खेल


कर्णालीलाई हराउँदै मधेस शीर्षस्थानमा

कर्णालीलाई हराउँदै मधेस शीर्षस्थानमा

नेपालखबर
चैत १६, २०८२ सोमबार १४:६, काठमाडौँ

कर्णाली प्रदेशलाई पराजित गर्दै मधेस प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रालाई कायम राखेको छ। 

सोमबार भएको खेलमा कर्णालीलाई ५ विकेटले हराउँदै मधेस प्रदेश अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। चार खेलबाट समान ७ अंक जोडेका मधेस शीर्ष र त्रिभुवन आर्मी दोस्रो स्थानमा छन्। 

समान अंक भए पनि मधेस नेट रनरेटमा अघि रहँदै शीर्ष स्थानमा उक्लेको हो। पीएम कपमा मधेस र आर्मी मात्र अपराजित टोली हुन्। 
समान चार खेलबाट ३ अंक जोडेको कर्णाली छैटौँ स्थानमा छ। कर्णालीले एक खेलमा जित र दुई खेलमा हार भोग्दा एक खेलमा भने अंक बाँडेको छ। 

कर्णालीले दिएको १३० रनको लक्ष्य मधेसले २४.५ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। मधेसका ओपनर मयन यादवले २४ र निरज यादवले ३८ रनको योगदान दिए। अरनिको यादव ३२ र रुपेश सिंह ४ रनमा नटआउट रहे। पवन सर्राफले १७ रन बनाउँदा क्याच आउट हुन पुगे। 

कर्णालीका लागि दीपेन्द्र रावतले ८ ओभरमा एक मेडन राख्दै ४० रन दिएर ३ विकेट लिए। दिवान पुन र प्रकाश जैसीले समान एक विकेट लिए। 

त्यसअघि जनकपुरस्थित रामजानकी बहुउदेश्यीय रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णाली ३१.२ ओभरमा १२९ रन बनाउँदा अलआउट भयो। 

कर्णालीका ओपनर रविन्द्र शाहीले सर्वाधक ४० रन बनाए। अर्जुन घर्तीले २४, विपिन रावल र दिनेश अधिकारीले समान १८ रन थपे। कप्तान दिवान पुनले १२ रन बनाए। 

कर्णालीलाई कम स्कोरका रोक्न मधेसका आशिक बैठाले सर्वाधक ४ विकेट लिए। उनले आफ्नो स्पेलमा एक मेडन राख्दै ३४ रन खर्चे। विशाल पटेल र अरनिको यादवले समान २ विकेट लिए। प्रदिप पासवानले एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad