घरेलु मैदानमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय महिला भलिबल टोली चौथो भएको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको बहुउद्देश्यीय कभर्ड हलमा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भएको हो। नेपाल भारतसँग २२-२५, २३-२५, २५-१५ र २२-२५ ले पराजित भएको छ।
प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले २२-२५ ले गुमाएको थियो। दोस्रो सेट २३-२५ भारतलाई सुम्पेको नेपालले तेस्रो सेटमा भने उत्कृष्ट पुनरागमन गर्दै नेपालले २५-१५ ले सहजै खेल आफ्नो पक्षमा पारेको थियो।
रोमाञ्चक तेस्रो सेटमा नेपालले भारतविरुद्व एक समय १६-७ को फराकिलो अग्रता बनाएको थियो। तर चौथो तथा अन्तिम सेटमा नेपालले २२-२५ ले गुमाउँदा चौथो स्थानमा सिमित हुनुपर्यो।
चारै सेटको सुरुवातमा नेपालले भारतमाथि दबाब सिर्जना गरे पनि अन्तिममा सहजै अंक गुमाउन पुग्यो। यसअघि समूह चरणमा भएको पहिलो भेटमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो।
काभाले आयोजना गरेको च्याम्पियनसिपमा पहिलो पटक नेपाली टोलीको प्रदर्शन कमजोर रह्यो। काभाको च्याम्पियनसिपमा नेपाल पहिलो पटक उपाधिविहीन बन्न पुग्यो।
सेमिफाइनलमा नेपाल इरानसँग ३-० को सोझो सेटमा पराजित हुँदै तेस्रो स्थानका लागि खेलेको थियो। आजै हुने फाइनल खेलमा इरान र काजकस्तान भिड्नेछन्।
Shares

प्रतिक्रिया