खेल


पीएम कप: पुलिस शीर्ष स्थानमा, कोसी प्रदेश जितविहीन

पीएम कप: पुलिस शीर्ष स्थानमा, कोसी प्रदेश जितविहीन

नेपालखबर
चैत १७, २०८२ मंगलबार १६:१७, काठमाडौँ

कोसी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 

मंगलबार भएको खेलमा पुलिस क्लबले कोसी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। 

पीएम कपमा ३ खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँडेको पुलिस क्लब ७ अंकमा तालिकाको शिर्ष स्थानमा उक्लेको हो। 

पुलिस क्लब, मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबको समान सात अंक भएपनि नेट रनरेटमा अघि रहँदै पुलिस क्लब शीर्ष स्थानमा रहेको हो। 

प्रतियोगितामा कोसी प्रदेशले भने लगातार चौथो हार व्यहोरेको छ। एक खेलमा अंक बाँडेको कोसी प्रदेश १ अंकमा तालिकाको पुछारमा छ।

पिएम कपमा कोसी प्रदेशमात्र जितविहीन एक्लो टोली हो। 

कोसी प्रदेशले दिएको १ सय ६३ रनको लक्ष्य पुलिस क्लबले ३३.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। 

कप्तान आरिफ शेख र रासिद खानले पाचौँ विकेटका लागि १ सय ५४ रनको अविजित साझेदारी गरेपछि पुलिस क्लबले सहजै लक्ष्य भेट्टाएको हो। 

कप्तान रासिद खानले ७९ बलमा ११ चौका र १ छक्का सहयोगमा ८१ रनको अविजित पारी खेले। 

रासिद खानले ९० बलमा ८ चौका र १ छक्का सहयोगमा ७३ रनमा नटआउट रहे। 

ओपनर दिनेश खरेल २ रनमा क्याच आउट भए। शंकर राना, अमित श्रेष्ठ र दिलसाद अली शून्य रनमा नै पेभेलियन फर्के। 

कोसीका लागि विपिन महतोले २ तथा दिपेश कडेलले एक विकेट लिए। 

त्यसअघि विरगञ्जको नारायणी क्रिकेट मैदानमा पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कोसी प्रदेश ४२.५ ओभरमा १ सय ६२ रन बनाउँदा अलआउट भयो। 

कोशीका लागि कप्तान सुजन थपलियाले सर्वाधिक ४८ रन बनाए। ओपनर सुमन श्रेष्ठ ४३ रनमा क्याच आउट भए। अंकित सुवेदीले २६ र सिवास बजगाइले १५ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

पुलिस क्लबका लागि दिनेश खरेल एक्लैले पाँच विकेट लिए। किफायती बलिङ गरेका उनले ७.५ ओभरमा २ मेडन राख्दै २१ रन खर्चे। 
ललित राजवंशी र सागर ढकालले समान २ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad