खेल


लकडाउनबीच कमलले भित्र्याए खुशीः विश्व च्याम्पियनसीपमा स्वर्ण

लकडाउनबीच कमलले भित्र्याए खुशीः विश्व च्याम्पियनसीपमा स्वर्ण

लक्ष्मी जि.सी
जेठ ३, २०७७ शनिबार ५:८,

कोरोना भाइरस (कोभिड—१९)को संक्रमण रोक्न सरकारले नेपालमा लकडाउन गरेको दुई महिना पूरा हुन लाग्यो। कोरोना लकडाउन र त्यसले उत्पन्न परिस्थितिले धेरैको जीवन कष्टकर बनेको छ। शनिबारसम्म २ सय ७६ जना संक्रमित भएका छन्। यो निराशाको समयमा नेपाली खेलाडी कमल श्रेष्ठले खुशी भित्र्याएका छन्।

साग स्वर्ण पदक विजेता उनले लकडाउनका कारण पहिलो पटक फ्रान्समा आयोजित ‘प्रथम २०२० अनलाइन विश्व च्याम्पियनसीप’मा ३० वर्षमुनिको अनलाइन पुम्सेमा पनि स्वर्ण नै जितेका हुन्।

‘स्वर्ण जितेको खबरले निद्रा परेन’
२७ देशका खेलाडीबीच प्रतिस्पर्धा गरेर स्वर्ण जित्दा कमललाई कस्तो लाग्यो त? ‘मैले सोचेकै थिइनँ यति धेरै देशका खेलाडी सहभागी च्याम्पियसीपमा स्वर्ण जित्छु भनेर। राति खबर पाएपछि खुशीले निदाउन पनि सकिनँ।’ बिहिबार बिहान नतिजा आउने तालिका थियो। स्वर्ण जितेका उनले बुधबार राति नै फोनबाट जानकारी पाए।

‘राति नै खबर पाएपछि राम्रोसँग निदाउन पनि सकिन। अनि रिजल्टको स्क्रिन सटहरु मागेर हेरेँ। त्यसपछि त झनै खुसीले निद्रा आएन’, उनी भन्छन्।
कमलले तेक्वान्दो खेल्न थालेको धेरै भएको छैन। २०६८ मा उनी नेपाल प्रहरीमा भर्र्ती भए। साँच्चै उनको खेल जीवन त्यहीँबाट सुरु हुन्छ। २०७० बाट कमलले तेक्वान्दो खेल्न सुरु गरे। त्यतिबेला उनी २२ वर्षका थिए।

‘प्रहरीमा नआएको भए सायद म खेलाडी बन्ने थिइनँ। सुरुमा रुपन्देहीको बुटवलमा दंगा नियन्त्रण प्रहरीमा थिएँ’, उनी सम्झन्छन्, ‘त्यो बेला हुलदंगामा लाठी हान्न जानपर्ने हुन्थ्यो। त्यही बेला काठमाडौमा मार्सल आर्टमा खुल्यो। अनि म तेक्वान्दोमा आबद्ध भएँ।’

त्यो समय नेपाल प्रहरीका खेलाडीलाई कोरियाली नागरिक उनले प्रशिक्षण दिन्थे। कमल उनको खेल कौसलबाट निकै प्रभावित छन्। ‘गुरुलाई मेरो खेल मन परेपछि यहीँ बसेर खेल्न थालेँ’, उन सम्झिन्छन्, ‘पहिला गेरोगी र पुम्से दुवै खेल्थेँ। अहिले पुम्से मात्र खेल्छु। त्यति बेला कास्य पनि जितेको थिएँ।’

केही वर्षको प्रशिक्षणपछि सन् २०१६ मा कमल पोखरामा भएको भएको वल्र्ड तेक्वान्दो हामादानमा सहभागी भए। त्यहाँ २ वटा रजत पदक जिते। त्यहीँबाट उनको अन्तर्राष्ट्रिय ‘करिअर’ यात्रा सुरु भयो। २०१७ मा भियतनाममा भएको एसियन च्याम्पियनसिप, २०१८ को एसियाली खेलकुद, सागको अनुभव उनीसँग छ।

राखेप च्याम्पियनसीपमा स्वर्ण जितेका कमलले गत वर्षको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ वटा स्वर्ण पदक जितेका थिए। उनको खेल जीवनले उचाई भने १३ औं सागमा लियो। सागमा उनले व्यक्तिगत पुम्सेमा स्वर्ण पदक जिते। टिम पुम्सेमा उनी सम्मिलित टोलीले कास्य पदक हात पार्‍यो।

एकपछि अर्को सफलताले उनमा खेलप्रतिको झुकाव अझ बढायो। लकडाउनको यो समयमा पनि उनले मेहनत गर्न छोडेका छैनन्। यसैबीच अनलाइन युरोपियन च्याम्पियनसीप आयोजना भयो। जसमा उनले ३० वर्ष मूनिको समूहमा २२ औं स्थान प्राप्त गरे। अहिले अनलाइनको विश्व च्याम्पियनसीपमा उनले स्वर्ण पदक जिते।

kamal postar

भिडियो खिचेर युट्युब लिंकमार्फत् सहभागिता
यो सफलताको श्रेय उनी तेक्वान्दो पुम्से प्रशिक्षक लक्ष्मण ऐर क्षेत्रीलाई दिन्छन्। ‘अनलाइनलमा यस्तो खेल हुन्छ भनेर थाहा नै थिएन तर लक्ष्मण गुरुले सबै कुरा गर्नुभयो उहाँकै प्ररेरणाले खेलेको हो’, उनी भन्छन्।

अब उनी अनलाइन र दर्शकबीच खेल्दाको फरक बुझ्ने भएका छन्। ‘दर्शकहरुबीच खेल्नु र अनलाइनमार्फत् प्रतिस्पर्धा गर्नु फरक कुरा हुन्। सबैको अगाडि खेल्न दृढ आत्मविश्वास चाहिन्छ’, उनी भन्छन्। अनलाइन प्रतिस्पर्धाको प्रक्रिया फरक हुनु स्वभाविकै हो। ‘अनलाइन विश्व च्यामिप्यनसीपम भिडियो खिचेर युट्युब लिंकमार्फत् सहभागिता जनाउनु पर्ने थियो। सबैको पुम्से हेरेपछि अंकका आधारमा विजेता छुट्याइएको हो’, उनी सुनाउँछन्।

हरेक सफलताले खुसी त दिन्छ नै। कमललाई सागमा स्वर्ण जित्दाको क्षण विशेष लाग्छ। ‘आफ्नै भूमिमा देशको लागि स्वर्ण जित्दा एकदम खुसी लागेको थियो’, सागको स्वर्ण स्मरण गर्दै उनी भन्छन्, ‘अहिले वर्ल्ड च्याम्पियनसीपमा जित्दा पनि त्यस्तै खुसी छु। २७ देशका खेलाडीले भाग लिएको च्याम्पियनसिपमा स्वर्ण जित्नु पनि सानो सफलता होइन।’

एसियाली खेलकुद अघि कोरियामा गरेको प्रशिक्षण, सागका लागि गरेको प्रशिक्षणका कारण यो सफलतामा सहयोग पुगेको उनको बुझाइ छ। ‘त्यस्ता अवसरले गर्न सकिन्छ भन्ने आँट थपिने रहेछ’, उनी भन्छन्। कमल खेलाडीसँगै राष्ट्र सेवक प्रहरी पनि हुन्। कोरोना त्रासबीच उनी यतिबेला ड्युटीमै छन्। भन्छन्, ‘लकडाउनले खेलाडीको फिटनेसमा असर पार्नसक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad