खेल


विश्वकप छनौट खेल्न मलेसियामा नेपालको तयारी पूरा

विश्वकप छनौट खेल्न मलेसियामा नेपालको तयारी पूरा

यज्ञराज जोशी
साउन २, २०७६ बिहिबार १०:१,

मलेसियामा १० दिन बिताएर नेपालले अन्तिम तयारी गरेको हो। नेपाली टोली शुक्रबार(साउन ३)गते मलेसियाबाट एसिया छनौट आयोजना स्थल सिंगापुर प्रस्थान गर्दैछ।

नेपालमा दुई साताको बन्द प्रशिक्षण पश्चात नेपाली टोली अन्तिम तयारीका लागि मलेसिया प्रस्थान गरेको थियो। जहाँ नेपालले नेट, खेलअभ्याससँगै दुईवटा टी–२० अन्तर्राष्ट्रिय खेलसमेत खेल्यो।

nepal championमलेसियाविरुद्धको शृंखला जितेपछि नेपाली टिम

नेपालले एसिया छनौटकै तयारीमा रहेको घरेलु टोली मलेसियासँग खेलेका दुवै टी–२० अन्तर्राष्ट्रिय खेल क्लिनस्विप गरेको थियो। पहिलो खेलमा ७ विकेटको सहज जित निकालेपनि दोस्रो खेलमा भने मलेसियाले कडा टक्कर दियो। नेपाल ६ रनको झिनो अन्तरले विजयी भयो।

आइसिसी वरियतामा आफूभन्दा २४ स्थान तल रहेको मलेसियाले पनि कडा टक्कर दिएपछि कप्तान पारस खड्का कुनै पनि टोलीलाई कमजोर मान्न नहुने पाठ सिकेको बताउँछन्।

‘हामीले खेल्न लागेको एसिया छनौट ट्वान्टी–ट्वान्टी फोरम्याट हो। यो फोरम्याट कुनै पनि टिमले कुनै पनि टिमलाई हराउँन सक्छ,’ पारस भन्छन्, ‘मलेसियाले पनि हामीलाई त्यही कुरा सिकाएको छ। तर, हाम्रा सम्पूर्ण खेलाडीहरुले अन्तिमसम्म डटेर खेले। यसले आत्मविश्वास बढेको छ।’

खेलाडीको प्रदर्शन
मलेसियाविरुद्धको दोस्रो टि–२० मा टस जितेर ब्याटिङ थालेको नेपालले १७३–६ स्कोर बनाएको थियो। तर, जवाफमा पहिलो विकेटका लागि वीरनदीप सिंह र सइज अजिजबीच ७५ रनको साझेदारी हुँदा नेपाल अप्ठारोमा परेको थियो। तर, नेपालबाट दोस्रोपटक भ्रमणमा गएका अभिनाश बोहराले वीरनदीपलाई आउट गर्दै उक्त साझेदारी तोडेपछि नेपाल खेलमा फर्किएको थियो।

Avinash Boharaअभिनाश बोहरा

गत जनवरीमा भएको यूएई भ्रमणका क्रममा अभिनाश पहिलोपटक नेपाली टोलीमा परेका थिए। यूएईसँग एकदिवसीय र टि–२० शृंखला समान २–१ ले जित्दा उनी म्यान अफ द सीरिज भए। दोस्रो टि–२० मा मलेसियालाई अन्तिम ६ बलमा १४ रन आवश्यक थियो। त्यसबेला पारसले अभिनाशको हातमा बल थमाए। आफूलाई पुनः डेथ ओभर स्पेशलिस्टको रुपमा प्रमाणित गर्दै अभिनाशले नेपाललाई ६ रनको जित दिलाए।

‘हामीलाई अभिनास के कुरामा पोख्त छ भनेर थाहा थियो। उसलाई त्यसैअनुरुपको तयारी समेत गराइएको थियो,’ पारसले भने, ‘अन्य खेलाडीहरु महँगा भइरहेका बेला उसले आफ्नो क्षमता देखायो। शृंखलामा सबै खेलाडीले राम्रो प्रदर्शन गरेका छन्। यसले निरन्तरता पाउँने हामीले आशा गरेका छौं।’

अभिनाशसँगै टोलीमा फर्किएका शरद भेषावकरले आफ्नो अनुभव देखाए। ४२ रनमा नेपालका शीर्ष ३ विकेट गुमाइसकेको अवस्थामा क्रिजमा आएका शरदले २८ बलमा ४० रनको पारी खेल्दै नेपालका लागि विजयी स्कोर बनाए।

SI M4996प्रशिक्षक उमेश पटुवाल र शरद भेषावकर

यस्तै अन्तिम तयारीका क्रममा फिनिसरका रुपमा रहेका विकेटकिपर विनोद भण्डारीको प्रदर्शन नेपालका लागि सुद पक्ष रह्यो। पछिल्लो समय लयमा नरहेका विनोद टोली बाहिर रहँदै आएका थिए। दोस्रो खेलमा २५ बलमै अर्धशतक प्रहार गरेका विनोदले पुनः आफूलाई प्रमाणित गरेका छन्।

‘टिम बाहिर रहँदा आफैलाई मुल्यांकन गरिरहेको थिए। रन बनिरहेको छैन् भन्ने लागिरहेको थिएन्,’ विनोद भन्छन्, ‘मेहनत त गरिरहेको थिए तर कसरी मेहनत गर्ने कुन बेला कुन सट खेल्ने नयाँ प्रशिक्षक आएपछि त्यो क्लियर भयो। प्रशिक्षकको सल्लाहले अझै राम्रो गर्न सके।’

नेपाललाई गत वर्ष एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिलाउँदा ब्याटिङ प्रशिक्षक रहेका उमेश पटुवाल अघिल्लो महिनामात्रै नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। प्रशिक्षक नियुक्त भएपछि पटुवालले त्रिविमा नेपाली टोलीको दुईहप्ता अभ्यास गराउँदै मलेसिया भ्रमणमा लगेका हुन्।

उस्तै ओपनिङ समस्या र दीपेन्द्रको खाँचो
ओपनिङ जोडी र मध्यक्रममा दीपेन्द्रसिंह ऐरीको खाँचो भने नेपाली टिममा झल्कियो। मलेसियाविरुद्धको पहिलो खेलमा कप्तान पारस खड्कासँग प्रदीपसिंह ऐरी ओपनरमा आएका थिए। तर २९ रनमै साझेदारी टुट्यो। दोस्रो खेलमा पारसको जोडीका रुपमा पवन सर्राफलाई उतारियो। ३४ रनमै साझेदारी टुटेपछि त्यो प्रयोग सफल हुन सकेन्।

त्यस्तै मध्यक्रममा ज्ञानेन्द्र मल्ल र रोहित पौडेल लगातार दुई खेलमा चल्न सकेनन्। त्यसस्थानमा नेपालले गत जेठमा भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल्नेक्रममा बायाँ हातको माझी औँलामा चोट लागेका कारण आराम पाएका दीपेन्द्रसिंह ऐरीलाई मिस गर्यो।

Dipendra Aireeदीपेन्द्रसिंह ऐरी

मध्यक्रमका भरपर्दा ब्याट्सम्यान दीपेन्द्रलाई थप निको होस् भनेर दुबै खेलमा बेन्चमा राखिएको थियो। खेलपछि उनी टोलीको अभ्यासमा फर्किएकाले एसिया छनौटमा टोलीमा फर्कने आशा गरिएको छ।

कप्तान पारस खड्का मलेसियाको तयारीले नेपाली टोलीले क्षमता विकास गर्न पाएको बताउँछन् । ‘समग्रमा यहाँको तयारीबाट हामीले आफ्नो क्षमता विकास गरौं। तर, ब्याटिङ बलिङ र फिल्डिङमा अझै सुधार ल्याउँनुपर्छ। यहाँबाट हामी मानसिक र शारिरिक रुपमा बलियो बनेर जादैँछौं। त्यसलाई सिंगापुरमा कार्यान्वायन गर्नसक्छौं भन्ने विश्वास छ,’ उनले भने।

पहिलो खेल कतारसँग
एसिया छनौटमा नेपालसहित आयोजक सिंगापुर, कुवेत, कतार र मलेसिया गरी ६ टोलीले सहभागिता जनाउँदैछन्।

एसिया छनौटमा नेपालको पहिलो खेल साउन ७ गते कतारसँग छ। साउन ८ गते मलेसिया, साउन ११ गते कुवेत र साउन १२ गते नेपालले सिंगापुरको सामना गर्नेछ।

टि–२० प्रतियोगितामा राउण्ड रोबिन आधारमा सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्षमा रहने एउटा टोली ग्लोबल छनौटमा पुग्ने छ।

Binod Bhandariविनोद भण्डारी

असोजमा यूएईमा हुने ग्लोबलमा नेपालसहित १४ राष्ट्रले सहभागिता जनाउँनेछन्। त्यसमध्ये ६ राष्ट्रले विश्वकप खेल्न पाउँनेछन्।

ग्लोबल छनौट खेल्ने स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड्स, हङकङ, ओमान, आयरल्याण्ड्स, यूएई, पपुवा न्यूगिनी, केन्या, नामिबिया र जर्सी गरी ११ टोलीको टुंगो लागिसकेको छ। त्यसमा नेपाल खेल्ने एसिया छनौटबाट एक टोली र अमेरिका छनौटबाट दुई टोली थपिनेछन्।

नेपाली टोली
कप्तान पारस खड्का, अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदीप ऐरी, पवन सर्राफ, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .