नेपाल धितोपत्र बोर्डले चार अर्ब ४५ करोड रुपैयाँ बढीको साधारण सेयर निष्काशनका लागि पाइपलाइनमा रहेको बताएको छ।
बोर्डले बीमा, लघुवित्त र जलविद्युत र अन्य गरी हालसम्म ४ अर्ब ४५ करोड रुपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशनको लागि आवेदन परेको बताएको हो।
बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले बोर्डमा प्राप्त भएका आवेदनमा अध्ययन भइराखेकाले सम्भवतः चालु आर्थिक वर्षभित्रमै अधिकांश कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन गर्न पाउने बताए।
यस्तै अहिले पनि करिब १ अर्बबराबरको आईपीओ स्वीकृत भइसकेको उनले बताए। जसमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रुपैयाँबराबरको र समाज लघुवित्त वित्तीय संस्थाको ८६ लाख रुपैयाँबराबरको साधारण सेयर निष्काशन हुँदै छ।
त्यस्तै लिबर्टी इनर्जी कम्पनीको ३७ करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर निष्काशन हुँदै छ। जसमध्ये लिबर्टीले भदौ ३ देखि र रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तले भदौ चार गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन गर्ने मिति तय गरेका छन्।
चालू आथिक वर्षमा जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त कम्पनीहरुको सबैभन्दा बढी आवेदन पर्ने सम्भावना रहेको पनि केसीले बताए। अहिले पनि केही कम्पनीहरु आईपीओ निष्काशनको प्रक्रिया बुझ्न आइराखेकोले अझ बढी आवेदन पर्न सक्ने सम्भावना रहेको बताए।
त्यसबाहेक केही जलविद्युत् कम्पनीहरुले पनि आईपीओ निष्काशन गर्नका बुझन आएको केसीले बताए। हाल बोर्डमा १६ वटा कम्पनीले प्राथमिक सार्वजनिक निष्काशनका लागि आवेदन दिएका छन्। जसमध्ये चार वटा कम्पनीको प्रारम्भिक अध्ययनको क्रममा छन भने ५ वटा कम्पनीको अध्ययनसँगै प्रतिबद्धताका लागि पठाएको र बाँकी सात वटा कम्पनीको अध्ययनको क्रममा रहेको बोर्डले जनाएको छ।
Shares

प्रतिक्रिया