युरोपा लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार राति भएको खेलमा सेभिल्ला र सख्तर डोनेट्स्कले अन्तिम ४ मा स्थान बनाएसँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने टोलीको टुंगो लागेको हो।
गएराति सेभिल्लाले वल्भ्सलाई १–० ले तथा सख्तरले एफसी बासेललाई ४–१ को फराकिलो अन्तरले पराजित गरे। सेभिल्लाका लागि खेल सकिन २ मिनेटअघि लुकास ओकाम्पोसले निर्णायक गोल गरे।
अर्को खेलमा सख्तरका लागि जुनियर मोराइस, टाइसन, एलन प्याट्रिक र डोमिल्सन कोर्डिरो डस सान्तोसले गोल गरे। दोस्रो हाफको अतिरिक्त समयमा बासेलका रिकी भान वल्फस्विन्केलले सान्त्वना गोल फर्काए।
यसअघि सोमबार राति भएको खेलमा युनाइटेडले कोपनहेगनलाई १–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। अर्को खेलमा इन्टर मिलानले बायर्न लिवरकुसेनलाई २–१ ले पाखा लगायो।
फाइनल प्रवेशका लागि सेभिल्लाले आगामी १६ अगष्टमा म्यानचेस्टर युनाइटेडसँग भिड्नेछ। दोस्रो सेमिफाइनलमा इन्टर मिलान र सख्तर १७ अगष्टमा आमनेसामने हुनेछन्। फाइनल भीडन्त २१ अगष्टमा हुनेछ।
प्रतिक्रिया