संघीय राजधानीमा फुटबल गतिविधि लगभग ठप्पजस्तै छ। घरेलु फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिग पछिल्लो पटक सकिएको ३ वर्ष हुनै लाग्यो।
दबाबका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत महिना पुरुषको राष्ट्रिय राष्ट्रिय लिग सुरु गर्यो। एन्फा महिला लिग पनि केही दिन चल्यो। तर श्रम स्वीकृतिविना विदेशी खेलाडीलाई खेलाएको सूचना पाएको र अनुसन्धान सुरु गर्न लागेको अध्यापनको पत्रसँगै एन्फाले राष्ट्रिय लिग र महिला लिग दुवै रोक्यो।
एन्फालाई फुटबल रोक्न सजिलो उपाय के नै हुन्थ्यो र! विदेशी खेलाडीको श्रम स्वीकृति लिने वा नेपाली खेलाडी मात्र राखेर राष्ट्रिय लिग र महिला लिग रोक्नु नै एन्फाले बुद्धिमानी सम्झियो। त्यसमाथि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले चैत ११ गते ३ महिनाको लागि निलम्बन गरेपछि तत्काल राजधानीमा फुटबल चलायमान हुनेछैन।
साफ महिला च्याम्पियनसिपबाहेक घरेलु मैदानमा अन्तर्राष्ट्रियस्तरको फुटबल नभएको त वर्षौँ बितिसक्यो।

त्यो एउटा निराशाको पक्ष भयो। अर्कोतर्फ आफ्नो बाल्यकाल र जवानी बिताएको फुटबलमा केही गर्नुपर्छ भन्ने जोसका साथ दुई फुटबलर नयाँ खेलाडी तयार पार्नमा उत्साहित भएर जुटेका छन्।
राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जन र गोलरक्षक विकेश कुथु ले झन्डै ६ महिनाअघि ट्वेल्व फुटबल ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएका छन्। उनीहरूसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका अन्य खेलाडी पनि अहिले विभिन्न फुटबल प्रशिक्षण केन्द्रमार्फत नयाँ पुस्तालाई प्रशिक्षण दिन सक्रिय छन्।

एन्फा निलम्बनको अवस्थामा रहँदा एन्फा बाहिर रहेनेको जिम्मेवारी झनै बढेको महसुस गरेर नियमित प्रशिक्षणसँगै ट्वेल्व ट्रेनिङ सेन्टरले एक साताको समर क्याम्प पनि सुरु गरेको छ।
बालबालिकामा फुटबलप्रतिको आकर्षण बढाउने प्रयासमा उनीहरू लागिपरेका छन्। शैक्षिक सत्रको समाप्तिपछि खाली समयको सदुपयोग गर्न बालबालिकालाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राख्न विभिन्न फुटबल क्याम्प सञ्चालन भइरहेका छन्। केही समयअघि राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टले पनि फुटबल क्याम्प सञ्चालन गरेका थिए।

सातदोबाटोस्थित भेल्पामा रहेको एनएसएफ मैदान पुग्दा ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको समर क्याम्पमा विभिन्न उमेर समूहका करिब ६० जना बालबालिका प्रशिक्षणमा व्यस्त थिए।
४ वर्षदेखि १६ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर सन्चालन गरिएको यो क्याम्प चैत २८ गतेदेखि सुरु भएर वैशाख ५ गतेसम्म सकिनेछ। बिहान ७ बजेदेखि ९ बजेसम्म प्रशिक्षण हुन्छ। सहभागीलाई उमेरअनुसार चार समूहमा विभाजन गरिएको छ।

त्रिभुवन आर्मी क्लबका गोलरक्षक विकेश भन्छन्, ‘अभिभावक व्यस्त हुने र बालबालिका मोबाइल तथा ग्याजेटमा समय बिताउने अवस्थालाई ध्यानमा राख्दै उनीहरूलाई मानसिक र शारीरिक रूपमा सक्रिय बनाउने उद्देश्यले क्याम्प आयोजना गरिएको हो।’
क्याम्पबाट सम्भावना देखिएका दुई प्रशिक्षार्थीलाई एक वर्षका लागि ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरमा छात्रवृत्ति दिइने पनि उनले जानकारी दिए।
भक्तपुर राधेराधेका परशुराम दाहाल आफ्ना दुई छोराछोरीलाई प्रशिक्षण गराउन हरेक बिहान मैदानमा पुग्छन्। उनी भन्छन्, बच्चाहरूलाई एक्सपोजर दिन र सामाजिक रूपमा घुलमिल हुन सिकाउन यस्तो क्याम्प निकै उपयोगी हुन्छ।

काठमाडौँ छाउनीकी अनिता महर्जन पनि १२ वर्षे छोरालाई लिएर प्रशिक्षणमा आउँछिन्। पहिलो पटक ठूलो मैदानमा खेल्न पाउँदा उनका छोरा निकै उत्साहित छन्। अनिता भन्छिन्, ‘छोराको सपना फुटबलर बन्ने हो। नेपालमा भविष्य कस्तो हुन्छ भन्न सकिन्न, तर फुटबलप्रतिको रुचि भने कायम रहोस् भन्ने चाहना छ।’
समर क्याम्पमा सहभागी आरम्भ रिजाल पनि फुटबलर बन्ने सपना बोकेर प्रशिक्षणमा जुटिरहेका छन्। पहिले फुटसल खेल्दै आएका उनी पहिलो पटक ठूलो मैदानमा खेल्न पाउँदा निकै उत्साहित छन्। उनका मनपर्ने नेपाली खेलाडी किरण चेम्जोङ हुन् भने अन्तर्राष्ट्रिय फुटबलमा उनी क्रिस्टियानो रोनाल्डोका समर्थक हुन्।

पूर्वकप्तान विराज महर्जन भने क्याम्पमा ठूलो उमेर समूहका खेलाडीलाई प्रशिक्षण दिइरहेका छन्। विद्यालय विदाको समयमा फुटबल सिक्न चाहने बालबालिकालाई लक्षित गरेर क्याम्प आयोजना गरिएको उनी बताउँछन्।
उनले भने, ‘समर क्याम्प फुटबल सिकाउने मात्र होइन, यसले बालबालिकामा नेतृत्व क्षमता र मिलेर काम गर्ने भावना पनि विकास गर्छ।’
अहिले नेपाली फुटबलका औपचारिक गतिविधि लगभग शून्यजस्तै छन्। तर यही कठिन समयमा पनि केही खेलाडीले नयाँ पुस्तामा आशा जगाउने प्रयास गरिरहेका छन्। यस्ता पहलहरूले दीर्घकालीन रूपमा नेपाली फुटबलको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गर्न सकिन्छ।










प्रतिक्रिया