समाज


काठमाडौंमा नयाँ संक्रमितको संख्या ७ पुग्यो, टेकु अस्पतालमा मात्रै छन् अरू १२ शंकास्पद

काठमाडौंमा नयाँ संक्रमितको संख्या ७ पुग्यो, टेकु अस्पतालमा मात्रै छन् अरू १२ शंकास्पद

नेपालखबर
जेठ ३, २०७७ शनिबार ५:३४,

काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुने नयाँ बिरामीकाे संख्या ७ पुगेको छ। जम्मा ४ दिनभित्र यति संख्यामा संक्रमित व्यक्ति फेला परेका हुन्। त्यसमा पनि ४ जना चन्द्रागिरिका मात्रै छन्।

मंगलबारदेखि शुक्रबारसम्ममा उपत्यकाभित्र ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लोपटक शुक्रबार काठमाडौं सतुंगल (चन्द्रागिरि नगरपालिका) का ७ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सोही दिन संक्रमण पुष्टि भएका दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका व्यक्ति पनि हाल काठमाडौंकै एक अस्पतालमा कार्यरत कर्मचारी हुन्।

यीसमेत गर्दा उपत्यकाभित्र नयाँ संक्रमितको संख्या ७ पुगेको हो।

यसअघि बिहीबार काठमाडौं दहचोक (चन्द्रागिरि नगरपालिका) का ७ वर्षकै बालक र चन्द्रागिरिका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै यसअघि मंगलबार चन्द्रागिरिकै ३३ वर्षीया महिला तथा भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष कोरोना संक्रमित ठहर भएका थिए।

यसरी काठमाडौं उपत्यकामा मंगलबारदेखि शुक्रबारसम्म ४ दिनभित्र फेला परेका संक्रमितको संख्या ७ पुगेको हो।

अहिले उनीहरू काठमाडौं उपत्यकाभित्रकै विभिन्न अस्पतालको आइसोलेसनमा छन्। तीमध्ये ५ जना टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा छन्।

तीबाहेक अरू १२ जना सम्भावित संक्रमित आइसोलेसनमा रहेको टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए।

‘उनीहरूको पीसीआर परीक्षण जारी छ,’ निर्देशक राजभण्डारीले शनिबार बिहान नेपालखबरसँग भने, ‘रिपोर्ट आउन बाँकी छ।’

चिकित्सकले लक्षणका आधारमा कोरोना भाइरसको संक्रमण हुन सक्ने आशंका भएका व्यक्तिलाई आइसोलेसनमा राखेर निगरानी गर्छन्। 

उनीहरूको स्वाब परीक्षणको पीसीआर रिपोर्ट आएपछि मात्रै कोरोना हो होइन निश्चित हुने निर्देशक डा. राजभण्डारीले जानकारी दिए।

यसअघि काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुष्टि भएका बिरामी निको भइसकेका छन्। 

देशव्यापी लकडाउन सुरु भएपछि उपत्यकाबाट बाहिरिएकाहरू फेरि धमाधम यतै फर्किन थालेपछि यहाँ फेरि संक्रमण बढ्दै गएको हो।

यसैकारण सरकारले काठमाडौं उपत्यकामा फेरि लकडाउन कडा पारेको छ। चार संक्रमित फेला परेको चन्द्रागिरि नगरपालिकाले त आज शनिबारदेखि जेठ ७ गतेसम्मलाई घरबाट समेत निस्कन नपाउने गरी आफ्नो क्षेत्र सिल नै गरेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad