समाज


बुटवलपछि भैरहवा क्षेत्रमा पनि लकडाउन घाेषणा

बुटवलपछि भैरहवा क्षेत्रमा पनि लकडाउन घाेषणा

प्रकाश न्यौपाने
साउन ३०, २०७७ शुक्रबार १२:१३,

बैंकका कर्मचारीदेखि टोलटोलमा समेत कोरोना भाइरसका संक्रमित भेटिएपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको नगरपालिकाको बैठकले साउन ३१ गते राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म नगर क्षेत्रमा पूर्ण लकडाउन गर्ने निर्णय गरेको सूचना अधिकृत देवप्रसाद ज्ञवालीले जानकारी दिए।

‘नगरमा कोरोनाको जोखिम बढेपछि अत्यावश्यक सेवाबाहेक अन्य पूर्णरुपमा बन्द गर्ने गरी लकडाउन गरिएको छ’, ज्ञवालीले भने, ‘कोरोनाबाट बच्न नगरबासी सबैले लकडाउनको पूर्णपालना गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ।’ लकडाउन भए पनि अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन्।

नगरपालिकाले जनाएअनुसार लकडाउन अवधिमा स्वास्थ्य सेवा, खानेपानी, दमकल, सरसफाई लगायत अत्यावश्यक सेवाहरु सूचारु हुनेछन्। बैठकले दुध तथा दुधजन्य पदार्थ, खाद्यान्न, तरकारी फलफूलको बिक्रीवितरण बिहान ६ देखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ। ‘यी सेवा सञ्चालन गर्दा सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ’, सूचना अधिकृत ज्ञवालीले भने।

खाद्यान्न लोड अनलोड गर्ने ढुवानीका साधनले सुरक्षा सावधानी अपनाई सुरक्षाकर्मीको रोहवरमा बेलुका ७ देखि राति ११ बजेसम्म मात्र काम गर्न पाउने नगरपालिकाले बताएकोे छ। यस्तै, सिद्धार्थ राजमार्ग हुँदै आउजाउ गर्ने सवारीसाधनले नगर क्षेत्रमा यात्रु चढाउन, ओराल्न र रोक्न नपाईने गरी सञ्चालनको अनुमति दिने निर्णय गरिएको छ।

औद्योगिक तथा निर्माणजन्य कार्यमा संलग्न कर्मचारी तथा श्रमिकहरुको सुरक्षा मापदण्ड पालना गरी यस्ता क्षेत्र सञ्चालन गर्न अनुमति दिइएको छ। नगरका सरकारी कार्यालयहरु सम्बन्धित कार्यालय प्रमुखले अत्यावश्यक सेवाका लागि मात्र आवश्यक कर्मचारी उपस्थित गराई व्यवस्थापन गर्नसक्ने छ।

नेपाल सरकारले सञ्चालन गर्न नपाइने भनी रोक लगाएका क्रियाकलाप सञ्चालन गर्न नपाइने र लकडाउनको समयमा सिद्धार्थनगर आउनु पर्ने र जानुपर्ने व्यक्तिले लकडाउन हुने समयअघि नै छोडिसक्नु पर्ने बैठकले निर्णय गरेको छ। नगर क्षेत्रमा ठेला, साइकलजस्ता साधन प्रयोग गरी व्यापार गर्न रोक लगाइएको छ। फुटपाथ, सडकपेटी, मायादेवी बजार लगायतका हाटबजारमा कुनै पनि वस्तु वा सेवा बिक्री गर्न पाइने छैन।

यस अघि बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रभित्र  बिहीबार रातिदेखि लकडाउन गरेकाे छ। बुटवल उपमहानगरको बैठकले पनि आगामी भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको थियाे।

याे पनि: आजदेखि बुटवलमा लकडाउन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad