्म नपाएको र पाएका केही सामग्रीहरु गुणस्तरहीन रहेकाले छानबिन गर्न सदस्यसचिव रमेश कुमार सिलवाललाई निवेदन दिएका छन्।

आफूहरुले पाएको सामाग्रीमा पनि दुई गुणा बढी मूल्य राखेर न्यून गुणस्तरको सामान खरिद गरी भ्रष्टाचार गरेकाले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad