खेल


विराट गोल्ड कपको उद्घाटन खेलमा झापा विजयी

विराट गोल्ड कपको उद्घाटन खेलमा झापा विजयी

सुमन सुस्केरा
चैत २८, २०८२ शनिबार २१:५१, विराटनगर

विराटनगरमा शनिबारदेखि सुरु भएको ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा-११ ले आर्मी क्लबलाई पराजित गरेको छ।

विराटनगरस्थित सहिद रंगशालामा भएको रात्रिकालीन प्रतिस्पर्धामा झापा-११ ले आर्मीलाई २-१ गोल अन्तरले स्तब्ध पारेको हो। झापाको जितमा स्ट्राइकर फागुराम थारूले दुई गोल गरे। 

उनी खेलको प्लेयरअफ द म्याच घोषित हुँदै नगद ११ हजार रुपैयाँ पाए। उनले खेलको १०औँ र ४४औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन्। 

आर्मीका तर्फबाट खेलको २३औँ मिनेटमा नवीन लामाले एक गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन। झन्डै ११ वर्षपछि सोही मैदानमा आमनेसामने भएका यी दुई टोलीबीचको भिडन्त निकै प्रतिस्पर्धात्मक भयो। 

२०७१ सालको विराट गोल्ड कप फाइनलमा पनि झापाले आर्मीलाई नै हराएर उपाधि जितेको थियो। शनिबारको नतिजासँगै झापाले पुरानो इतिहास मात्र दोहोर्‍याएन, आर्मीलाई प्रतियोगिताबाट घर फर्काइदिएको छ।

खेलको १०औँ मिनेटमै झापाले अग्रता लिएको थियो। अनुप तामाङले मिलाइदिएको क्रस पासलाई सदुपयोग गर्दै फागुरामले आकर्षक गोल गरे। 

त्यसपछि २३औँ मिनेटमा गौरव महर्जनको पासमा नवीन लामाले गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो। पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा राजेश दाहालको पासमा फागुरामले व्यक्तिगत दोस्रो गोल गरेपछि झापा २-१ गोलले अघि बढ्यो।

दोस्रो हाफमा आर्मीले खेल बराबरी गर्ने थुप्रै अवसर गुमायो। ७६औँ मिनेटमा भरत खवासको पासमा कप्तान जिलेस्पीजंग कार्कीको प्रहार झापाका डिफेन्डर योगेश गुरुङले गोल लाइनबाट क्लियर गरिदिए। 

लगत्तै ७८औँ मिनेटमा गौरव महर्जनको सशक्त प्रहार पोस्टको थोरै माथिबाट बाहिरियो। झापाका तर्फबाट सोलमन र राजेश दाहालको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गर्दै अन्तर बढ्न दिएनन्।

प्रतियोगिताको उद्घाटन कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले गरेका थिए। वैशाख ५ गतेसम्म चल्ने रात्रिकालीन प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता छ।

विराट गोल्ड कप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र अन्य विधागत उत्कृष्टलाई १५-१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

आइतबारको खेल ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबीच हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad