आइतबार रातिको खेलमा बार्साले आलाभेसको घरेलु मैदानमा ५–० को जित निकालेको हो।
ला लिगामा दोस्रो स्थानमा रहँदै बार्साले यस सिजनको अन्त्य गरेको हो। यस सिजनको उपाधि बार्साको चिर प्रतिद्वन्दी रियल मड्रिडले जितिसकेको छ।
लिग समाप्त भइसक्दा ३८ खेलबाट मड्रिडले ८७ अंक बटुल्दा बार्साले समान खेलबाट ८२ अंक जोड्यो।
आइतबार राति नै भएको अन्तिम खेलमा लिग विजेता मड्रिडले लेगनाससँग २–२ को बराबरी खेलेको थियो।
आलाभेसविरुद्ध बार्साको जितमा मेस्सीले २ गोल गर्दा लुइस स्वारेज, आन्सु फाती र नेल्सन सिमिडोले समान एक–एक गोल गरे।
यस सिजन ला लिगाको उपविजेतामा सीमित बनेका मेस्सीले किर्तिमानी भने बनाउन सफल भए।
मेस्सी यस सिजन पनि ला लिगाको सर्वाधिक गोलकर्ता बन्दै किर्तिमानी सातौं पीचीची अवार्ड प्राप्त गर्न सफल भएका हुन्।
मेस्सीले यस सिजन २५ गोल गर्दा रियल मड्रिडका करिम बेन्जेमा २१ गोलमै सीमित बनेका हुन्।
मेस्सीले सन् २०१६ को सिजन यता लगातार चारपटक यस अवार्ड प्राप्त गरेका छन्। त्यसअघि सन् २००९, २०११ र २०१२ मा उनले यस अवार्ड पाएका थिए।
सात पटक स्पेनिस ला लिगाको गोल्ड बुट ‘पीचीची अवार्ड’ प्राप्त गर्ने मेस्सी एक्ला खेलाडी हुन्।
स्पेनका खेलाडी तेल्मो जाराले पीचीची अवार्ड ६ पटक जितेका थिए।
यसपटक मेस्सी युरोपियन गोल्डेन बुटमा भने कमजोर सावित भए। यस सिजन ३४ गोल गरेका बार्यन म्युनिखका रोवर्ट लेवानडोस्कीले युरोपियन गोल्डेन बुट जित्ने निश्चित भइसकेको छ।
रोनाल्डोले यस सिजन युभेन्ट्सबाट २८ गोल गरेका थिए। एजेन्सी
प्रतिक्रिया