हेमन्त धामीको घातक बलिङमा बागमती प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लेको छ।
आइतबार भएको खेलमा बागमतीलाई १ सय ६३ रनको फराकिलो अन्तरले हराउँदै सुदुरपश्चिम प्रदेश अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो।
पाँच खेलमा जित र एक खेलमा हार भोगेको सुदुरपश्चिम १० अंकमा तालिकाको शीर्ष स्थानमा पुगेको हो। पराजित बागमती २ खेलमा जित र ४ खेलमा हार भोग्दै ४ अंकमा तालिकाको आठौँ स्थानमा छ।
सुदूरपश्चिमले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको बागमती ११.२ ओभरमा ४६ रन बनाउँदा अलआउट भयो।
बागमतीका शुभ कंसाकारले बनाएको ३२ रन नै सर्वाधिक रह्यो। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
सुदूरपश्चिमका लागि हेमन्त धामीले सात विकेट लिए। उनले ६ ओभरमा २ मेडन राख्दै १४ रन खर्चे। शेर मल्लले ३.२ ओभरमा १ मेडन राख्दै २ रन दिएर ३ विकेट लिए।
त्यसअघि जनकपुरको रामजानकी बहुउदेश्यिय स्टेडियममा बागमतीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिम ४२.१ ओभरमा २ सय ९ रन बनाउँदा अलआउट भयो।
सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक ७५ रनको योगदान दिए। दिपक बोहोराले ४० र अविशेक राइले ३९ रन थपे। अशोक धामी १७ रनमा अविजित रहे।
बागमतीका लागि कप्तान सन्दीप लामिछाने र प्रतिश जिसीले समान ४ विकेट लिए। रिजन ढकाल र सोनु देवकोटाले समान एक विकेट आफ्नो नाममा गरे।
Shares

प्रतिक्रिया