सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदको संयुक्त सदनमा खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको बताएका हुन्।
गत आर्थिक वर्षमा सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको थियो।
सरकारले यो वर्ष शिक्षा र खेलकुदका लागि फरकफरक बजेट घोषणा गरेको हो। शिक्षा क्षेत्रका लागि सरकारले २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री वाग्लेले खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताको १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहितको स्तरोन्नति गर्ने बताएका हुन्।
उनले प्रमुख ८ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रगंशाला निर्माण गर्ने, विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा २ हजार क्षमताको इन्डोर बहुउद्देश्यीय रंगशाला तीन वर्षभित्र निर्माण गर्ने बताए।
मूलपानी क्रिकेट रगंशाला तथा एकेडेमी, मोरङको गिरिजाप्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्ने, खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनोट गरी आवासीय सुविधासहितको तालिम दिने व्यवस्था मिलाउने, अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने बताए।
यस्तै सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित ११ औँ राष्ट्रिय खेलकुदका आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको अर्थमन्त्री वाग्लेले जानकारी दिए।
Shares

प्रतिक्रिया